काठमाडौंस्थित बसन्तपुरको गल्लीमा एउटा सानो पसल छ। जसका मालिक हुन्–५४ वर्षका रामसुन्दर बज्रचार्य।
उनले त्यो गल्ली अर्थात् ‘एटख’ टोलमा पसल खोलेको १३ वर्ष भयो। जहाँ उनी मेसिनको सहायताले पुराना भाडाँलगायत मूर्तिलाई मर्मत गर्ने गर्छन्।
त्यो काम गर्नका लागि उनीसँग मेसिन नै १०–१५ वटा र ग्यास ३–४ वटा छन्।
सुरुमा उनीकहाँ मान्छेले काम नलाग्ने, पुराना, भाँचिएका र कुचिएका सामानहरु ल्याइदिन्छन्। अनि त्यही सामानलाई उनी मर्मत गरेर नयाँ बनाएर पठाइदिन्छन्। जुन कामले उनी त्यहाँ प्रख्यात छन्।
उनलाई बढीजसो मूर्ति बनाउने काम आउने गरेको छ। मूर्तिको काम गर्न दिने मानिसले उनीसँग भन्ने गरेका छन्–‘साउजी, यो मूर्तिको हात भाँचियो जोडेर राम्रोसँग बनाइदिनु है। दाई, यो भगवानको मूर्तिले शंख फुकेको छ, यसलाई आर्शिवाद दिइरहेको बनाइदिनु ल।’
उनीकहाँ भाँचिएका भाँडा, करुवा र घन्टीलगायतका सामानहरु आउने गर्छ। जसलाई उनी ‘चिटिक्क’ बनाइदिन्छन्। उनी भन्छन्, ‘फुटेर ल्याएको करुवालाई दाइजो दिन लायकको बनाएर पठाइदिन्छु।’
रामसुन्दरको दैनिकी नै बनिसकेको छ, बिग्रिएको सामानलाई सपारेर सामान धनीलाई बुझाउने। बिहानको मिरमिरेसँगै उठेर काममा लाग्ने उनी बेलुका आँखा देखुन्जेलसम्म काममा व्यस्त रहन्छन्।
उनलाई काम गरेर धेरै पैसा कमाउने लालच त छैन, तर आफूले सकुन्जेल काम गर्न चाहन्छन्। ‘अहिलेसम्म धेरै पैसा कमाउन सकेको छैन। पैसा थुपारेर राख्ने इच्छा पनि होइन। तर सकेसम्म काम गर्न चाहन्छु’, उनले बिएल नेपाली सेवासँग भने।
आफूले गरिरहेको कामबाट पैसा कमाउन नसकेपनि सन्तुष्ट लागेको उनी बताउँछन्। उनी भन्छन्, ‘यो काम गर्दा मनमा आन्नद हुन्छ।’
दिनभरि काम गरेर आफूलाई खियाउने उनी कहिलेकाहीँ त ज्यालाविहीन हुने गर्छन्।
‘अस्तिको कुरा हो, ४ जना मान्छे आएर यसलाई बनाइदिनु भन्दै २५ किलोको मूति ल्याएर दिए। मैले त्यो मूर्तिलाई अग्लो बनाएर ४ वटा हातखुट्टा थपिदिएँ। मूर्ति तयार भइसकेपछि मान्छे आएर लगे। तर मलाई मेरो ज्याला दिएनन्’, उनले हाँस्दै भने, ‘म केही बोलिनँ, झगडा पनि गरिनँ। त्यस्ता मान्छेलाई के भन्नु र?
आफूले गरेको मेहनतको पैसा नदिए पनि काम गर्न पाउँदा नै उनी दंग छन्। काम गरेर धेरै पैसा कमाउने सोच नभएका बज्रचार्यको एक मात्र इन्छा छ, आफ्नो स्वास्थ्य राम्रा रहुन्जेल परिवारलाई पाल्ने।
‘मलाई पैसाको कुनै लोभ छैन तर स्वास्थ्यले साथ दिइरहोस्’, उनले भने, ‘यसरी काम गरेर परिवारलाई पाल्न सके हुन्छ।’
आफूले गरेको कामप्रति सन्तुष्ट रहेका उनी बाँचुञ्जेल यही काममा रमाउन चाहन्छन्। ‘जवानीदेखि यो काममा छु, छोड्न सक्दिनँ’ उनी भन्छन्।
कसरी सिके काम?
