रगतको सङ्कलन, भण्डारण, प्रशोधन र वितरणमा मापदण्ड पालना नगरिंदा एवं नियमन नहुँदा यति संवेदनशील क्षेत्रमा अस्तव्यस्तता मात्र झाँगिएको छैन, बिरामीको जीवनमै खेलबाड भइरहेको छ।
शरीरमा रगतको कमी हुने थालासेमिया रोग लागेपछि सातामा दुई पटक रगत चढाउँदै आएकी काठमाडौंकी २५ वर्षीया सवितालाई (परिवर्तित नाम) तीन वर्षअघि हेपाटाइटिस सीको सङ्क्रमण देखियो। उनलाई जाँच गर्दै आएका चिकित्सकका अनुसार, ‘चढाइएको रगतबाटै सङ्क्रमण’ भएको थियो। त्यसपछि स्वास्थ्यमा अन्य समस्या देखिन थाले। रू एक लाख खर्चेर १२ साता औषधि खाएपछि बल्ल उनलाई निको भयो। 'ब्लड ब्याङ्कहरूले रगत सङ्कलन गर्दा सरुवा रोगको राम्ररी परीक्षण गरेको भए मैले समस्या भोग्नुपर्ने थिएन,' सविता भन्छिन्।
थालासेमियाकै कारण नियमित रगत चढाउनुपर्ने सोमनाथ ९परिवर्तित नाम०का छोरालाई पनि आठ वर्षअघि यस्तै समस्या देखिएको थियो। जन्मिएको १५ महीनादेखि नियमित रगत चढाउनुपरेको उनलाई हेपाटाइटिस सी भएपछि औषधोपचार गर्न पाँच वर्ष कुर्नुपर्यो। सोमनाथका अनुसार, नेपालमा त्यस वेला उपलब्ध औषधिले हेपाटाइटिस सी निको हुनेरनहुने सम्भावना उत्तिकै भएकाले जोखिम लिएनन्। त्यति वेला हेपाटाइटिस सीको ‘विश्वसनीय औषधि’ अमेरिकामा मात्र थियो, उक्त औषधि पाँच वर्षपछि भारतमा उपलब्ध भयो। 'ब्लड ब्याङ्कले रगतको गुणस्तर कायम गर्न नसक्दा नयाँ दिल्ली गएर भारु। ५० हजारमा औषधि गराउनुपर्यो,' उनी सुनाउँछन्।
माथिका घटना बिरामीलाई चढाइएको रगतको गडबडीले असर गरेका उदाहरण मात्र हुन्। तोकिएको मापदण्ड पालना नगरी रगत सङ्कलन, भण्डारण, प्रशोधन र वितरण गरिंदा अत्यन्तै जटिल अवस्थामा रहेका बिरामीलाई चढाइने रगतमा गडबडी भएर गम्भीर स्वास्थ्य समस्या निम्तिने मात्र होइन, ज्यान जाने क्रम बढ्दो छ। तर, यसबारे राज्यले नियमन नगर्दा रगत सम्बन्धी गडबडीले हुने अकाल मृत्यु तथा सङ्क्रमण र सरुवा रोग (एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, सिफिलिस) सरेका घटना बाहिर आउन सकेका छैनन्।