निधारमा रातो टीका, शिरमा रातै टोपी, रातै हुडी, घाँटीमा प्याजी रङ्गको सल बेरेर बसन्तपुरमा मकै र धानको दाना (चारो) बोकेर हिँडिरहेको व्यक्ति देख्नु भएको छ। ती हुन्–ओम दाइ। जसले लामाे समयदेखि चाराे बेचेर आफ्नाे जीवन चलाइरहेका छन्।
ओम दाइ, लामाे समय भयाे जन्मभूमि दार्जिलिङबाट काठमाडाैँ आएकाे। आफन्तहरू झापामा रहेको बताउने उनका केही आफन्त काठमाडौँमा छन्, रे। तर, उनलाई आफन्तकोमा जान मन लाग्दैन। ‘आफैले दुई छाक खान सकिन्छ किन अरूकाे बोझ बन्नु,’ उनकाे प्रतिक्रिया छ।
पहिले कालिमाटीमा बस्दै आएका ओम दाइकाे बास अहिले बसन्तपुर मन्दिर परिसरमा छ। गर्मी मौसममा पानी बेचेर जीवन चलाउने उनी चिसाे मैसममा पानीकाे व्यापार राम्राे नहुने भन्दै चाराेकाे व्यापार गर्छन्।
पसलबाट प्रतिकेजी ५० रुपैयाँको चारो लिएर प्लास्टिकको झोलामा बोकेर मन्दिर वरिपरि टहलिरहन्छन। उनको वरिपरि परेवा उड्छन, मान्छेहरू आउँछन् कतिले चारो किनेर परेवालाई दिन्छन।
त्यसरी चारो बेच्ने ओम दाइ जस्तै अरु पनि थुप्रै छन्। मन्दिर वरिपरि बसेर चारो बेचिरहेको बेला महानगर प्रहरी आउँछन्, त्यसबेला भने उनीहरु आफूसँग भएको दाना (चारो) बोकेर कुदिहाल्छ्न्। मन्दिरको सरसफाई महानगरले हेर्ने गरेको छ। यसरी परेवालाई चारो हाल्दा मन्दिरमा फोहोर हुने भएकोले महानगर प्रहरिले आफूहरुलाई धपाउने गरेको उनी बताउँछन्।
कहिले काहीँ एक केजी चाराे पनि बेच्न उनलाई मुश्किल पर्छ। चाराे बिक्दैन, उनकाे छाक टर्दैन। भाेकै बस्नुपर्छ।
‘सधै व्यापार हुन्छ भन्ने हुँदैन, कुनै दिन त एक केजी दाना पनि बेच्न सकिँदैन। के गर्नु हजुर व्यापार नभएपछि त खान पनि पाइदैन,’ उनले आफ्नाे पीडा सुनाए।
त्यसमाथि चाराे बेच्दा कति मानिसहरू रिसाउने, गाली गर्ने गर्छन्। त्यतिबेला उनकाे मन अमिलाे हुन्छ। ‘के गर्नु भाेकाे पेट भर्न अपमान पनि सहनै पर्ने रहिछ’, उनी गम्भीर बने।
यसरी चारो बेच्नु बाध्यता हो, उनकाे। स्वास्थ्य ठिक हुँदा अरु काम गरेर जीवन चलाउँदै आएका थिए। अहिले आफन्त गुमाउनु पर्दा उनको दिमागमा गम्भीर असर पर्याे। त्यसपछि उनले खल्तीमा औसधि छुटाउन नमिल्ने भयाे।
यसरी एक्लाे जीवन बिताइरहेका ओम दाइको काेही प्रति गुनासाे छैन। भोलि के हुने थाहा छैन तर पनि उनी बाचिरहेकै छन्। उनलाई कसैको बोझ बन्नु छैन। जाडोमा दाना बेच्ने ओम दाइ अब गर्मी सरू भएपछि पानी बेच्ने छन्। र, त्यसैगरी सुख दु:ख सहेर जीवन कटाइरहने छन्।