उग्र राष्ट्रवादी भावना र राष्ट्रियताको अतिवादी सोच राखेर अड्चन थाप्दा नतिजा राष्ट्रिय हितमा नहुन पनि सक्छ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सर्पले छुचुन्द्रो खाएजस्तो भएको छ, ‘ओकल्न पनि नसक्ने निले आफैं सकिने।’ नेताहरू कार्टुनको ‘बार्बा पापा’ जस्ता छन्, जहिले जे चाह्यो त्यही किसिममा रंग, रूप, आकार, प्रकार फेर्ने। अनि झोले कार्यकर्ताहरू जाँडले मात्तिएका भक्कुका राँगाजस्ता। एमसीसीको विषयमा राष्ट्र नै विभाजित भएको यो विषम परिस्थितिमा देश चाहिँ माखेसाङ्लोमा फसे झै जति चटपटायो उति कस्सिने अवस्थामा पुगेको छ।
६० को सुरुवातमा यूएस एआईडीको सहयोगमा भएको अध्ययनले नेपालको द्रुत विकासका लागि जलविद्युत् आयोजना नै एकमात्र उपाय हो भनेर सिफारिस गर्यो। सोही कारण ठूला जलविद्युत् परियोजनालाई विदेशीको हातमा सुम्पिएर कहिले नबनाउने गरी ओगट्न मात्र लगाइयो। तत्पश्चात् मझौलासम्मका जलविद्युत् योजनाको बग्रेल्ती लाइसेन्स वितरण गरेर ‘झोलामा खोला’ भन्ने संस्कारको सुरुआत गरियो।