नागरिकले मास्क लगाउन छाडे, प्रहरी भन्छ- तपाईंको मास्क खोइ?

कोरोना जोखिम अन्त्य भएको जस्तै गरेर नागरिकले मास्क लगाउन छाडिसकेका छन्। केहीले मास्क लगाउने गरेपनि कतिपयले भने मास्क लगाए पाइँदैन। सार्वजनिक स्थानमासमेत कतिपयले मास्क नलगाएको देखिन्छ।

जसले गर्दा बढ्दै गएको कोरोना संक्रमण थप तिब्र हुने जोखिम बढेको छ। सार्वजनिक यातायातमा पनि मास्क नलगाएरै यात्रुहरु चढ्ने गरेका छन्। ‘मास्क लगाउन छाडिसके, हामीले भन्नुपर्छ मास्क लगाउनु’, घोराही तुलसीपुर सडक खण्डमा चल्ने बसका एक सहचालकले भने।

उनले गाडीमै मास्कको व्यवस्था भएकाले आफूहरुले बसमा यात्रा गर्ने सबै यात्रुलाई मास्क लगाएर मात्रै चढाउने गरेको बताए। दाङ जिल्ला कोरोना संकट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पनि केही महिना अघि लकडाउन अन्त्य भएसँगै नागरिकले मास्क लगाउन छाडेको र लापरवाही बढेको बताउँछन्।

उनले फेरि नेपालमा कोरोना जोखिम बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालनका लागि अभियानहरु थालिएको बताए। जिल्लामा कुनै पनि किसिमका भीडभाड हुने कार्यक्रममा रोक लगाउनेदेखि ‘मास्क खोइ’ अभियान सुरु गरिएको रेग्मीले जानकारी दिए।

मंगलबार मात्रै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट कोरोनाको जोखिमलाई लिएर माघी मेला महोत्सव तथा भीडभाडजन्य काममा रोक लगाउने निर्णय गरिएको बताउँदै उनले स्वास्थ्य सावधानी अपनाउन, मास्क अनिवार्य प्रयोग गर्न, सार्वजनिक निकायमा भौतिक दुरी कायम राखेर सेवा प्रवाह गर्न तथा सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्न सबैमा आग्रह गरे।

यसैबीच जिल्लामा बढ्दो कोरोना संक्रमणकाे जोखिमलाई मध्यनजर गर्दै दाङ प्रहरीले फेरि ‘तपाईंको मास्क खोइ?’ अभियान सुरु गरेको छ। कोरोना संक्रमित तीव्र रुपमा बढिरहेका बेलामा नागरिकले स्वास्थ्य सावधानी नअपनाउने, सार्वजनिक स्थलमा जाँदा मास्क नलगाउने क्रम बढेपछि प्रहरीले नागरिकको स्वास्थ्य सुरक्षाका लागि बुधबारबाट जिल्लामा ‘तपाईंको मास्क खोइ?’ अभियान फेरि सुरु गरेको हो।

गत वर्ष पनि कोरोना संक्रमण तीव्र बढेका बेला जिल्लामा प्रहरीले यही अभियान चलाउँदै नागरिकलाई सचेत गराएको थियो। सडकमा खटिने प्रहरीलाई ‘तपाईंको मास्क खोइ?’ लेखेको प्लेकार्ड दिएर त्यसबाटै यात्रुहरुलाई सचेत गराउने अभियान सुरु भएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिए।

कोरोना संक्रमणको जोखिम बढे पनि आम नागरिकले सुरक्षा सतर्कता अपनाउन लापरवाही गरेको उनको भनाई छ। बुधबारबाट थालिएको यो अभियानका क्रममा प्रहरीले अधिकांशलाई मास्क बिना बजारमा हिँडेको भेटाएको उनले बताए।

मास्क नलाएकाहरुलाई मास्क तुरुन्त लगाउन, साथमा लिएर गएका तर नलगाएकाहरुलाई लगाउन तथा अब बाहिर निस्कँदा अनिवार्य घरबाटै मास्क प्रयोग गर्न आग्रह गरिएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।

दाङमा केही दिनअघि १२ जना सक्रिय संक्रमित रहेको अहिले २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। जिल्लामा दैनिक रुपमा दोहोरो अंकले संक्रमित बढिरहेका छन्।

प्रकाशित मिति: : 2022-01-12 18:09:00

प्रतिकृया दिनुहोस्