माघको महिना। आकाशमा बादल मडारिरहेको थियाे। मुटु नै चिसो बनाउने बतास चल्छ बेलाबेलामा। सोनाम ल्होसारको चहलपहल भइरहेकाे हुन्छ, बौद्ध गेटभित्र। तामाङहरुको विशेष चाड हो, सोनाम ल्होसार। स्तुपामा दर्शन गर्न आएका मान्छेहरूको भीड देखिन्छ।
त्यही भीडमा आँखा टक्क अड्याउने दृश्य देखिन्छ। आँखामा रङ्गिन चस्मा, अलिअलि रङ्गाएको कपाल, तामाङ कल्चरको ड्रेसमा अमित तामाङ। उनी आउनुस्, आउनुस् धुप बाल्नुस् भन्दै बोलाउँदैछन् भीडभित्रकाे मान्छलाई।
२९ वर्षीय अमित बौद्ध क्षेत्रमै छन्। उनी बौद्ध स्तुपा (खस्ती चैत्य) मा साङ्ग धुप बालेर छन्। उनको पुर्खाहरुले गर्दै आएको यो काम अहिले उनैले सम्हालेका छन्।
उनले साङ्ग धुप बाल्न थालेको १२ वर्ष भइसक्यो। उनी बिहानै ४ बजे घरबाट निस्कन्छन् र १०/११ बजेसम्म साङ्ग धुप बाल्छन्। त्यसपछि उनी फेरि दिउँसो २ बजेपछि आएर साँझ ७ बजेपछि मात्रै घर फर्कन्छन्।
साङ्ग धुप बालेमा मृत आत्माहरुको लागि पनि खुसी मिल्ने बौद्ध धर्मावलम्बीहरूकाे विश्वास रहेको छ। त्यही विश्वासका आधारमा स्तुपा आउने मान्छेहरूले यो साङ्ग धुप बाल्ने गर्छन्। एक ग्लास साङ्ग बाल्नलाई जम्मा ५० रुपैयाँ लाग्छ।
यस्तै काम गरेर परिवार र आफ्नो जिविकोपार्जन गर्दै आएका तामाङ आफ्नो काममा खुसी नै छन्। साङ्ग धुपको काम गर्दै आएका उनी यो पेसा पैसाको लागि मात्रै नभएर धार्मिक आस्थाको लागि पनि भएको बताउँछन्।
अन्य धुपहरुमा केमिकल मिसाएको हुन्छ, तर साङ्ग धुप भने अर्गानिक लेकाली सल्ला/धुपीबाट बन्ने र यसले मान्छेकाे स्वास्थ्यमा हानी नपुर्याउने उनी बताउँछन्।