लमजुङका सात स्थानीय तहले आर्थिक वर्ष ०७७/०७८ को जलविद्युत रोयल्टीबापतको रकम पाएका छन्।
सात पालिकाले आर्थिक वर्ष ०७७/०७८ को दुई करोड ९० लाख ९६ हजार रुपैयाँ राेयल्टी पाएका हुन्। महालेखा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्षमा सवैभन्दा धेरै विद्युत रोयल्टी मर्स्याङ्दी गाउँपालिकाले पाएको जनाएकाे छ।
मर्स्याङ्दी गाउँपालिकाले एक करोड ४९ लाख २१ हजार १ सय १६ रुपैया ८ पैसा विद्युत रोयल्टी पाएको छ। जिल्लाको सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले ७१ लाख ९३ हजार ८ सय ८१ रुपैयाँ ३८ पैसा, सुन्दरवजार नगरपालिकाले ३९ लाख २१ हजार एकसय ७४ रुपैयाँ ३३ पैसा, दोर्दी गाउँपालिकाले १४ लाख २५ हजार एकसय ६३ रुपैयाँ ९६ पैसा र क्व्होलासोँथार गाउँपालिकाले ८ लाख ९ हजार ४ सय २२ रुपैयाँ ११ पैसा पाएको छ।
राइनास नगरपालिकाले पाँच लाख ६३ हजार ८ सय ७२ रुपैया २७ पैसा पाएको छ भने विद्युत रोयल्टी प्राप्त गर्ने पालिकामध्ये मध्यनेपाल नगरपालिकाले सबैभन्दा कम दुई लाख ६१ हजार ५ सय ४३ रुपैया ११ पैसा पाएको छ। देशभरका एक सय २० वटा पालिकाले जलविद्युत रोयल्टीबापत ७० करोड ६७ लाख १७ हजार पाएका छन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार गण्डकी प्रदेशले २२ करोड ८५ लाख १९ हजार रुपैयाँ पाएको छ।