हिउँ पर्याे फुरुरु हिमाली भेगैमा
दिल बस्याे हे निर कति चाँडै तिमीमा
राजु लामाद्वारा स्वरबद्ध कालजयी यो गीत नसुनेका सायद कमै होलान्। जब हिउँद सिजन सुरु भएर डाँडा, पाखामा हिउँ पर्न थाल्छ सबैको ओठबाट यही गीत जुञ्जिने गर्दछ।
पूर्व मेचीदेखि पश्चिम महाकाली अनि उत्तर हिमालदेखि तराईको समथर भूभागसम्म फैलिएको हाम्राे देश नेपाल बहुजाती, भाषा धर्म र संस्कृतिको साझा फूलबारी हो। विश्वका १४ वटा उच्च हिमश्रृंखलामध्ये आठवटा हिमश्रृङ्खला हाम्रै देशमा पर्दछन्। जसअन्तर्गत सगरमाथा विश्वकै उच्च हिमश्रृङ्खला हो।
वर्षा याममा ठिरिङ्ग उभिएका हिमाल हिउँद याम सुरु हुने बितिकै बेहुली श्रृङ्गारिएझैँ धपक्क चाँदीको घुम्टो ओढी सुन्दर बनेर आँखै अगाडि उभिएका हुन्छन्। यस्तो देख्दा कसकाे मन प्रफुल्ल नहाेला र ?
जब काठमाडौंको चन्द्रागिरी, नगरकोटमा, हिउँ पर्याे भनेर सुन्छु तब मलाई आफ्नो जन्मभूमि जुम्लाको धेरै याद आउँछ। जहाँ मेरो बाल्यकाल हिउँसँग लडीबुडी गर्दै रमाइलोसँग बितेको थियो।
आकाशमाथि बादल मडारिँदै गर्दा घर माथिको ओखरको रुखमा काग कराउँदा अनि एक हुल चीचिया (चरा)आकाशमा आएर फन्को मार्दा बूढापाखाले ‘अब हिउँ पर्छ है केटाकेटी हो’ बनेर भन्दा हामी अब स्कूल बिदा हुने भयो घरमै बसेर साथीहरुसँग हिउँ खेल्न पाइने भयो भन्दै खुशी भएको याद आँउछ।
जब बिहानैदेखि बादल लागेर हिउँ पर्ला जस्तो हुन्थ्यो तब घर बाहिर निस्केर साथी–भाइ, आफन्तहरू एकै ठाउँ जम्मा भएर छर्पष्ट भएका दाउरा र सुकेका पात पतिङ्गर टिपेर ठूलो आगो बाल्दै तापेको अनि बुढापाखाले कथा, कविता र उखान/टुक्का भन्दै रमाइलाे कुराहरु गरेको याद आँउछ।
जब आकाशबाट चाँदीका टुक्रा पर्न सुरु हुन्थियो घरको भान्सामा मकै अनि सिमीका गेडा, थुक्पा, खशीको खुट्टाको सुप पाक्न थाल्थ्यो। घर बाहिरको माहोल निकै चिसो हुने भएको हुँदा सबै जना घरभित्रै आगो बालेर एकै ठाउँ बस्थ्यौँ।
विशेषत यस्ता परिकारहरु पुस १५ गतेका दिन घर–घरमा बन्ने गर्थे। स्थानीय परम्परागतअनुसार पुस १५ गते रातभरि सबै जना मिलेर मिठो र झोलिलो परिकार बनाउँदै खाँदै नसुति छर्लङ्गै रात कटाउने गर्थ्याैँ। आजका दिनसम्म नपरेको हिउँ आजको रातमा पर्ने स्थानीयहरुमा जनविश्वास छ। त्यहाँका स्थानीयले पुस १५ लाई पर्वकै रुपमा लिने गर्दछन्। ‘पुसको हिउँ सिला, माघको हिउँ बिला’,‘हिउँ पर्याे पुस बुढाबुढी रुश, हिउँ पर्याे माघ बुढाबुढी भाग’ भन्ने जस्ता आख्यान चर्चित छन्।
लेकतिर चिसो बढेका कारण चराचुरङ्गी, जंगली जनावर बेसीखेत बस्तीतिर आउने गर्थे। घरको ढोकाबाट चिह्याए हेर्दा पूर्वमा चिमारा मालिका, पश्चिममा भुडिचुल्ला मालिका, उत्तरमा डाँफेलेक र दक्षिणमा छिनालाग्नमा हिउँ परेर बेहुलीझैँ चिटिक्क श्रृङ्गारिएका देखिन्थे। जताततै घर, आगन, खेत, बारी, पाखा, पहरामा हिउँ देख्दा आफू स्वर्गमै बसेको जस्तो आभास हुन्थियो।
