३०/३२ वर्ष अगाडिको समय आजको जस्तो सहज कहाँ हुनु। बाटोघाटो र यातायातका साधन थिएनन्। गाउँमा उद्योग गर्छु भन्नु त झन अरुको खिल्ली र आलोचना सहनु बाहेक के थियो र ? ती आलोचना सहेर आफ्नै लयमा हिँड्ने यात्रु मध्यका थिए, डोटी वायलका जोगी सिं कुँवर पनि। जसले गाउँमै उद्योगको सपना देखे। सपनालाई साकार पार्न समाजका सारा मान्छेले हिँड्ने बाटो छोडेर उनी छुट्टै बाटो हिँडे।
वि.स. २०१४ सालमा डोटीको वायलमा जन्मेका कुँवरलाई सात वर्षको हुँदा नै बुवाले सदाका लागि छोडेर गए। घरमा आमा–छोरा एक्लै रहे। त्यसबेला गाउँमा प्राथमिक स्कुल खुलिसकेको थियो। केटाहरू ठूलो भएपछि मात्रै स्कुल जाने चलन थियो। उनी पनि ठूलो भएपछि स्कुल गए। कक्षामा सँधै प्रथम भए। पाँच कक्षामा पढ्नेहरू त्यसबेला १८/२० वर्षका हुन्थे। उनको उमेर लगभग १५ वर्षको थियो।
पाँच कक्षाको पढाइ सकियो। पाँचकक्षा माथिको स्कुल गाउँमा थिएन। त्यसपछि कि सिलगढी जानु पर्थ्र्याे कि तिखातरको लेकगडा। सिलगढी जानु भन्दा नजिकको लेकगडा पढ्ने बिचार गरे। घरमा आमालाई एक्लै छोडेर छ कक्षामा भर्ना भए। त्यति नै बेला आमाले संसार छोडेर गइन्।
पढ्ने धोको त्यति मै सकियो। त्यसपछि सुरु भयो एक्लो जीवन। घरको सबै जिम्मेवारी आफैँले समाल्नु पर्यो। सोच्न सक्ने उमेर थिएन। सही बाटो देखाइदिने मान्छे थिएनन्। अरु सरह घरको काम गर्दै दिन बित्नथाले। आफ्नो अभिभावक आफैँ बने। जस्तो आइपर्यो त्यसैलाई सामना गरे। ती दिन सम्झिदै अहिले पनि भन्छन्,‘भगवान्ले बाटो देखाएर यहाँसम्म पुर्याएको हो।’
बिहे भएपछि जीवनले गति लिन थाल्यो। केही सहजता पनि थपियो। राम रमिता र मेला पर्वमा जाने समय मिल्यो। त्यो समय रेडियोले पनि धेरै कुरा सिकाउँथ्यो। तर, रेडियो किन्न सजिलो थिएन। घरमा सबैले रेडियो राख्न पाउँदैन थिए। २०३१ सालमा सिलगढी गएर उनले रेडियो किने। त्यसबेला जिल्ला विकासमा रेडियो दर्ता गराउनु पर्थ्र्यो। रेडियो बजाए वाफत पोता (कर) तिर्नु पर्थ्यो। उनले जिल्ला विकासमा रेडियो दर्ता गराएर केही वर्ष पोता तिरी रेडियो बजाए। त्यो पनि बेलाबेला नविकरण गरिरहनु पर्ने। २०३६ सालको बहुदलपछि रेडियो नविकरण गर्नु परेन। त्यसपछि निर्धक्क रेडियो सुन्न पाए। पोता तिर्नुपर्ने झन्झट सकियो।
