आतङ्क सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई युक्रेनको आग्रह

REUTERS

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्नो देशको सीमामा रुसी सेनाको उपस्थितिकाबीच आतङ्क सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्।

निकट भविष्यमा आक्रमण हुने चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको उनले सञ्चारकर्मीहरूलाई बताए।

बिहिवार अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आफ्नो विश्वास रहेको बताएका थिए। तर रुसले भने आक्रमणको योजना अस्वीकार गर्दै आएको छ। शुक्रवार रुसी विदेश मन्त्रीले मस्कोले युद्ध नचाहेको बताएका थिए।

रुसले युक्रेनसँगको सीमा नजिकै एक लाख सेना तैनाथ गरेको छ। जेलेन्स्कीले गत वर्षको रुसी सैन्य उपस्थितिको तुलनामा अहिले बढी खतरा नदेखेको बीबीसीले जनाएकाे छ।

शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त क्षेत्रमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको उपस्थिति बलियो बनाउन सेनाको सानो टुकडी पूर्वी युरोपमा पठाउने बताएका थिए। उनले सेनाको उपस्थिति कहाँ हुनेछ वा उनीहरू कहिले त्यहाँ पुग्नेछन् भन्ने विषय भने स्पष्ट पारेनन्।

यसै हप्ता करिब साढे आठ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको पेन्टागनले जनाएको थियो।

अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मुख्य मागलाई अस्वीकार गरिदिएको छ र समाधानका लागि रुसलाई "गम्भीर कूटनीतिक बाटो'' प्रस्ताव गरिरहेकोमा जोड दिएको छ।

प्रकाशित मिति: : 2022-01-29 10:26:00

प्रतिकृया दिनुहोस्