भारतीय युवकलाई चिनियाँ सेनाले अपहरण गरेको खुलासा

चिनियाँ सेनाले भारतको सीमावर्ती अरुणाचल राज्यको माथिल्लो सियाङ जिल्लाका एक युवकलाई अपहरण गरेको खुलासा भएको छ।

राज्य सांसद टपीर गाओका अनुसार चीनको पीपुल्स लिवरेशन आर्मी (पीएलए)को हिरासतबाट भागेका अर्का एक युवकले मिराम तरोन नामका १७ वर्षीय युवकलाई अपहरण गरेर राखेकाे बताएका छन्।

सांसद गोओले ती युवककाे अपहरणबारे स्थानीय अधिकारीलाई जानकारी गराइसकेका छन्। चिनियाँ सेनाले अपहरण गरेका युवक जिदो गाउँका स्थानीय हुन्।

उनले गृह राज्यमन्त्री एन प्रामाणिकलाई जानकारी गराउँदै बालकको यथाशीघ्र रिहाइ गर्न भारत सरकारसँग माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् तरोनलाई १८ जनवरी २०२२ मा अपहरण गरेको जानकारी दिएका छन्।

उनलाई भारतीय सीमा क्षेत्रबाटै अपहरण गरिएको गाउँलेहरूको दाबी छ। तरोनको अपहरण लुङ्टा जोर क्षेत्रबाट भएकाे हाे।

सन् २०१८ मा चीनले यसक्षेत्रमा ३–४ किलोमिटर सडक समेत बनाएकाे छ। गत सेप्टेम्बर २०२० मा नै चिनियाँ सेनाले अरुणाचल राज्यबाटै ५ युवकलाई अपहरण गरेको थियो। पछिल्लो समय अरुणाचललाई चीनले लगातार आफ्नो भूमि दाबी गर्दैआएको छ।

साथै, चीनले अरुणाचलका १५ स्थानको नामसमेत गत महिना परिवर्तन गरेको छ।

प्रकाशित मिति: : 2022-01-20 08:59:00

प्रतिकृया दिनुहोस्