दुई महिनाअघि पुनः खबर आउँछ,‘श्रेष्ठप्रिया पत्थर अभिनन्दन ग्रन्थको लागि रचना पठाइदिन भनेर।’ म मौन बनिदिन्छु। न उनीसँगको गहिरो चिनाजानी र भेटभाटका त्यस्ता अविष्मरणीय पलहरू नै छन्, मसँग। न त उनका कृतिहरूको नै अध्ययन गर्न पाएको छु। खै के नै लेख्नु। सोचमग्न भइरहेँ तीन चार महिनासम्म। नलेखूँ ठूलो भयो ठान्लान् भन्ने डर। लेखूँ लेख्न गाह्रो। यही मानसिक द्वन्द्वको भूमरीमा रुमल्लिरहेँ केही समयसम्म।
२०५२/०५३ सालतिरको कुरा हो धनगढीमा मैले जागिरे जिन्दगीका दिनहरू व्यतित गरिरहँदा देख्थेँ कतिपय कलेजस्तरका युवा/युवतीका हातमा पतिङ्गर नामक उपन्यास। जहाँ लेखकको नाम थियो, श्रेष्ठप्रिया पत्थर। त्यतिबेलै कैलाली फूलबारीको डिपो बजारमा कुनै मित्रको हातबाट लिएर पढेको थिएँ, उक्त कृति। धुमिल याद आउँछ अहिले स्मृतिमा। त्यसपछि पत्रपत्रिकामा छापिएका दुई/चार वटा गीत, गजल बाहेक पढ्न पाइनँ उनका कुनै कृतिहरू। उनले थुप्रै पुस्तक प्रकाशित गरिसकेकी छन्, भन्ने सुन्छु। तर, कतिपय कृति पढ्न खोज्दा पनि भेटिदैनन्, बजारमा। विगत सम्झिन्छु तीन वर्षअघि मात्रै हसनपुरस्थित उनको घरमा पुगेर सानो अन्तर्वार्ता लिएको याद आउँछ।
घरको बाहिरपट्टि लेखिएको छ, साहित्य संसार। हो, त्यही नाम अर्थात् तिनै श्रेष्ठप्रिया पत्थरको अक्षरको खेती गर्ने सानो संसार बनेको छ, उक्त घर। जागिरबाट अवकाश पाइसकेपछि पछिल्ला दुई/तीन वर्ष यता पूर्णरुपेण अक्षरकै खेतीमा तल्लिन देखिन्छिन्, उनी। २७ वर्ष जागिर खाएर कमाएको पैसाले बनाइएको त्यही एकतले घरभित्रको बसाइँ। समाजमा देखिएका अन्याय अत्यचारका पाटाहरू टपक्क टिपेर शाब्दिक माला उनिरहेको मन। लोभ लाग्दो देखिन्छ उनको जिन्दगी।
दुई पैसा कमाउनु, दुई छाक खानु, एकसरो लाउनु मात्रै जिन्दगीको परिभाषा हुनै सक्दैन। गुजरा त चरामुसाले पनि गरिरहेकै हुन्छन्। उसो त जिन्दगी स्वयम् अपरिभाषित छ। पूर्ण परिभाषा छैन यसको। जे जति परिभाषा छन्, सबै आंशिक हुन्। कसैकसैका लागि त्यो परिभाषा पनि उचित नै लाग्ला। हुन त बिहे गर्नै पर्छ, छोरीलाई के सन्तान भन्नु छोरा पाउनै पर्छ। छोरा पाइसकेपछि पनि एउटा मात्र छोरालाई के गन्नु जस्ता तथाकथित भनाइमा रुमल्लिरहेको हाम्रो जस्तो संकीर्ण समाजका लागि चुनौती हुन्, श्रेष्ठप्रियाहरू। उनी धेरै किसिमले चुनौतिरुपी औंला उठाउँछिन्।
पुरुषप्रधान समाजमा अन्याय अत्याचार र विभेदका विरुद्ध उठिरहेका औंलाहरूमध्ये एउटा औंला हो, तिनै श्रेष्ठप्रिया पत्थरको। त्यो औंलाले पछिल्लो समयमा गरेको हैन खवरदारी। जमानामै खवरदारीका लागि उठेको औंला हो, त्यो। जतिखेर जमिन्दारको रवैया थियो। पुलिस प्रशासनको रवैया थियो। अझ भनौ निरङ्कुस पञ्चायती व्यवस्थाले हैकम जमाएको थियो। कुनै स्रष्टा कटिवद्ध ढंगले स्वाभिमान र नैतिकताको श्रीपेच पहिरेर अन्याय अत्याचारका विरुद्धमा लाग्छन्।
