न्यूरोडका व्यापारी भन्छन्–झुण्डिएर मर्ने अवस्था आइसक्यो [भिडियो]

देशमा पछिल्लो समय कोरोना भाइरसको सङक्रमितको सङख्या बढ्दै गएको छ। जसकारण सरकारले ‘स्मार्ट लकडाउन’ घोषणा गर्यो। जसमा उल्लेखित स्वास्थ्य मापदण्ड अनुसार घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने, भौतिक दूरी कायम गर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाइन जस्ता कुरा लेखिएको छ।

यसकारण अहिले अधिकांश मानिस यतिबेला घरबाट निस्किएका छैनन्। जसको प्रत्यक्ष मारमा व्यापारीहरु परेका छन्। काठमाडौंका ठूलाठूला सपिङ सेन्टरदेखि न्यूरोड, असन, चाइना टाउनलगायतका ठाउँमा चहलपहल शुन्यप्राय छ। कोरोनाका त्रास हुनु अघि सामान बेच्न भ्याइनभ्याइ हुने व्यापारीहरु आजभोलि निकै फूर्सदिला बनेका छन्। 

महाबौद्धमा विगत २४ वर्षदेखि होलसेल पसल चलाउँदै आएका गिरीराज पोखरेल आजकल निकै निराश देखिन्छन्। बिहानको ८ बजेदेखि बेलुकाको ६ बजेसम्म खुल्ला रहने उनको पसलमा व्यापार स्वाट्टै घटेको छ। 

‘मानिस कोरोनाको डरले बाहिर निस्किदैनन्’ उनले बिएल नेपाली सेवासँग भने, ‘त्यसैले हामी व्यापारी मर्कामा परेका छौँ।’

कोरोना त्रास अघि दैनिक ३ लाखभन्दा बढीको व्यापार हुने उनको स्टोरमा हिजोआज २ हजारसम्म व्यापार पनि मुश्किलले हुन थालेको छ। ‘पसल आउनु मात्र पर्छ बिक्री हुदैँन’ आफ्नो अवस्थाबारे उनले भने, ‘सटर भाडा पनि त तिर्नेपर्छ।’

त्यस्तै आर्दश टेडर्स नामक पसल २३ वर्षदेखि चलाउदै आएकी भगवती क्षेष्ठ यतिखेर फूर्सदिली बनेकी छन्। कोरोनाअघि आफ्नो व्यापार देखेर सन्तुष्ट हुने उनी आजभोलि निकै दुखी छिन्।

‘कोरोनाले मर्नु र बाच्ँनु बनायो’ आफ्नो अवस्थाबारे उनले भनिन्। व्यापारको स्थिती नाजुक रहेको बताउने उनी कोरोनाको भयसँगै व्यापारको पनि रहेको बताउँछिन्। 

‘आफूलाई रोगले समात्ला भन्ने पनि डर छ व्यापारको पनि चिन्ता लाग्छ, अहिलेको अवस्थामा रुन मन लाग्छ’ उनले भनिन्। बढ्दो कोरोनाका कारण आफ्नो पसल भाडा र कामका लागि राखिएका कर्मचारीलाई समेत तलब दिन मुश्किल परेको उनी गुनासो गर्छिन्। 

पछिल्लो समय सरकारले गरेको ‘स्मार्ट लकडाउन’ लाई नकार्दै उनी भन्छिन्, ‘लकडाउन हुनु हुदैँन बरु हामी आफैँ स्वास्थ्य मापदण्डको पालना गर्नुपर्दछ, लकडाउन भयो भने हामी व्यापारीको त केही कामै छैन नी।’

न्यूरोडमा २२ वर्षदेखि ‘सिंह स्टोर’ सञ्चालन गर्दै आएका जोमसिंह महर्जन यतिबेला अस्तव्यस्त बनेका छन्। उनको व्यापारको हाल पनि उस्तै छ। पहिला लाखौँसम्मको व्यापार हुने उसको पसल अहिले सुनसान बनेको छ। 

आजभोलि पसल आउनु र त्यतिकै बसिसहनु उनको दैनिकी बनेको छ। ‘के गर्नु व्यापार हुदैँन आएर बस्ने मात्र त होनी’ उनले भने। सरकारले गरेको ‘स्मार्ट लकडाउन’ प्रति असन्तुष्ट बनेका उनी भन्छन्, ‘लकडाउन गर्ने हो भने पूरै गर्नुपर्छ। अहिलेको लकडाउनले केही गर्दैन।’ 

अहिले आफ्नो व्यापार ठप्प भएको कारण लकडाउन भएपनि फरक नपर्ने उनी बताउँछन्। 

‘व्यापार हुने होइन आएर पनि के गर्नु र!’ उनले भने। कोरोनो सङक्रमितको सङख्या बढ्दै गउकाले आफू पनि लकडाउन हुनुपर्ने पक्षमा रहेको उनले बताए। 

‘दिनदिनै सङक्रमित बढिरह्यो भने लकडाउन हुनुपर्छ तर त्यसबेला हामी व्यापारीले व्यापार गर्नका लागि बैंकबाट झिकेको ऋणको ब्याज हिनामिना गरिदिनुपर्छ’

अर्का व्यापारी हुन्–ध्रुव सुवेदी। जसले १० वर्षदेखि महाबौद्धमा जुत्ता चप्पलको व्यापार गर्दै आइरहेका छन्।  कोरोनाको त्राससँगै आफ्नो व्यापारमा पनि घाटा लागेको उनी बताउँछन्। 

विगतका दिनहरुमा दिनमै ८० हजारसम्मका व्यापार गर्ने उनी अहिले ५ हजारको व्यापारसमेत नहुने बताउँछन्। 

‘कोरोनाले गर्नु ग¥यो नी’ उनले भने। कोरोनाको डरले व्यापारसँग आफू पनि त्रसित भएको बताउँदै उनले भने, ‘रोगको त्रास पनि छ तर व्यापार हुन्छ कि भन्ने आश पनि छ।’
उनी अहिले आफ्नोभन्दा बढी व्यापारमा भएको नोक्सानका कारण चिन्तित छन्। ‘व्यापारमा घाटा लाग्यो भने उस्किन मुश्किल हुन्छ।’ उनले भने।

‘बलराम ट्रेडिङ कन्सन’ ८ बर्षदेखि चलाइरहेका शिव शकंरको व्यापार यतिबेला खस्किएको छ। कोरोनाअघि लाखौँसम्मका व्यापार गर्ने उनलाई अहिले हजार कमाउन पनि मुश्किल छ।

‘कोरोनाले व्यापार चौपट बनायो’ उनले भने। राज्यमा कोरोनाको त्रास बढेसँगै आफूले व्यापारमा नोक्सान सम्हाल्नु परेको उनको गुनासो छ। कोरोनाका डरले व्यापार नभए पनि बाध्यताका कारण पसल आउनु परेको उनको भनाई छ। 

‘दुईचार पैसा भएपनि हुन्छ कि भनेर आउँछु तर व्यापार नै हुदैँन’ उनले भने। आफूलाई अब लकडाउन हुने होकि भन्ने डरले सताएको उनी बताउँछन्। 

‘पहिलाको जस्तो लकडाउन हुनु हुदैँन, यसले कसैलाई फाइदा गर्देन। लकडाउन हुनु राम्रो पनि होइन’ उनले भने, ‘लकडाउन हुनु भन्दा आफैँ नै सचेत हुनुपर्छ।’

प्रकाशित मिति: : 2022-01-25 20:00:00

प्रतिकृया दिनुहोस्