रुसले युक्रेनलाई किन धम्काइरहेको छ?

युक्रेनसँग जोडिएका सीमा नाकामा आफ्ना करिब एक लाख ३० हजार फौज तैनाथ भइरहँदा रुसले पश्चिमा देशबाट सुरक्षाको सुनिश्चितता खोजिरहेको छ।

रुसले जुनसुकै बेला पनि हमला गर्नका लागि आफ्ना फौजहरू तयारी अवस्थामा राखेको अमेरिकाले बताइरहँदा रुसले त्यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ। अब त्यहाँ हुने घटनाक्रमले युरोपको समग्र सुरक्षा संरचनालाई जोखिममा पार्न सक्छ। 

युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको कुरामा रुस अडिग रहिआएको छ। रुसी गुप्तचर निकायका प्रमुख सर्गेई नरिस्किनले अमेरिकाले फैलाइरहेको 'खतरनाक झूट'को निन्दा गरेकाे बीबीसीले जनाएकाे छ।

तर रुसले सन् २०१४ मा युक्रेनमाथि अतिक्रमण गरेको र उसको भूमि आफूमा गाभेको पृष्ठभूमिमा त्यो धम्कीलाई गम्भीर रूपमा लिइँदै छ। उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिवले द्वन्द्वको जोखिम वास्तविक रहेको चेतावनी दिएका छन्।

रुसले जतिबेला पनि अतिक्रमण गर्नसक्ने अमेरिकाले बताउँदै आएको छ। यद्यपि त्यसबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले के निर्णय गरेका छन् भन्नेबारे केही थाहा छैन।

अमेरिकी राष्ट्रपति जो बाइडनका उच्च सैन्य अधिकारी जेनरल मार्क मिलीले रुसी फौजको हमलाले ठूलो स्तरमा हताहती निम्त्याउन सक्ने र सहरी क्षेत्रमा डरलाग्दो लडाइँ हुन सक्ने चेतावनी दिएका छन्। 

युक्रेनी राष्ट्रपतिले 'त्रास' नफैलाउन पश्चिमा देशहरूलाई अपिल गरेका छन्। रुसले युक्रेनी सीमानजिक अनुमानित एक लाख फौज तैनाथ गरेको छ भने सीमादेखि १,०८४ किलोमिटर टाढा बेलारुसमा ३० हजार रुसी सैनिक अभ्यासरत छन्।

रुसले लामो समयदेखि नेटो र युरोपेली सङ्घप्रति युक्रेनी कदमको विरोध गर्दै आएको छ। उसको अहिलेको मुख्य माग भनेको युक्रेन नेटोमा आबद्ध नहुने कुराको सुनिश्चितता पश्चिमा देशहरूले गर्नुपर्ने रहेको छ।

हुन त युक्रेनी सीमा ईयू र रुस दुवैसँग जोडिएको छ। तर पूर्वसोभियत गणतन्त्रसँग उसको गहिरो सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको छ।

प्रकाशित मिति: : 2022-02-16 05:37:00

प्रतिकृया दिनुहोस्