खोटाङमा लगातार तेस्रो वर्ष सुन्तला उत्पादनमा गिरावट

File photo
File photo

खोटाङमा लगातार तेस्रो वर्ष सुन्तला उत्पादन घटेको छ। आर्थिक वर्ष २०७७-०७८ मा ७४१ हेक्टरमा ३ हजार ३३० मेट्रिक टन सुन्तला अनुत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७८-०७९ मा ७४२ हेक्टरमा ३ हजार ३३१ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

तथ्याङ्कमा चालु आर्थिक वर्ष एक टनले सुन्तला वृद्धि भएको देखिए पनि यो वर्ष उत्पादन क्षेत्रफल बढाइएकाले तुलनात्मकरुपमा सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए।१० स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष २०७६र७७ मा ६ हजार ५८६ मेट्रिक टन र आर्थिक वर्ष २०७५र७६ मा ७ हजार ५४० टन सुन्तला उत्पादन भएको थियो । सुन्तला उत्पादनका लागि योग्य जमिन ८१० हेक्टर भए पनि सोभन्दा कम क्षेत्रफलमा खेती लगाइएको छ। रोग तथा किराको प्रकोपका कारण सुन्तला उत्पादन घटेको कृषि प्रसार अधिकृत पण्डितले बताए। 

ऐसेलुखर्क र रावाबेँसी गाउँपालिकामा लगाइएको सुन्तलामा सिट्रस ग्रिनिङ रोग देखिएको छ। रोग तथा किराको आक्रमणका कारण सुन्तला उत्पादनमा आएको कमीका कारण दिक्तेल, खोटाङबजार, हलेसी, चिसापानी लगायतका हाटबजारमा अपेक्षाभन्दा कम मात्रामा सुन्तला बिक्री गर्न ल्याइएका छन् ।जिल्लाको याम्खा, लामिडाँडा, टेम्मा, चिसापानी, डम्बर्खुशिवालय, दिप्लुङ, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानी लगायतका २६ भन्दा बढी वडामा व्यवसायीकरण सुन्तला उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला ट्याक्टरमार्फत सबैभन्दा बढी उदयपुरको बेल्टार हुँदै इटहरी, धरान, विराटनगरलगायतका सहरमा पुग्ने गरेको छ।  

सुन्तलाबाट सहजताकासाथ आउने आम्दानीका कारण पछिल्लो समय जिल्लामा सुन्तला खेती लगाउने किसान बढ्दो छ। कृषि ज्ञान केन्द्र वा कृषि फर्मबाट सुन्तलाको बेर्ना लगेर मकै, कोदो फल्ने बारीमा रोप्ने किसान बढेका छन्। सुन्तला खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना भए पनि सरकारी निकायबाट उचित सहयोग पाउन नसकेको कृषकहरूको गुनासो छ। 


 

प्रकाशित मिति: : 2022-02-18 17:43:00

प्रतिकृया दिनुहोस्