प्राय: जसो हिउँ राति धेरै पर्थ्यो तर दिनमा हिउँ पर्दै गर्दा साथी–भाइहरूसँग गाउँ घुम्नुको मज्जा बेग्लै हुन्थ्यो। ‘धेरै हिउँमा नखेल केटाकेटीहो चिसो लाग्ला है’ भनि आफन्तले भन्दा ‘केही पनि हुँदैन’ भन्दै हिँडेको हिजो जस्तै लाग्छ।
जब हिउँ पर्न रोकिन्थ्यो आकाश बिस्तारै खुल्दै आउँथ्यो तब घामका किरणले हिमाललाई स्पर्श गर्दा घर अगाडिका गगनचुम्बी हिमाल चाँदीझैँ टलक्क टलकिन्थ्ये। वरिपरिको वातावरण पनि निकै राम्रो देखिन्थ्यो।
घरका थाडो (छत) मा परेको हिउँ नविलाई बस् भनेर सर्वप्रथम छतको हिउँ फाल्ने गरिन्थ्याे। जसको पहिला फालेर सकिन्छ तिनीहरूले अरूको फाल्न सघाउने चलन पनि थियो। सबैका छतमा हिउँ फाल्दै गरेका मान्छेहरु देखिँदा त्यो दृश्य एकदम मनमोहक देखिन्थ्यो। छतको हिउँ फालिसकेपछि साथी–भाइ मिलेर घरतल तिरका खेत, बारीमा हिउँ खेल्न निस्कन्थ्यो। हिउँ परेका खेतका आली चाहार्दै हिँड्ने गर्थ्याेँ।
डाँफे, मुनाल, कालिज आदि जस्ता चराचुरुङ्गीहरु चिसो र आहाराको कमीले खेतका आलीतिर आउने भएका हुनाले धेरै जनाले खेतमा पासो थापेका हुन्थे। सबै साथीहरु मिलेर पासो निकालिन्थ्यो। साथीहरु दुई भागमा विभाजित भएर हिउँका डल्ला बनाएर एकआपसमा हानाहान खेल्दै रमाइलो गर्थ्याैँ।
घर नजिकैको बेर्नामा फराकिलो ठाउँ भएको हुँदा सबै जना त्यहाँ जम्मा हुन्थ्यौँ। हिउँको मान्छे बनाएर त्यसलाई टाढैबाट हिउँको डल्लाले हानेर ढाल्ने खेल पनि खेल्थ्यौँ। साच्चै नै त्यो बेला जसले पहिला लगायो। त्यसले आफूलाई ठूलै बहादुर सम्झिन्थ्यो। सायद जुम्लामा जन्मेर पनि होला सनो हुँदा हिउँसँग सारै सामीप्य हुन पाइयो। बाटोमा हिँड्दै गरेका मान्छेलाई ढिस्का (अग्लो ठाउँ)बाट हिउँका डल्लाले हानेर धेरै रमाइलो गरिन्थ्याे। कतिले त हाँसेर उनीहरू पनि माथितिर हान्थे भने कति जना रिसले आगो भएर लखेट्न पनि आउँथे।
हामीभन्दा ठूलाहरु कुकुर साथमा लगेर सिकार खेल्न जान्थे, जङ्गलतिर। हामी भने खेतमा गएर त्यहाँ आएका चराचुरुङ्गीहरुको पछि–पछि दगुर्दै रमाइलो गर्थ्यो। साथी–भाइहरूसँग दानसाँघुको खोला पारीपट्टी गएर चिप्लेटी खेल्ने गर्थ्यो।
सानो हुँदा हिउँसँग रमाएका खेलेका कुराहरूको मात्र याद छ। तर, अहिले आएर बुझ्दैछु चाँदीझैँ टलक्क टल्किएका बस्तीहरूले लगातार हिउँ पर्दा खेप्नु परेको दुःख, पीडा र वेदना।
आज–भोलि काठमाडौँमा हिउँ परेर मान्छेहरु डाँडाकाँडा घुम्न गएको देख्दा मलाई पनि लाग्नेगर्छ यसरी मान्छेहरूको घुइँचो हिउँ हेर्नकै लागि कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगुतिर गएको देख्न पाउने कहिले होला ?
