नेपाली समाजमा कृषि पेशालाई सम्मानको पेशाका रुपमा हेर्ने चलन छैन। शिक्षक, कर्मचारी, वकील, डाक्टर पेशालाई सम्मानको रुपमा लिइएपनि कृषि पेशालाई सम्मानजनक पेशा बनाउन नसकेको तितो अथार्थ हामीमाझ छ।
तर दाङ तुलसीपुर उपहानगरपालिका वडा-१४ खौसापुरका खुशीराम चौधरी भने सम्मानको पेशा भनेर चिनिने शिक्षण पेशामा खुशी हुन नसकेर कृषि पेशामा खुशी भएका छन्। विगत एक दशक बढीबाट उनी तरकारी खेतीमा रमेका छन्।
गाउँकै एक आधारभूत विद्यालयमा आधा दशक अध्यापन गराएपनि शिक्षण पेशामा भविष्य नदेखेपछि तरकारी खेतीमा लागेको खुशीराम बताउँछन्। उनले अहिले १० कट्ठा जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानीसमेत गरेका छन्।
शिक्षण पेशा छाडेर होटेलसमेत सञ्चालन गरेका खुशीरामले त्यस व्यवसायमा ९ महिना बढी टिक्न सकेनन्। होटेल बेचेर तरकारी खेतीमा लागेका खुशीरामले अहिले जमिनसमेत जोडिसकेका छन्।
‘होटेल बेचेर नाफा आएको २२ हजार रुपैयाँबाट तरकारी खेती सुरु गरेको हुँ, अहिले यसमै राम्रो भएको छ। अलिअलि जमिन पनि जोडेको छु,’ उनले भने। तरकारी खेतीबाट नै एक दशकमा डेढ विघाहा जमिन जोडेको उनले बताए।
सोही जमिनमा उनले थप कृषि व्यवसाय गर्ने सोचसमते बनाए। अहिले १० कट्ठा जमिनमा उनले प्याज, लसुन, सिमी, गोभी, आलुलगायत तरकारी खेती गरेका छन्। मौसमी तथा बेमौसमी तरकारी खेती गरेका खुशीरामले सुरुवाती चरणमा तरकारी खेतीले बजार पाउन नसकेको बताउँदै अहिले तरकारीको बजारको अभाव नरहेको बताए।
आफ्नो अध्ययन समयदेखिनै तरकारी खेतीमा इच्छा रहेको भन्दै उनले भने, ‘बाआमाले धान खेती गर्दा मैले तरकारीतिर ध्यान दिन्थेँ, त्यसैको परिणम पनि होला अन्य काम गर्न मनले मानेन।’
पहिले गाउँमा कसैले पनि तरकारी खेती नगर्ने भन्दै उनले आफैँले नै गाउँमा तरकारी खेती गर्दा नयाँ तरिका अपनाएको बताए। ‘परम्परागत तरकारी खेतीबाट आम्दानी नहुने, खाने मात्र हुने। तर मैले नै गाउँमा केही नयाँ तरिकाबाट खेती गर्न थालेपछि अन्यले पनि सिकेँ,’ उनले भने।
खुशीरामले तरकारीबाट वार्षिक ४ लाख आम्दानी गर्दै आएको जानकारी दिए। २ छोरासँगै श्रीमती पनि तरकारी खेतीमा रहेको बताउँदै उनले वर्तमान समयमाा तरकारी खेतीको सम्भावना राम्रो रहेको बताए।
चौधरीले तरकारी खेती मात्रै नभएर माछा पालन र बंगुर पालन गर्ने तयारी गरेको जानकारी दिए। सामान्यमा तरकारी खेती सबैले गरेको तर माछापालन नगरेको र माछापालनमा राम्रो सम्भावना रहेको पनि उनको भनाई छ।
उनले विदेशीने युवाहरुलाई त्यहाँको दुःखलाई नेपालमा लागनी गर्न आग्रह पनि गरे। ‘दुःख जहाँ पनि हुन्छ। विदेशमा पनि दुःख नगरेर पैसा हुँदैन। विदेशमा गर्ने दुःख नेपालमा गरे यहाँ पनि राम्रो हुन्छ,’ उनको भनाई छ।