सप्तरीकोसी नगरपालिकामा ताला लगाउने क्रममा झडप, दुई जना घाइते

सप्तकोसी नगरपालिकामा आइतबार झडप हुँदा एक वडा अध्यक्षसहित दुई जना घाइते भएका छन्। चार  दलका कार्यकर्ताले  लगाएको ताला फुटाएपछि पुन: आइतबार ताला लगाउने क्रममा झडप भएको हो।

६ बुँदे माग राख्दै बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए। जनप्रतिनिधिले गत शुक्रबार ताला खोलेर काम सुरु गरेपछि झडप भएको स्थानीयले बताए।

झडपका क्रममा सप्तकोशी नगरपालिका-४ का वडा अध्यक्ष बद्रिनारायण चौधरी र वडा नम्बर ९ का किसुन यादव घाइते भएका छन्। घाइते दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

अप्रिय घटना हुन नदिन नगरपालिका कार्यालय वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका सबै ११ वटै वडाका योजना कार्यान्वयन गर्नुपर्ने, बेरुजुको विवरण र आन्तरिक लेखा परीक्षणको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै चार दलले २४ माघमा नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापन पत्रको बेवास्ता गरेको भन्दै उनीहरूले तालाबन्दी गरेको हो।

प्रकाशित मिति: : 2022-02-20 21:00:00

प्रतिकृया दिनुहोस्