रूसले युक्रेनमा आक्रमण गरे पुटिनमाथि नै प्रतिबन्ध लगाउने बाइडेनकाे चेतावनी

Getty Images
Getty Images

अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन्।

रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो परिणाम हुने पनि बाइडेनले बताएका छन्। 

रसियाले युक्रेनमा आक्रमण  गरे मस्कोले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला बाइडेनको भनाई सार्वजनिक भएको हो। 

उता युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारहरुले तनाब बढाएको रसियाले आरोप लगाएको छ। त्यस्तै, युक्रेनामथि आक्रमण गर्ने आफ्नो कुनै नीति नभएको पनि रसियाको भनाई छ। तर, यक्रेनसँगको सीमामा मस्कोले क्याम्पहरु खडा गरेर झन्डै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ।

 
अमेरिकाले पुटिनलाई व्यक्नितग रुपमा प्रतिबन्ध लगाउछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा  बाइडेनले भने, ‘ हो, यसबारे मैलै सोचिरहेको छ।’

युक्रेनको सीमामा रुसी कदमको अर्थ विश्वव्यापी रुपमा डरलाग्दो परिणाम हुने बाइडेनको भनाई थियो। पूर्वी युरोपमा नेटो फौजको उपस्थिति तीव्र पार्न आफू बाध्य हुने पनि बाइडेनले बताए।

यसअघि अमेरिकाले युक्रेनमाथि रुसले हमला गर्नसक्ने चिन्तामाझ करिब साढे आठ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको बताएको थियो।

दुई दिनअघि अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई उक्त देश छाड्न आदेश दिएको थियो।

प्रकाशित मिति: : 2022-01-26 07:15:00

प्रतिकृया दिनुहोस्