पन्थनिरपेक्षता भन्नुपर्नेमा ‘रिलिजन’ को गलत अर्थ लगाएर संविधानमा धर्मनिरपेक्षता राखियो। यसको साटो धार्मिक स्वतन्त्रता भनौं या त धर्मको विषयमा मौन बसे पनि पुग्छ।
‘धर्म’ संस्कृत शब्द हो। यसको अन्य भाषामा ठ्याक्कै अनुवाद गर्न सकिँदैन। किनभने, ग्रीक लगायत कुनै पनि भाषामा ‘धर्म’ शब्दको पर्यायवाची शब्द छैन। १९औं शताब्दीमा बंगाल (सेरामपुर)मा पादरीहरूले ‘रिलिजन’ लाई धर्मको पर्यायवाची बनाएछन्।
‘रिलिजन’ शब्द ल्याटिन भाषाको ‘रेलिगेरि’ बाट आएको हो। यसको अर्थ सम्बन्ध जोड्नु वा बाँध्नु भन्ने हुन्छ। त्यस कारण ‘रिलिजन’ को वास्तविक अनुवाद पन्थ, मजहब वा मार्ग हुन्छ।
धर्मको बृहत् अर्थ छ। धर्मभित्र कर्तव्य, प्रचलित आचार पालना, कानून, दस्तुर, प्रथा, नैतिक गुण, भलाइ, चरित्र, न्याय, अधिकार, शालीनता, सत्सङ्ग, रीति, पवित्रता आदि कुरा पर्छन्। धर्ममा अरूलाई घृणा गर्ने वा दखल दिने कुरै हुँदैन। पुराणमा धर्म भएन भने पशु समान हुन्छ भनिएको छ। धर्म भएन भने निरङ्कुशता आउँछ।
कानून र नैतिकता फरक पाटा हुन्। कानून पालनाले मात्र पुग्दैन, सँगै नैतिकवान् पनि हुन सक्नुपर्छ। त्यस कारण धर्म निरपेक्ष हुनै सक्दैन। बरु, मत निरपेक्ष हुन सक्छ। ‘रिलिजन’ निरपेक्ष हुन सक्छ। शाब्दिक रूपमा हेर्दा पनि धर्मनिरपेक्षले गलत अर्थ दिन्छ। निरको अर्थ रहित हो, निर्जीव भने जस्तै। त्यस हिसाबले धर्मनिरपेक्षको अर्थ अधर्मी हुनु हो।