प्रज्ञा प्रतिष्ठानभित्र ‘क्रान्तिकारी’ गीतका धुनमा गम्भीर भएर धुम्म बसेका प्रचण्ड बाहिर भने एउटा बेलुनमा टाँसिएर उडिरहेका थिए।
हलभित्र नअटाएर आँगनभरि थुप्रिएका कार्यकर्ताहरू एउटा छेउमा ठड्याइएको ठूलो स्क्रीनमा स्पिकरमा बजेका ‘क्रान्तिकारी’ गीतमा नाचिरहेका थिए।
सुरूमा यो माओवादीको ‘प्रथम एतिहासिक राष्ट्रिय सम्मेलन’ थियो। र, रातारात त्यो ‘सम्मेलन’लाई उसले ‘आठौं अधिवेशन’ बनायो।
पखालिएका प्रचण्ड-बिम्ब
एउटा कार्यक्रमका लागि तयार भएका माओवादी कार्यकर्ताहरूलाई बिहानपख ब्यानरहरू फेर्न र कार्यक्रमको ढाँचा बदल्न भ्याइ नभ्याइ भयो। बिहानभरि प्रचण्ड आफैले सबै राजनीतिक दलका प्रमुखहरूलाई फोन गरेर ‘अधिवेशन’ उद्घाटन समारोहमा आइदिन निम्तो दिए।
हलको प्रवेशद्वारमै ठडिएको ‘महाधिवेशनको’ काँचा अक्षरहरूको बिम्ब सङ्लोपानीमा उत्रिएको थियो। प्रज्ञा भवनको परिसरभरि टाँगिएका पर्चा र पम्प्लेटहरूमा टाँसिएका प्रचण्ड तस्विरहरूले महाधिवेशनलाई ‘प्रचण्डमय’ बनाएको थियो। र, केहीबेरमा कार्यकर्ताहरूले उनको ‘कटआउट’ ल्याएर एकछेउमा ठड्याइदिए।