त्यसबेला सामुहिक रुपमै सल्लाह गरेर लामो बाटो हिँडेर मान्छेहरू तीर्थयात्रामा निस्किन्थे। सकुञ्जेल पो तीर्थजानु पर्छ भन्ने चेत उनमा आयो। २०३४ सालदेखि २०४३ सालसम्म तीर्थयात्रा गरे। त्यही तीर्थयात्राले पढ्ने भोक बल्झाइ दियो। यात्राबाट भेटिए जति धार्मिक किताब बोकेर ल्याए। पछि त धर्मग्रन्थ सँगै साहित्य र विभिन्न व्यक्तिका जीवनी पढ्न थाले। किताब थपिदै गए। किताबको चाङ लाग्यो। पढ्न छोडेनन्।
केही फरक र नयाँ गर्नुपर्छ भन्ने चेतना जागृत भैसकेको थियो। २०४४ सालमा बारीमा २०० बोट सुन्तला रोपे। बारी मासेर सुन्तला रोप्यो भनेर धेरैले कुरा काट्न थाले। उनले अरुको आलोचना नसुने जस्तो गर्दै सुन्तलाको हेरचाह गरे। जब सुन्तला फल्न थाले आलोचना गर्नेहरूले पनि सुन्तला लगाउन सुरु गरे। त्यसबखतको सुन्तलाबारीले अहिलेसम्म फल दिँदै छ। उद्योगको वरिपरि रहेको सुन्तलाको बारी मंसिरको महिना लोभ लाग्दो देखिन्छ।
उनीसँग डोटी र अछामका धेरै गाउँमा डेउडा खेलेको सम्झना ताजै छ। २०४४ सालमा बडीमालिका जाँदा बाजुराको लवडुम्रामा खेलेको डेउडा जीवनको अन्तिम डेउडा बन्यो। उनी भन्छन,‘अब त डेउडा पनि उइलेका जसा रहेनन्। खेल्ने मान्छे र गीतेरु पनि उसा छैनन्। विकृति मात्रै बढ्यो। रहर पनि रहेन। त्यसपछि आफ्नै उद्योगको डेउडा सुरु गरें।’
२०४५ सालमा २० हजारमा कपडा बुन्ने मेसिन किने। कास्की घर भएका हरिबहादुर क्षेत्री घरेलु उद्योगका प्राविधिक थिए। उनले राजपुरबाट वायल पुगेर मेसिनमा तान लगाइदिए। एक मिटर कपडा बुनेर देखाइदिए। जोगी सिं कुवँरका लागि सिकाइ भनेपनि तालिम भनेपनि त्यही एकमिटर कपडा बुनुन्जेलको समय थियो। त्यसपछि प्राविधिक राजपुर फर्किए। बिनातालिम धागोमा बुट्टा भर्नु, नाप निसाना कोर्नु सजिलो थिएन। तर, उनको तीव्र इच्छा र मेहनतले असजिलो पनि सजिलो बन्यो। कुनै असहजता नमानेर कपडा बुन्न सफल भए।
कपडा बुन्न त सफल भए, समाजले पत्याइदिनु मुस्किल थियो। आलोचना र खिसिगर्नेहरूले खिल्ली उडाइरहे। रमिता हेरिरहे। कसैलाई वास्ता नगरेर उनले कपडा बुनिरहे। जब कपडा उत्पादन हुन थाले। धेरैका काँधमा उनैले बुनेका गलवन्दी देखिने थाले। ढाकाटोपी लगाउने सयौं मान्छेका शिरमा उनैले बुनेर सिलाएका टोपी देखिन थाले। उनले बुनेको सलले धेरैको आङ न्यानो बनायो। त्यसपछि आलोचना गर्नेहरू ग्राहक बने। उनी सँगै कपडा किन्न थाले। कुँवरको घरेलु कपडा उद्योगले व्यावसायिक रुप लियो।
उनी आसपासका गाउँमा नाताले धेरैका बाजे पर्छन्। घरलु उद्योग संचालन गरेकाले सबैले घरेलु बाजे भनेर चिन्न थाले। उनको उपनाम नै गाउँमा घरेलु बाजे रहन गयो।
