‘घरबाट निस्किँदा साँझ ज्यूँदै फर्किन पाइन्छ कि पाइँदैन भन्ने चिन्ता हुन्छ’

मानवमैत्री सडक नहुँदा ह्वीलचियरमा यात्रा गर्नेहरूलाई देशको राजधानीमै ज्यान जोगाउन मुस्किल हुने गरेको अपाङ्गता भएका व्यक्तिहरू बताउँछन्।

हिमाल खबर

काठमाडौँ

चार वर्षअघि झण्डै ६० जना अपाङ्गता भएका व्यक्तिहरूले ह्वील चियरमा बसेर जोरपार्टीको सडक खने। हथौडा, हम्मर बोकेर आएका उनीहरूले धमाधम सडकपेटी खन्न थालेपछि सबै हेराहेर भए।

तर, उनीहरूले सडक बनाउन मेहेनत गरेका थिएनन्, फराकिलो सडकपेटी निर्माण गरी आफूलाई यात्रा गर्न सहज बनाइयोस् भन्ने माग राख्दै सांकेतिक विरोध गरेका थिए। आफू पनि यो देशको नागरिक भएको र सडकमा सुरक्षित रुपमा हिँड्न पाउनुपर्ने भन्दै उनीहरूले विरोध गरेका थिए। यति मात्र नभई उनीहरूले अपाङ्गतामैत्री तथा ह्वील चियरमैत्री सडक पेटी कस्तो हुनुपर्छ भनेर १०० मिटरको नमुना सडक पेटी बनाए।

यति विरोध जनाइसकेपछि बल्ल चावहिल-साँखु सडक खण्डको योजनामा अपाङ्गतामैत्री सडक पेटीको डिजाइन बनेको छ। तर, अहिलेसम्म पनि यसको निर्माण हुन सकेको छैन, जसका कारण ह्वीलचियरमा यात्रा गर्नुपर्ने अपाङ्गता भएका व्यक्तिको दैनिकी कष्ठकर बनेको छ। चावहिल-साँखु सडक खण्ड आसपासको क्षेत्रमा अपाङ्गता भएका एक हजारभन्दा बढी व्यक्ति बसोबास गर्छन भने नेपाल अपाङ्ग संघको कार्यालय पनि छ।
 

प्रकाशित मिति: : 2022-01-13 10:15:00

प्रतिकृया दिनुहोस्