गायिका लता मङ्गेशकरकाे ९२ वर्षकाे उमेरमा निधन

Photo: PTI
Photo: PTI

विश्वविख्यात गायिका लता मङ्गेशकरको ९२ वर्षकाे उमेरमा आइतबार निधन भएको छ।

स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई शनिबार फेरि भेन्टिलेटरमा राखिएको थियाे। गायिका मंगेशकरलाई ८ जनवरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

निमोनियासँगै कोरोना भाइरसको संक्रमण देखिएपछि पछिल्लाे साता स्वास्थ्य अवस्था नाजुक बन्दै गएको थियाे। उनी झण्डै एक सातादेखि भेन्टिलेटरमै थिइन्।

शिवसेनाका सांसद संजय रावतले सामाजिक सञ्जालमार्फत् उनको निधन भएको पुष्टि गरेका छन्। बलिउड कलाकारहरूले सामाजिक सञ्जालमार्फत् मंगेशकरको निधनमा शोक व्यक्त गरेका छन्।

गायिका मङ्गेशकरले हजार बढी बलिउड चलचित्रमा ३६ भाषाहरूमा स्वर दिएकी छिन्। ‘एक प्यारका नग्मा हे,’ ‘राम तेरी गंगा मैली’, ‘एक राधा एक मीरा’ मङ्गेशकरका कालजयी गीत हुन्।

लता मंगेशकरले हातको औलामा गन्न सकिने संख्यामा नेपाली भाषामा पनि गीत गाएकी छिन् । उनले पछिल्लोपटक  रामकृष्ण ढकालसँग बाँचुञ्ज्लीलाई भन्ने गीतमा स्वर दिएकी थिइन् । उनले पहिलोपटक गाएको नेपाली गीत राजा महेन्द्रले लेखेको ‘आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ...’ हो ।  

उनी आशा भोसले, ह्रिदयनाथ मंगेशकर, उशा मंगेशकर र मीना मंगेशकरको दिदी हुन्

प्रकाशित मिति: : 2022-02-06 09:40:00

प्रतिकृया दिनुहोस्