जब रजनीको फेसबुकमा आफ्नै नाङ्गो भिडियो पोस्ट भयो...

कमल प्रभात

काठमाडौं

फेसबुक खोल्ने बित्तिकै रजनीलाई कमेन्ट र लाइकहरुको नोटिफिकेशन आइरह्यो। रजनी नै छक्क परिन्। उनले फेसबुकमा कुनै फोटो र स्टाटस नै पोस्ट गरेकी थिइनन्।

हतार–हतार फेसबुकको मेन वालमा पुगेर हेरिन्। 'मेरा सम्झनाहरू' भनेर लेखिएको थियो। त्यसको तल पट्टी केही फोटोहरू पोस्ट भएका थिए। तर, ती फोटोहरू स्वाभाविक थिएनन्। केही नग्न फोटोहरू थिए। अनि ती फोटोमा अरू कोही होइन उनी आफैँ (रजनी) थिइन्। आफ्नै फेसबुकमा कसरी यी फोटोहरू आए ?

रजनीलाई यो घटनाले एकाएक ४ महिना अगाडि फ्लासब्याकमा पुर्‍यायो। बागलुङ नगरपालिका- २ घर भएका १९ वर्षीय जगत केसी र भैरहवाकी १५ वर्षीया नाम परिवर्तन 'रजनी' बीच सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएको थियो।

फेसबुकमा रजनीलाई जगतले करिब चार महिनाअघि एक साँझ पख ‘फ्रेन्ड रिक्वयस्ट’ पठाएका थिए। रजनीले जगतको प्रोफाइल हेरिन्। टिनेज अवस्था, धेरै कुरा सोचिनन्। फोटो र फेसबुकका केही कुराले नै उनले जगतको मूल्याङ्कन गरिन्। त्यसपछि उनको 'रिक्वयस्ट' लाई स्वीकार गरिन्।

कक्षा १० मा अध्ययनरत रजनी र १२ मा अध्ययनरत जगतबीच केही दिन सामान्य हेलो हाईमा नै बित्यो। यो क्रम यतिमा नै रोकिएन। उनीहरूको सम्बन्ध भर्चुअलमा झनै बाक्लियो।

त्यही क्रम चलिरहेकै बेला जगतले रजनीको मन जित्ने खालका कुराहरू गर्न थाले र रजनीले पनि कुनै कुरा बाँकी नराखी आफ्नो दैनिकी जगतलाई सुनाउन थालिन्। त्यसपछि उनीहरूको मित्रता प्रेममा बद्लिन समय नै लागेन। जगतले रजनीलाई यदिसम्म नजिक बनाएकी, जगतबिना उनी बाच्ने नसक्ने अवस्थामा पुगिन्।

उनीहरूबीच रहेका हरेक सीमाहरू पार हुन थाल्यो। त्यसपछि जगतले रजनीलाई अश्लील फोटो भिडियो पठाउन अनुरोध गर्न थाले। रजनीले पनि जगतले जस्तो भने त्यस्तै गर्न थालिन् र केही नसोची आफ्नो नग्न भिडियो तथा फोटोहरू जगतलाई पठाइरहिन्। अब उनीहरू भर्चुअल सम्बन्धमा मात्र बस्न सकेनन्। जगत भेट्न चाहन्थे। जगतले रजनीलाई भेट्ने कुरा गरे। तर रजनीले भेट्न भने आनाकानी गरिन्।

सुरुमा जगतले उनलाई सम्झाएर मनाउने कोशिस गरे। उनी मानिन्। त्यसपछि रजनीलाई विभिन्न धम्की दिएर भेट्न राजी बनाए। अब कहाँ भेट्ने, उनीहरूबीच सहमति भयो, जगत बागलुङबाट भैरहवा नै पुग्ने भए।

रजनीलाई भेट्न केही दिनमा उनी भैरहवा हानिए। होटेलमा एक दिनसँगै बसे। त्यसको केही दिनपछि उनीहरूबीच खटपट पर्‍यो। कुराकानी पनि पातलो हुन थाल्यो। रजनी जगतसँग टाढिन खोजिन्, तर जगतले मानेनन्। त्यसपछि सुरु भयो रजनीको दुःख।

जुन फेसबुकमा पोस्ट भएका फोटो उनै जगतले हालेको खुल्यो। जगतले रजनीको फेसबुकको पासवर्ड नै परिवर्तन गरेका थिए। सम्बन्ध राम्रो हुँदा उनीहरूले फेसबुक पासवर्ड समेत साटेका थिए। जसको फाइदा जगतले उठाउँदै थिए। विभिन्न बहाना बनाउँदै रजनीलाई तनाव दिइरहे।

पछि बिस्तारै जगतले रजनीलाई आफूसँग भएको फोटो भिडियो फेसबुकमा राखिदिने धम्की दिन थाले। त्यसैगरी उनले केही रकम पनि अशुले।

रजनी जगतभन्दा केही हुनेखानेकी छोरी थिइन्। सम्बन्ध बिग्रेपछि जगतले केही समय आर्थिक अभाव देखाए, रजनीले त्यो पनि पूरा गरिदिइन्। एक दिन रजनीले आफू अब नबोल्ने भन्दै टाढिने कुरा गरिन्।

फेसबुकमा फोटो आएपछि आफन्तले पनि धेरै कुरा थाहा पाए। आफन्तबाट अब लुक्ने अवस्था पनि थिएन। उनले त्यो कुरा आमालाई भनिन् र आमा छोरी भएर नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा हानिन्।

भैरहवाबाट उजुरी गर्नकै लागि उनी आमाकाे साथमा काठमाडौं आइन्। ब्यूरोले उनको समस्यालाई बुझेर जगतलाई बेनीबाट पक्राउ गर्‍यो। उनलाई पक्राउ नगर्दासम्म रजनी काठमाडौँमै थिइन्। पक्राउ परेका जगतलाई ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट साइबर क्राइममा म्याद थप गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ।

'सामाजिक सञ्जालमा भएको चिनजान केही समयका लागि राम्रै होला तर त्यो गएर एक दिन भयंकर समस्या भइदिन्छ', ब्यूरोका प्रवक्ता एसएसपी नवीन्द्र अर्यालले भने, सामाजिक सञ्जालमा कतिसम्म बोल्ने भन्ने कुरा आफैँ हेक्का राख्नुपर्छ, हैन भने यस्ता समस्या आउँछन्।' पछिल्लो समय यस्ता फेसबुके सम्बन्धले धेरै समस्या ल्याएको प्रवक्ता अर्यालको भनाई छ।

'अहिलेको जमनामा इन्टरनेटबाट टाढा रहने भन्ने हैन, तर चलाउन पायो भन्दैमा भोलिका दिन नसम्झिने हाे भने यसले ठूलो दुर्घटना निम्त्याउँछ', प्रवक्ता अर्यालले भने।

प्रकाशित मिति: : 2021-12-29 17:15:00

प्रतिकृया दिनुहोस्