उद्योग सुरु गर्दाका दिनमा दिपायलबाट धनगढी पुग्न कच्ची बाटोमा बसले तीनदिन लगाउँथ्यो। उद्योगमा चाहिने कच्चापदार्थ गाउँमा पाइदैन थियो। सामानका लागि काठमाडौं पुग्नु पर्थ्यो। काठमाडाैँ सहजै पुग्न सकिने खालको थिएन। कर्णालीमा पुल नहुँदा गौरीफन्टाको बाटो पलिया गएर नानपारा, रुपडिया हुँदै नेपालगञ्ज पुग्नु पर्थ्र्यो। नेपालगन्जबाट एकसय ६० रुपैयाँको टिकट काटेपछि काठमाडौंको बस पाइन्थ्यो। त्यही बाटो भएर काठमाडौंबाट कठिन यात्रा गर्दै सामान दिपायल पुग्थ्यो। दिपायलबाट भरिया सँगै आफूले पिठ्युमा बोकेर तीन/चार घण्टामा डोटीको वायलसम्म सामान पुर्याउँथे।
आफूले मात्रै सिकेर हुँदैन भन्ने ठानी उनले धेरैलाई टोपी बुन्न सिकाए। काठका मेसिन बनाएर वितरण गरे। केहीलाई रोजगारी दिए। कच्चा पदार्थका लागि काठमाडौं पुग्न कठिन थियो यही कुरा मनन् गरी धागो बनाउने सोचले कपासको बिउ ल्याएर सित्तैमा गाउँलेलाई रोप्न दिए। तर, कसैले उत्पादन नगरिदिएपछि त्यो सपना पूरा हुन सकेन।
धागोको खोजिमा भारतका बिभिन्न सहर पुगे। डरलाग्दो भन्सारको झण्झट। बिश्वासिला मान्छेहरू भेटिन मुस्किल हुन थालेपछि पुनः काठमाण्डौको कच्चापदार्थलाई निरन्तरता दिए।
वि.स २०५० सालमा कर्णालीमा पुल बन्यो। २०५२ सालमा दिपायलदेखि धनगढीसम्मको बाटो कालो पत्रे भयो। त्यसपछि सामान आयात गर्न केही सहज भयो। त्यो समय सम्झिदा अहिले उद्यम र उद्योग गर्नेहरूलाई बाहार(आनन्द) छ भन्छन उनी। तर, आफ्नो भोगाइ र देखाइ, देशको नीति र मान्छेका सोचाइले उद्योग फस्टाउन अझै पनि धेरै कठिनाइ रहेको उनको ठम्याई छ।
भक्तपुर ठिमीका हिराकाजी रञ्जीतकारसँग लगभग बाह्र वर्षसम्म धागो किने। त्यसबखत हिराकाजीसँग ६० वटा पावरलुम थिए। हिराकाजी हाइस्कुलको शिक्षक पनि थिए।
२०५६ सालमा कुवँरको उद्योगप्रतिको लगाव र मेहनत देखेर रञ्जीतकारले भनेका थिए रे,‘विकट गाउँमा काठमाडौँको कच्चापर्दाथ बोकेर उद्योग गर्नुभन्दा गाउँका मेसिन गाउँमै छोडेर सबै परिवार काठमाडाैँ आउनुहोस्। म सहयोग गर्न तयार छु।’ रञ्जीतकारको आग्रहलाई कुवँरले स्विकार्न सकेनन् र हार्दिकतापूर्वक मनका कुरा सुनाएछन्,‘मेरो लक्ष्य भनेकै गाउँमा उद्योगको बिउ रोप्नु हो। जन्मभूमि शून्य पारेर काठमाडौ आउन गाह्रो छ।’ त्यो नै रंजीतकारसँगको अन्तिम भलासुकाली हुन पुग्यो। त्यसपछि रञ्जीतकार रहेनन्। काठमाडाैँमा हुने उद्योगको प्रर्दशनीमा पुग्दा र कच्चापदार्थ लिदाका धेरै सम्झनाहरू छन् उनीसँग।
