अमेरिका बस्नेहरुको खोक्रा सान

Breaknlinks
Breaknlinks

केही दिन अगाडीको कुरा हो ग्ल्याक्सी फोर के टेलिभिजनमा ‘सारेगामापा’ नामक सांगीतिक कार्यक्रम चलिरहेको थियो। कार्यक्रमको मध्यमा सञ्चालिका रिमा विश्वकर्माले उक्त कार्यक्रम हेर्न विदेशबाट पनि आउने बताइन् र विदेशबाट आएकाहरुलाई उठिदिन आग्रह गरिन्। त्यसपछि दुई/चार जना उठे।

एक मान्यबर उठेर बडाे गर्वका साथ आफू ‘युनाइटेड स्टेट’ अर्थात अमेरिकाबाट आएको बताए। मानौं कि उ कुनै अर्कै ग्रहबाट आएको हो, अथवा उ अमेरिकामा बस्नाले राष्ट्रपति जो बाइडेनलाई निकै ठूलो सहयोग पुगेको छ। पंक्तिकारको विचारमा त्यो मान्छेलाई त्यस्तो भाउ दिनु कुनै आवश्यकता नै थिएन।

केही अपबादलाई छोड्ने हो भने हाम्रो समाजमा अमेरिकामा रहेका मान्छेलाई गर्ने विशेष इज्जत र अमेरिका जोडिएका हरेक गतिविधिहरुलाई उच्च सम्मानका साथ हेर्ने गरिन्छ। मान्छे कुन देशमा बस्यो, त्योभन्दा पनि मान्छे कुन हैसियतमा बसेको छ त्यो महत्वपूर्ण हुनुपर्ने हो र हुनुपर्छ।

तर हाम्रो समाजमा सयुंक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर कुनै अविकसित देशमा बसेको मान्छेलाई भन्दा दैनिक मजदुरी गरेर अमेरिकामा बसेको मान्छेलाई उच्च र महान देख्ने प्रचलन छ, जो सर्वथा गलत छ। अमेरिकामा बस्ने कतिपय नेपालीको अवस्था यति दयनीय छ कि, त्यसको उल्लेख गर्‍याे भने पाठक वर्गलाई पंक्तिकारको कुरा झुठो जस्तो लाग्न सक्छ।

प्राय सामाजिक सञ्जालमा यो खाएको, यस्ताे लगाएको र यता गएको भनेर चुरिफुरी देखाउने, फलानो र चिलानो संघको गतिविधि भनेर माला, अबिर र खादा लगाएर ठुस्स परेर बसेको फोटो अपलोड गरिरहने मान्छेहरुको यता खासै कुनै हैसियत छैन। यिनीहरुले केवल नेपाल तिर आफ्ना सोझासाझा आफन्तहरुलाई मात्र फूर्ति लगाउने हुन्। यहाँ यस्ता मान्छेहरुलाई कसैले दुई पैसामा पनि टेर्दैन।

सामान्यतया अमेरिका बस्ने जसले जति सामाजिक सञ्जालमा हल्ला गर्छ, त्यसको जिन्दगी त्यति नै गए गुज्रेको रहेछ भनेर विश्वास गर्न सकिन्छ। उच्च अध्यन गरेका, सम्मानित काम गर्नेहरु आफ्नो सानो घेरामै रमाउने र यिनीहरु खासै चर्चामा आउन इच्छा राख्दैनन्।

जसको सामाजिक हैसियत तल्लो वर्गको छ, उसलाई यता म कांग्रेस र तँ एमाले भनेर समय बर्बाद पार्नु छ वा समय कटाउनु छ। नेपालमै सामान्य मान्छेले कुनै आदर नै नगर्ने कथित नेता भनाउँदा आए भने तछाडमछाड गरेर तिनीहरुसँग फोटो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेर आफूलाई के प्रमाणित गर्न खोजेका होलान् त्यो अर्को आठौँ अच्चम हो।

अमेरिकामा बस्दैमा कुनै मान्छे ‘महान’ हुने र नेपालमा बस्नेहरु सबै ‘निम्छरो’ हुने होइन। सबैले यस्तो लघुताभाष त्याग्न जरुरी छ। अमेरिका बस्ने अधिकांश नेपालीहरुले महिनाको ५० देखि ८० डलर तिरेर केवल लाइन लिएका हुँदैनन्। बाहिर जस्तो गफ लगाए पनि यिनीहरुले युट्युबमा दोहाेरी गीत हेर्ने हो।

अन्तमा सञ्चारको यत्रो विकास भएर लगभग हरेक ठाउँको, हरेक जानकारी एक क्लिकमा लिन सक्ने समयमा पनि केवल अमेरिकामा बस्ने भनेर कुनै अमुक मान्छेलाई विशेष सम्मान गर्नु र उसको हावादारी र बकम्फुसे गफ ध्यानपूर्वक सुनेर आँखा छोपेर विश्वास गर्न बिडम्बना मात्र हो।

प्रकाशित मिति: : 2022-01-16 07:10:00

प्रतिकृया दिनुहोस्