राेल्पा जिल्लाको १० वटा स्थानीय तह मध्ये एक मात्र नगरपालिका, रोल्पा नगरपालिकाले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लगेको छ।
नगरपालिकाले ऐन–कानून तर्जुमा, समुदाय परिचालन, राजश्व संकलनमा अनलाइन प्रणाली, न्यायीक कार्य सम्पादन, पाँचवर्षे योजना निर्माणजस्ता काम गर्दै सेवा प्रवाहलाई थप चुस्त बनाएको हो। नगरपालिकाको यहि कामका आधारमा हालै मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) रिपोर्टमा पनि राम्रो अङ्क प्राप्त गर्न सफल भएको छ।
गतवर्ष जम्मा ५३.७५ अङ्क प्राप्त गरेको नगरपालिका यसवर्ष ६८.७५ अङ्क प्राप्त गरेको हो। यस्तै, लैंगिक समानता र सामाजिक समावेशिता (जेसी)मा पनि नगरपालिकाले राम्रो उपलब्धी हाशिल गरेको छ।
अघिल्लोवर्ष जेसीमा जम्मा ६२ अङ्क हाशिल गरेको नगरपालिकाले यसवर्ष ७१.५ अङ्क हाशिल गरेको छ। नगरपालिकाले दुग्ध सहकारी, युवा क्लव, महिला समूह परिचालन, नगर पुस्तकालय ऐन, नगर प्रहरी ऐन, युवा नीति जस्ता दर्जनबढी ऐन कानून यसै वर्ष बनाएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले बताए। यस्तै सेफ हाउस निर्माण, न्याय सम्पादनका लागि २५ जना मेल–मिलापकर्ता निर्माण, अनलाइन प्रणालीबाट राजश्व संकलन तथा २५ प्रतिशत बृद्धि पनि नगरपालिकाले यस वर्ष गरेका उपलब्धी हुन्।
‘हालै मात्र हामीले नगर प्रहरी भर्ना पनि गरेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने, ‘यो पनि ४ वर्ष पछि हामीले बल्ल गर्न सफल भएका हौं।’ यस्तै ,नगरको समग्र विकासका लागि ५ वर्षे विकास योजना पनि निर्माण भइरहेको नगरपालिकाले जनाएको छ।
इ–पेमेन्ट सेवा सुरू
रोल्पा नगरपालिकाले बिहिवार मात्रै विद्युतिय भुक्तानी (इपेमेन्ट) सेवा सुरु गरेको छ। इपेमेन्ट सेवाको शुभारम्भ गर्दै नगर प्रमुख पूर्ण केसीले डिजिटल नेपाल निर्माणमा नगरले सुरु गरेको इ–पेमेन्ट सेवा पनि एउटा आधार भएको बताए।
‘सेवा प्रवाहलाई जति सक्दो चुस्त, दुरुस्त बनाउने हाम्रो योजना छ,’ केसीले भने, ‘यसले सहज सेवा प्रवाह र सुशासन प्रवद्र्धन गर्नेमा हामी विश्वस्त छौं।’
इ–पेमेन्ट सेवा सुरु भएसँगै नगरवासीले अब सम्पति कर र व्यावसाय कर घरैबाट तिर्न सक्ने भएका छन्।
सेवाग्राहीले अब घरमै बसेर रोल्पा नगरपालिकाको वेभसाइट वा मोबाइल एपबाट इ–सर्भिस सेवामा यो सुविधा लिन सक्ने नगरपालिकाका सूचना प्रविधि अधिकृत निशान आचार्यले बताए। ‘हामीले इ–सेवासँगको सहकार्यमा अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था गरेका छौं,’ आचार्यले भने, ‘आवश्यकताका आधारमा थप मोबाइल वाटेलसँग पनि सहकार्य गर्न सकिने छ।’
इपेमेन्ट सेवाका लागि हाल नगरपालिकामा दर्ता भएका साढे १० हजार सेवाग्राहीको सम्पूण विवरण अपडेट भएको छ। नयाँका लागि भने आफ्नो सम्पूर्ण विवरण भरेर मात्र सेवा लिन सक्ने बताइएको छ।