न्याय र चेतनाको गोरेटो देखाउन शब्दको खेती गरिरहन्छन् भने ती स्रष्टा मात्र ठानिदैनन् आफैमा एउटा दरिलो काव्य पनि ठानिन्छन्। यस अर्थमा श्रेष्ठप्रिया पत्थरको सिङ्गो जिन्दगी भन्नु नै एउटा सुन्दर काव्य हो। त्यही काव्यरुपी जिन्दगीलाई अझ सुन्दर तुल्याउन जीवनका पतिपय गौंडाहरूमा निकै खतरा, जोखिम मोलेर यात्रारत छन्, उनी। त्यो समय जतिखेर पढालेखा नारीहरू औंलामा गन्न सकिने खालका थिए। जागिरे जीवन व्यतित गरिरहेका त झनै न्यून थिए।
जिन्दगीको अहिलेसम्मको गोरेटामा स्वाभिमानको अँगेनो तताइरहेकी छन्, उनी। सद्भाव र सहयोगको कलश सजाइरहेकी छन्। मान्छे भएर बाँच्न र बाँच्ने प्रेरणा दिने नाम हो, श्रेष्ठप्रिया पत्थर। धेरै हुन्छन् आफ्नो लागि बाँच्ने आफ्नो निम्ति काम गर्नेहरू तर थोरै मान्छेहरू हुन्छन् समाजका लागि बाँच्नेहरू। ती थोरै मध्यकी एक हुन्, उनी। जो एक्लै एक्लै हिँडिरहेकी छन्।
हाम्रो जस्तो समाजको परिभाषामा यज्ञ यज्ञादी लगाउनेदेखि वर/पीपलका चौतारी बनाउने र सम्पत्ति दान गर्नेहरू जस्ता मात्रै पर्दछन् समाजका लागि बाँच्नेमा। त्यो परिभाषा रटेर बसेकाहरूलाई कदापि मनपर्ने छैन मेरो भनाइ। जसले जेसुकै ठाने पनि समाजका लागि क्षणिक नभएर युगौंयुगसम्म बाँच्नेमा तिनै पर्दछन्, जसले समयसमयमा समाजको आवाज बोकेका छन्। समानताका शुक्ति तय गरेका छन्। अन्याय, अत्याचार र शोषणकारी सम्राटहरूका विरुद्ध बोल्न सिकाएका छन्। हाम्रा कला, संस्कृति र सभ्यताका आँचल सजाएर जन्मभूमिका लागि देशका लागि बाँच्ने प्रण गर्न सिकाएका छन्। त्यसैले पत्थरजस्ता स्वाभिमानी, निडर र जुझारु श्रष्टाहरू समाजका लागि बाँच्नेको सूचीमा पनि अग्रस्थानमा नै देखा पर्दछन्। चाकडी, चाप्लुसी र कतै भनसुनका शब्दहरू भेटिँदैनन् उनको जिन्दगीरुपी शब्दकोशमा।
सुदूरपश्चिम डोटीको सदरमुकाम सिलगढी बजारमा २०२१ सालमा जन्मेकी ती साहित्यकारको न्वारनको नाम हो, हरिप्रिया श्रेष्ठ। नेपाली साहित्यको क्षेत्रमा उनले आफ्नो नामको न्वारन आफैँ गरिन् र लेखिन्, श्रेष्ठप्रिया पत्थर। यही नाम उनको चिनारी बन्न पुग्यो। जतिखेर सुदूरपश्चिममा लेख्ने मान्छेहरू औंलामा गनिने खालका थिए। त्यो समय अर्थात् २०३७/०३८ सालतिरको कुरो हो। त्यो बेला एउटा भरखर एस.एल.सी पास गरेकी केटीको नाम पढिन्थ्यो, पत्रपत्रिकामा। त्यो नाम चानचुने नाम नभएर एउटा बिद्रोही नाम बन्यो। आत्मनिर्णयको गोरेटो खनिरहेको स्वाभिमानी नाम बन्यो।
कतिपय महिलाहरूका लागि प्रेरणा अनि आदर्श बन्यो, त्यही नाम। त्यति बेलाको प्रशासनको नजरमा आँखाको कसिङ्गर बनिरह्यो त्यही नाम। उसो त उनले आफ्नो नामको न्वारन मात्र गरिनन् जिन्दगी कुन ढंगले जिउने, समाजमा आफ्नो भूमिका के हुने जस्ता महत्वपूर्ण निर्णय सजिलै लिइन र समाजसेवाको गोरेटोमा समेत आफूलाई उभ्याइन्।
जीवनको गोरेटोमा कोही रुन जान्दैन भन्छ भने त्यो या त ढोगी हुनुपर्छ हैन भने ढुङ्गाको झैँ मन भएको साँच्चिकैको पत्थर। अन्याय अत्याचारका विरुद्धको लडाइँमा आफूलाई कठोर तुल्याएर पत्थरझैं बनिदिए पनि बेलाबखत अरुजस्तै दुख्छ उनको पनि जिन्दगी। उनको पनि मन। संवेदनशील हृदय छ, उनीसँग पनि। त्यसैले त बताउँछिन् उनी, ‘जिन्दगीमा रुनु पनि पर्छ। जिन्दगी भन्नु नै घाम छाँया हो। जीवनमा सुख मात्र हुँदैन दुःख पनि हुन्छ। दुःखको क्षणमा मनबाटै पीडा भक्कानिएर आउँछ भने आँसुका माध्यमबाट खसाइदिनुपर्छ। मैले पनि बगाउँछु आँसु तर एक्लै चुपचाप। कसैलाई थाहा हुँदैन्।’ उसै पनि एक्लै एक्लै यात्रारत छन्, उनका सोचका पाइलाहरू। आफूलाई कमजोर देखाउन चाहँदिनन् उनी सबैको सामु आँसु देखाएर। किनकी उनले पुच्छनु छ अफ्ना अक्षरले अझैं कयौंका आँसु।