रामसुन्दरका पिता पेशाले ‘सुनार’ थिए। उनी सुनचाँदी बनाउने काम गर्थे। सानाे छँदा रामलाई पनि आफ्ना पिताले झैँ काम गर्ने रहर थियो, तर उनी ठूलो भएसँगै बुबा कमजोर हुँदै गए। जसकारण उनले आफ्नो पुर्ख्यौली काम गर्न पाएनन्।
‘मेरो बुबा बूढो हुनुभयो। हात र जीउ काप्न थाल्यो। काम गर्न सक्नुभएन। त्यसैले मलाई सुनचाँदीको काम सिकाउने मान्छे केही भएनन्’, उनी सुनाउँछन्।
सानैदेखि बाले गरेको काममा लाग्ने सोच बनाएका उनले कलात्मक काम गर्ने निर्णय गरे। त्यसकारण उनी अरुले काम गरिरहेको ठाउँमा जान थाले।उनले त्यहाँ देख्ने गर्थे–‘पित्तल पगालेको र त्यसलाई भाडाँको आकृति दिएको।’ त्यही देखेर उनले ९ वर्षकै उमेरमा जानिसकेका थिए–पित्तल पगाल्न।
जानेका काममा पोख्त रहन उनले तालिम लिने योजना बनाए। उनले कालिकाटीमा रहेको एक पसलमा तालिम लिन थाले। जहाँ उनका गुरु बनेका थिए- हेराकाजी शाक्य र क्यानकाजी शाक्य।
‘म जे छु, मेरा गुरुहरुकै कारणले गर्दा छु। उहाँहरु नभएको भए म आज यहाँ हुन्न थिएँ’, आफ्ना स्वर्गीय गुरु सम्झिँदै उनी भावुक बने।
उनले गुरुबाट सिकेको ज्ञानलाई कारखानामा परिणत गरे। २०४० सालमा उनले पाटनमा एक कारखाना खोले। जहाँ उनले करुवा, कचौरा, हुक्का र पूजा गरिने सामाग्री बनाउन थाले। तर उनको कारखानामा विशेषगरी ‘अन्टी’ (नेवार समुदायले रक्सी हाल्न प्रयोग गर्ने भाँडो’ बन्थ्यो।
आफैँले खोलेका कारखाना राम्रै चल्दै थियो। तर विस्तारै काम गर्ने युवाहरुमा विदेश जाने सोच पलाउन थाल्यो। आफूसँग काम गरिरहेका मान्छे विदेश पलायन हुन थालेपछि उनलाई कामदारको खडेरी लाग्यो।
१० वर्षदेखि कारखाना चलाएका उनले बाध्यताका कारण कारखाना नै बन्द गनुपर्यो। ‘काम गर्ने मान्छे कोही भएन। केटाहरुले मेरो कारखाना डुबाएर विदेश गए,’ उनले कारखाना बन्द गरिएको दिनलाई सम्झिए।
नेपाल घुम्ने मोह
०६२–६३ सालमा रामसुन्दरले ‘एसएलसी’ दिए। जहाँ उनी असफल अर्थात् ‘फेल’ भए। उनले दोस्रो र तेस्रो पटक पनि परीक्षा दिए। तर उनी १० कक्षाबाट ११ मा पुग्न सकेनन्।
तीन पटकसम्म पनि एसएलसी कटाउन नसकेका उनलाई ग्लानी महसुस भयो। जसकारण उनले पढाई त्यागेर काममा लाग्न थाले।
‘स्कुल पढ्दा मेरो मनपर्ने विषय अंग्रेजी थियो। यदि मैले एसएलसी पास गरेको भए टुरिस्ट गाइड हुन्थेँ होला’, उनी भन्छन्, ‘तर भाग्यमा पास हुन लेखेको रहेनछ।’
उनीसँगै पढेका साथीहरु पैसा कमाउन ‘अरब’ गए। तर उनलाई विदेश जानमा कुनै मोह थिएन। उनलाई त आफ्नै देशमा व्यवसाय गर्ने जोश थियो।
‘मलाई विदेश जाने घुम्ने र पैसा कमाउनमा कुनै चासो छैन तर नेपालप्रेमी हुँ, त्यसैले नेपालभर नै घुम्न चाहन्छु’ उनले भने।
उनलाई आफ्नो देश घुम्नका लागि कुनै साथी चाहिँदैन। उनी एक्लै पनि फुर्सदका बेला डुल्ने गर्छन्। उनी दुई दिन गाडीमा चढेर, १३ दिन पैदल हिँडेर एक्लै डोल्पाको फाेक्सुण्डाे ताल पुगेका छन्। ‘नेपाल घुम्ने मोह छ’, उनले भने।
नाकले काम गर्दैन
रामसुन्दर ४ वर्षको हुँदा घरबाहिर पिङ खेल्दै थिए। त्यतिबेला अचानक उनी पिङ चुडिएर भुुइँमा बजारिए। पिङबाट लडेर बेहोश भएका उनलाई अस्पताल लगियो। त्यसबेला उनको ‘अप्रेशन’ भयो।
त्यो घटनाबाट उनी बच्न सफल भए। तर विस्तारै शरीर बढेसँगै उनी नाकको शक्तिबाट वञ्चित भए। उनले सुँघ्ने शक्ति नै गुमाए।
‘म केही चिजको गन्ध थाहा पाउँदिन’, आफूले खाने गरेको स्याउको बास्ना समेत थाहा नभएको बताउँदै उनले भने, ‘खानेकुराको स्वाद मात्र थाहा पाउँछु।’
नाकले काम नगरेकोमा उनलाई कुनै दुख छैन। ‘सामानलाई मर्मत गर्दा ग्यास चलाउनुपर्छ। जसबाट निकै दुषित गन्ध बाहिरिन्छ। तर मैले त्यो गन्धलाई महसुस गर्न सक्दिनँ,’ आफ्नो अवस्थाबारे बताउँदै उनले भने, ‘त्यही भएर पनि होला यस्तो गन्ध आउने ठाउँमा काम गरिरहेको छु।’
उनलाई आफूले चलाउने गरेको ग्यासबाट दुषित गन्ध आउने गरेको उनकी श्रीमती सुष्मा बज्रचार्य बताउँछिन्।
सुष्मा दिनभरि उसैको साथमा सहयोगका लागि हुन्छिन्। उनी श्रीमानले मर्मत गरेका भाडाँहरुलाई माझेर चम्काउने गर्छिन्।
रामसुन्दरलाई आफ्नो कामप्रति केही गुनासो छैन तर उनलाई बजारको भाउमा चित्त बुझाई छैन। ‘हामीले गरेको दुखको मूल्य पाएका छैनौँ’, उनले भने, ‘सरकारले यसलाई मिलाउनुपर्छ।’