शहर, बजारमा जन्मिएर कहिल्यै हिउँ नदेखेका रहरमा हिउँ खेल्न पुगेका र हिउँसँग जन्मजातै लडिबुडी गर्दै जीविकोपार्जन गर्ने मानिसहरूको दुःख कष्ट कस्तो छ। त्यो पनि शहरमा जन्मिएकाले बुझ्न जरुरी छ।
हिउँ हेर्नमा जति आनन्द मिल्छ, भोग्नुमा त्यती आनन्द कहाँ मिल्छ र ? वरिपरि ठडिएका सल्लाधुपी, स्याउ, ओखर, बैँसका रूखहरूमा थुप्रिएको हिउँले रुखको स्वरूप नै बदलिदिन्छ। कठ्याङग्रिने जाडो भए पनि प्रकृतिले रातभरमा मेहनेत गरेर धर्तीलाई नै सिङ्गारेझैँ लाग्छ। जता हेर्यो सेतैसेतो। हिउँको भार थेग्न नसक्दा रुखका हाँगाहरु भाचिन्छन्। एकैचोटी हिउँका थुप्रा जमिनमा ध्यापध्याप खस्छन्। केही कणहरु हावामा उड्छन्। अनि, पंक्षीहरु एक रुखबाट अर्को रुखमा भुर्रर... उड्दा पनि हिउँका कणहरु हावासँग उड्छन् जसले गर्दा वरिपरिको वातावरण रमणीय बनाउँछ।
हिजो देशका विभिन्न भागमा हिमपातसँगै वर्षा भयो प्रकृति सुन्दर देखियो। तर, फरक यो थियो, धनी वर्गहरुले टिकट काटेर कालिञ्चाेक, चन्द्रागिरीलगायत देशका रमणीय डाँडाहरुमा गए, फोटो खिचे, प्रकृतिले भरपुर आनन्द दियो तर गरीब वर्गहरुको रोजी–रोटी छुट्यो। चुलो निभ्यो।
हुनेखाने धनी वर्गहरूको लागि राम्रो सम्झना र खोज भयो भने गरिबी गाउँलेहरुको लागि एक कष्टकर रोग भयो।
अन्ततः काठमाडौंको डाँडामा हिउँ हेर्नेको घुइँचो देखिएजस्तै कर्णालीका जिल्लाहरूमा पनि हिउँ हेर्ने र खेल्नेको घुइँचो चाँडै देख्न पाइयोस्। फेरि पनि रामचन्द्र काफ्लेले ‘हिउँचुलीमा हिउँ पर्याे फुरूरू, आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छ नि रमाइलो’ गीतमा भनेझैँँ जतिले जेसुकै भने पनि काठमाडौँमा हिउँ पर्याेभन्दा मलाई मेरै जन्मभूमि जुम्लामा हिउँसँगै बाल्यकाल बिताएको र धेरै रमाइलो गरेको याद आउने गर्छ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी...
(जुम्ला घर भएका लेखक बालगोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ्ग कलेज सानेपा, ललितपुरमा ब्याचलर इन सिभिल इन्जिनियरिङ्ग चौथो वर्षमा अध्यनरत विद्यार्थी हुन्।)