‘छोरीले ऊ मेरो जिन्दगी हो भन्थी, ज्वाइँले पेटको बच्चा मेरो होइन भन्दै मारेर झुण्ड्याए’

झापाको मेचीनगर–१३ की २४ वर्षीया विद्या उप्रेती भट्टराईको मृत्यु रहस्यमय बन्दै गएको छ। विद्याको शव केहि दिनअघि कोठाभित्र पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको थियो।

पेटको बच्चा आफ्नो नभएको भन्दै ज्वाइँ विवेक भट्टराईले यातना दिएको र दाइजोका विषयमा घरायसी विवाद बढेपछि छोरीले आत्महत्या गरेको माइती पक्षको आरोप छ।

माइती पक्षले इलाका प्रहरी कार्यालय धुलाबारीमा आइतबार ज्वाइँ विवेक भट्टराईको नाममा किटानी जाहेरी समेत दिएका छन्। विद्याकी आमा सीता उप्रेतीले ज्यानसम्बन्धी आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गरेकी छिन्।

श्रीमानको यातनाकै कारण विद्याले आत्महत्या रोजेको बताउँदै माइती पक्षले न्यायको माग गरेका छन्।

विद्याले गत वैशाखमा मेचीनगर–२ का विवेक भट्टराईसँग प्रेम विवाह गरेकी थिइन्। दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका विद्या र विवेकले भागी विवाह गरेका थिए। उनीहरूलाई परिवारले एक महिनाअघि मात्रै घर भित्र्याएको थियो।



पेटकाे बच्चा श्रीमानले मेराे हाेइन भनेपछि श्रीमतीले गरिन् आत्महत्या !

उनको कोखमा ९ महिनाको बच्चा हुर्किरहेको थियो। तर विद्या २१ गते राति कोठामा झुण्डिनु र रातिसम्म श्रीमान सँगै हुनुमा शंका उत्पन्न भएकाे माइती पक्षले बताका छन्।

यति मात्रै हाेइन, विवेकले यसअघि पनि छोरीलाई अनेक आरोप लगाउँदै आएको विद्याकी आमा सीताले बताइन्। आगामी माघ १५ गते विद्या आमा र विवेक बुवा बन्दै थिए। तर, विद्याले नौ महिनाको पेटको बच्चासहित आत्महत्या गरिन्।

विवेकले यो बच्चा मेरो होइन भन्दै पटकपटक विद्यालाई यातना दिएको र दाइजो कम दिएको भन्दै मानसिक दबाब समेत दिने गरेकाे माइती पक्षको आरोप छ।

मृतक विद्याको शरीरमा निलडामसमेत देखिएको र घटना रहस्यमय भएको भन्दै माइती पक्षले श्रीमान विवेकसहित उनको परिवारलाई कारबाही गर्न माग गरेका छन्।

घटनाको अघिल्लो दिन विद्याकी आमाले ज्वाइँलाई फोन गरेकी थिइन्, तर ज्वाइँको फोन उठेन। त्यसको भोलिपल्ट बिहान आफूलाई तपाईंको छोरीले ढोका खोलिनन् भन्दै ज्वाइँले कल गरेको सीताले बताइन्।

'ज्वाइँको घरमा पुग्दा ढोका बन्द रहेपछि झ्यालबाट हेर्दा घाँटीमा सलको पासो लागेको, खाटमा नै जिउ बसेको अवस्थामा छोरीलाई देखेँ', उनले भनिन्, ' मैले हेर्नै नसकेपछि आफन्त र प्रहरीको टोलीले ढोका खोल्याे।' ज्वाइँले छोरीलाई याताना दिएर झुण्ड्याएको सीताले बताएकी छिन्।

उनका अनुसार विवाह गरेको केही दिनसम्म ज्वाइँले छोरीलाई राम्रो गरेपनि, त्यसपछि सधैं ज्वाइँले विभिन्न बहानामा चरम याताना दिन्थे।

'यस्तो यातना सहेर नबस, बरु माइतीमै आउ भन्दा मेरो जिवन नै विवेक हो भन्थि,' छाेरीले भनेकाे कुरा स्मरण गर्दै आमा सीताले गहँभरी आँशु पार्दै भनिन्, 'छोरीले याताना सहेर बसि तर आज ज्वाइँले मारेर झुण्ड्याए।'

पोस्टमार्टम रिपोर्ट, कलडिटेल्स अनुसन्धान गर्न उप्रेती परिवारले माग गरेको छ। विद्याका श्रीमान विवेकलाई पक्राउ गरेर म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

माइती पक्षले इलाका प्रहरी कार्यालय धुलाबारीमा दिइएको  किटानी जाहेरी :

प्रकाशित मिति: : 2022-01-10 17:06:00

प्रतिकृया दिनुहोस्