गाउँघरमा केही जमिनदारहरू थारुहरूलाई दुख दिइरहेका हुन्थे। पुलिसहरूको रजाइँ छुट्टै हुन्थ्यो। पञ्चायती व्यवस्थाको रवैया चलिरहेको बेला शब्द तौलेर, विवेक पुर्याएर बोल्नुपर्ने हुन्थ्यो। ती कुराले दुखाउँथ्यो उनको मनको भित्री पाटो। मन लाग्थ्यो बिद्रोह गर्न। र त तिनै विषयमा अनवरत दौडाइरहिन्, कलम। प्रकाशित गरिरहिन विसङ्गति र विक्रितिका विरुद्घ लेख रचनाहरू।
स्थानीय र केन्द्रीयस्तरका पत्रपत्रिकामा समेत छापिन थाले उनका लेख रचनाहरू। लेख रचना मात्र छाप्न पठाइनन्, उनले। सँगसँगै सुरु गरिन् खप्तड सन्देशमा रिपोर्टिङ गर्न पनि। सुन्नमा आएअनुसार कैलाली जिल्लामा पहिलो महिला पत्रकार पनि उनी नै हुन। ती सबै कुराको जानकारी थियो प्रशासनलाई। र त उनी परिन प्रशासनको कालो सूचीमा। जागिर स्थायी हुने क्रममा पुलिस रिपोर्ट चाहिन्थ्यो। स्थायी हुने क्रममा अवरोध बन्ने खालको रिपोर्ट तयार गरिदियो प्रहरी प्रशासनले। पछि बैकका हाकिम स्वयमले प्रहरी प्रशासनलाई कन्भेन्स गरेर दोस्रो रिपोर्ट बनाउन लगाए।
यस्ता समस्याहरू कति आए जिन्दगीमा पर्वाह गरिनन्। आफ्ना सिर्जना मार्फत् उठाइरहिन औंला– अन्याय अत्याचार अनि एकतन्त्रिय व्यवस्थाका बिरुद्धमा। निडर हक्की स्वभावकी पत्थरका आँखामा आगो त्यतिबेला बल्छ जब देख्छिन्, पढ्छिन समाजमा गरीब असहायहरूप्रति कसैले गरेको अन्याय अत्याचारका घटना। कथा र कविता लेखनबाट साहित्यिक गोरेटोमा पाइला टेकेकी उनलाई तिनै घटनाले लम्किन प्रेरित गर्यो, आख्यान र गजलको गोरेटोमा।
हरेक मान्छे जन्मदेखि जीवनको अन्तिम पलसम्म मृत्युसँगै हिँडिरहेको हुन्छ। तर, कसले कति जोखिम मोल्न सक्यो, खतरापूर्ण परिस्थितिको सामना गर्न सक्यो भन्ने मात्र हो। जोखिम उठाउन सक्ने, खतरा मोल्न सक्ने जीवन नै असली जीवन हो। ऊर्जाशील जीवन हो। यस अर्थमा पनि श्रेष्ठप्रिया पत्थरको जीवन सुन्दर, मर्यादित र ईष्र्या गर्न लायकको छ। जीवनको यो क्षणमा आइपुग्दासम्म तमाम चुनौतीहरूसँग सामना गरिरहेकी छिन्।
अन्यायका विरुद्ध कलम चलाइरहेकै छिन्। जोखिम मोलिरहेकै छिन्। उनका लागि कतै खुसी फल्ने खुसी मिल्ने ठाउँ छ भने त्यो लेखन कार्य नै हो। लेखनका माध्यमले समाजमा महिला, गरीब र पिछडीएका वर्गको आवाज बुलन्ध पार्नु हो। अन्यायमा परेकालाई न्याय दिलाउन सक्नु हो। भगवान उनलाई लामो आयु दिउन्।
अन्याय अत्याचारमा परेका, गरीब गुरुवा र भुँइमान्छेको हकहित र न्यायका लागि कलम चलाउन अझै शक्ति प्रदान गरुन्। यस्ता स्रष्टाका बारेमा लेख रचना तयार पार्न लगाई पुस्तक प्रकाशनको जिम्मा लिने नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी परिवारको यो कार्य प्रसंसायोग्य छ। स्रष्टा, प्रकाशक र सम्पादक सबैको उज्वल भविष्यको कामना।