प्रदेश २ : प्रदेशसभा अगाडि पत्रकारको प्रदर्शन

प्रदेश २ को नामकरण र राजधानीका विषयमा मतदान भइरहेका बेला प्रदेशसभाभित्र प्रवेश निषेध गरिएपछि पत्रकारहरू आन्दोलित भएका छन्।

उनीहरूले जनकपुरधामस्थित प्रदेशसभाको मूलद्वार अगाडि समाचार संकलन गर्न उपयोग हुने उपकरण भुइँमा राखेर प्रदर्शन गरेका छन्।

‘ऐतिहासिक महत्वका अत्यन्त महत्वपूर्ण र गम्भीर विषयमा समाचार संकलन कार्यमा रोक लगाइँदा हामी निराश भएका छौं,’ नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाले भनिन्, ‘प्रदेश २ को नामकरण र राजधानी तोक्ने अपूर्व र सम्भवतः यस कार्यकालको अन्तिम प्रक्रियाका साक्षी तथा द्रष्टा पत्रकारलाई बनाइएको भए प्रदेशसभाकै गरिमावृद्धि हुन्थ्यो। तर, पत्रकारलाई निषेधित गर्दा बिना बाधाअड्चन समाचार संकलन गर्ने पत्रकारका अधिकार कुन्ठित गरिएको छ।’

उनले भनिन्, ‘कानुन निर्माण हुने थलो प्रदेशसभाले पत्रकारसँग यस्तो व्यवहार गर्ने अपेक्षा लोकतान्त्रिक देशमा गर्न सकिँदैन।’ संसदीय सर्वोच्चताका नाममा जनताको सुसूचित हुने अधिकारमाथि आघात पुर्याउन नपाइने भन्दै अध्यक्ष झाले तत्काल प्रदेशसभा पत्रकारका लागि खोल्नुपर्ने माग गरिन्।

प्रकाशित मिति: : 2022-01-17 15:19:00

प्रतिकृया दिनुहोस्