रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा आचार्य, थापा र सुवेदीकाे उम्मेदवारी

Breaknlinks
Breaknlinks

रोल्पा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ।

संघको आठौं अधिवेशन अन्तर्गत शनिवार उम्मेदवारहरुको मनोनय दर्ता गर्ने क्रममा अध्यक्षमा केशवकुमार आचार्य, रामचन्द्र थापा र बसन्त सुवेदीको उम्मेदवारी परेको हो।

आचार्य र थापा वर्तमान उपाध्यक्ष हुन भने सुवेदी पूर्वमहासचिव हुन्।

यस्तै उपाध्यक्ष (वाणिज्य)का लागि वर्तमान महासचिव मिलन रोका र रोमहर्ष शर्माको उम्मेदवारी परेको निर्वाचन अधिकृत तुलसी जीसीले जानकारी दिए। उद्योग तर्फको उपाध्यक्षमा भने गोपाल प्रसाद श्रेष्ठको एकल उम्मेदवारी परेको छ।

महासचिवमा गणेश घिमिरे र कमल घर्ती, सचिवमा साजन कुमार थापा र जयश्री रेग्मीले उम्मेदवारी दिएका छन्।

कोषाध्यक्षमा बसन्ता आचार्यको एकल उम्मेदवारी पर्दा ९ वटा सदस्य पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत जीसीले बताए।

‘उम्मेदवारी फिर्ता लिने समय पुस १९ गते रहेको छ,’ जीसीले भने, ‘पुस २० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ ४ गते मतदानको तालिका रहेको छ।’

संघको १८औं साधारण सभा तथा आठौं अधिवेशनको उद्घाटन भने माघ ३ गते लिबाङमा हुने भएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्न अर्थमन्त्री जनार्दन शर्मा आउने कार्यक्रम रहेको संघका अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिए।

प्रकाशित मिति: : 2022-01-02 19:38:00

प्रतिकृया दिनुहोस्