सुदूरपश्मिबाट घरेलु उद्योगका एक्ला प्रतिनिधि भएर २० वर्षसम्म काठमाडौ हिँडिरहे, उनी। कुवँर घरेलु कपडा उद्योगको स्टल राखेर भृकुटीमण्डमा धेरै वर्ष प्रदर्शनीमा बसे। २०४८ सालदेखिको त्यो निरन्तर यात्रालाई २०६८ सालमा विराम दिए। त्यसपछि काठमाडौं दौडिने मन गरेनन्।
त्यसबेला काठमाडाैँमा सय रुपैयाँमा पाइने रेडिमेड कपडा गाउँमा लगेर तीन सय रुपैयाँमा बेच्न सकिन्थ्यो। पैसा कमाउने आइडिया जोगी सिं कुवँरसँग नभएको होइन। उनलाई गाउँ पनि आत्मनिर्भर बन्नुपर्छ फरक चेतनाले छोएको थियो। सबैले छोड्दै गयो भने गाउँ नै कहाँ रहन्छ र भन्ने उनको चेतनाले भनिरह्यो। आत्मनिर्भरतामा बाँच्न सक्ने गाउँको सपना देखिरहे।
६६औँ वसन्त पार भैसक्दासम्म पनि निरन्तरता दिइरहेकै छन्, उद्योगलाई। जीवनभरि उद्योगमै समर्पित भएर धागो उन्दा उन्दै, गाउँहरू डुल्दा डुल्दै मार्केट बन्यो। मार्केट त बन्यो तर अब ग्राहकसँग लुकेर हिँड्नु पर्ने अवस्था आएको छ। माग बढी छ, उत्पादन निकै कम छ। ४५ सालदेखि उनैले बनाएका टोपी लगाउनेहरू गाउँघरमा कयौं छन्। ती मान्छेहरूले घरेलु उद्योगको टोपी गलबन्दी र सल नै चाहियो भन्छन्। तर, कपडा उद्योगको चाहना सन्ततिमा छैन्। उत्पादन घट्दै गइहेको छ। जवानीमा जस्तो जोस जाँगर उनीसँग छैन्।
आँगनमै सडक आइपुगेको छ। उद्योग सुरु गर्दाका दिन अपत्यारिला बनिसके। उद्योगले गति लिन सकेन। सबै संर्घषहरू कथा भैगए। सम्झना भैगए। बारीमा लटरम्म सुन्तला फल्छन्। मेसिनहरू बिस्तारै भएपनि खट्खट् चलिरहन्छन्। उद्योग रहेको आँगनबाट सिलगढीको आकास नियाल्दै अझैपनि कपडा बुनिरहन्छन् कुँवर। काँटीमा झुण्डिएर पुराना दिनका गीत गाउँदै बेलाबेला रेडियोले परिवर्तनका समाचार भनिरहन्छ।
रेडियोले परिवर्तका समाचार भनेपनि गाउँहरू भने परनिर्भरताले झांगिदै गएको उनको बुझाइ छ। समय जसरी मान्छेको मानसिकता परिर्वन हुन सकेन भन्ने धक छ। उद्योगलाई यहाँसम्म ल्याइपुर्याउँदाको ऋनले अलिकति छोएकै छ। ऋनबाट उम्किन सके जीवनको खुसी त्यही बन्ने थियो। तैपनि आफू सकुन्जेल र बाचुन्जेलसम्म मेसिनहरूमा खिया लाग्न नदिने अठोट अझै छ। समाजसेवामा पनि आफूलाई समर्पित गरिरहेका छन्। उनले गाउँ, क्षेत्र हुँदै सिङ्गो मुलुक आत्मनिर्भर भएको सपना देख्न छोडेका छैनन्, अझै पनि।