दुर्घटनामा निधन भएका सुनीलका बुबाआमा आइपुगे अमेरिका, सोमबार दाहसंस्कार हुने

बिएल संवाददाता

बाल्टिमोर (अमेरिका)

अमेरिकाको नेपाली समुदायमा केही समययता असामयिक मृत्यु हुने संख्या ह्वात्तै बढेको छ। वृद्धि हुनुको मुख्य कारण सडक दुर्घटना भए पनि हृदयाघात, गोली प्रहार, आत्महत्याका घटना पनि छिटपुट रूपमा भैरहेका छन्।

यसैक्रममा गत डिसेम्बर ११ मा पूर्वीतटीय राज्य मेरिल्याण्डको बाल्टिमोरमा भएको सडक दुर्घटनामा सुनील बराइलीको निधन भयो। नेपालको म्याग्दी जिल्ला मूलथलो रहेका बराइली उबर चालक थिए। गाडी चलाइरहेकै बेला मध्यराति उल्टो दिशाबाट आएको अर्को गाडीले ठक्कर दिँदा ३१ वर्षीय बराइलीको दु:खद निधन भएको थियो।

श्रीमती र दुई छोराछोरीसँग स-परिवार अमेरिकामै रहेका बराइलीको दाहसंस्कार गृहसहर बाल्टिमोरमै सोमबार मध्यान्ह १२ बजे गरिने भएको छ। दाहसंस्कारका लागि बराइलीका बुबा पशुपति विश्वकर्मा र शान्ति विश्वकर्मा यतिबेला अमेरिका पुगेका छन्।

बुढेसकालको सहारा छोराको दाहसंसकारका लागि अमेरिका पुगेका पशुपति र शान्तिको आँखामा अझै पनि आँसु ओभाएको छैन। आमा शान्ति त केही बोल्न सकिनन् तर बुबा पशुपति भने,'बूढेसकालमा छोराको दाहसंस्कार गर्न आउनुपर्यो। एउटा बाबुको लागि योभन्दा दु:खको क्षण के होला र ?'

म्याग्दीमै शिक्षक रहेका पशुपतिले भने,'मलाई यहाँ आउन सहज भयो। एकै दिनमा पासपोर्ट बन्यो। एकै दिनमा अमेरिकाको भिसा लाग्यो।'

यसका लागि उनले मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीलाई धन्यवाद दिए। उनले अगाडि भने, 'डेलिगेट भण्डारीले परराष्ट्र मन्त्रालयमा फोन गरिदिनु भएको रहेछ, महानिर्देशकज्यू नै आएर एकै दिनमा पासपोर्ट बनाइ दिनु भयो। अमेरिकी दूताबासमा पनि डेलिगेट भण्डारीले सिफारिस पठाइदिनु भएको रहेछ। अन्तर्वार्ता नै नलिई सामान्य परिचय भेरिफाइ गरेर भिसा पाएँ।'
अमेरिकामा छोराको निधन भएको १३ दिनमै सारा प्रक्रिया पूरा गरेर अमेरिका आउन सकियो। यस्तो कोरोनाको बेला पनि यति सहज वातावरणमा आउन सकियो, यसका लागि सबैप्रति आभारी छु।

छोराको दाहसंस्कार गरेपछि उसलाई न्याय दिलाउन लागिपर्ने बताउँदै पशुपतिले भने,'उसको ज्यान अनाहकमा लिइयो। उसमाथि न्याय हुनुपर्छ। त्यसो भयो भने मात्र उसको आत्माले शान्ति पाउँने छ।'

कोरोना महामारी यता अमेरिकामा असामयिक निधन भएका नेपालीको दाहसंस्कारको व्यवस्थापनमा लागिरहेका मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारी भन्छन्, 'सुनील भाइमाथि ठूलो अन्याय भएको छ। उनको अनाहकमा ज्यान गएको छ। हामी उनीमाथि न्याय दिलाउन प्रयत्न गर्नेछौं। म यसका लागि संसदमा पनि कुरा उठाउने छु।'

अमेरिकामा नेपाली मूलका पहिलो डेलिगेट भण्डारी दाहसंस्कार व्यवस्थापनका बारेमा भन्छन्, 'नेपालीमा एउटा भनाइ नै छ। बाँच्दाको जन्ती मर्दाको मलामी। म बाँच्दाको जन्तीभन्दा पनि मर्दाको मलामी हुन रोज्छु। अमेरिकामा मृतकको शव व्यवस्थापन महंगो मात्र हैन, झन्झटिलो मात्र पनि छ। म त्यसको व्यवस्थापनको संयोजन गरिरहेको छु। मेरो राज्य मेरिल्याण्डका मात्र हैन, अमेरिकाका जुनसुकै राज्यका नेपालीलाई पनि सहयोग चाहिए चौविसै घण्टा उपलव्ध छु। बितेको एक वर्षमा २५ नेपालीको शव व्यवस्थापन गर्न सकियो। परिवारको इच्छाअनुसार केहीको शव नेपाल पठाइयो भने केहीको अमेरिकामै दाहसंस्कार गरियो।'

अमेरिकामा बढ्दो संख्यामा नेपालीले सडक दुर्घटनामा ज्यान गुमाइरहेको घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै डेलिगेट भण्डारी भन्छन्,'जीवनलाई माया गरियो भने आधा दुर्घटना कम हुन्छन्, होसियारीपूर्वक नियम पछ्याइयो भने अरू एकतिहाइ समस्या समाधान हुन्छन्। बाँकि केही घटना आफ्नो गल्ती नहुँदा पनि हुन्छन् , जसलाई अपवादमा राख्नुपर्छ।'

प्रकाशित मिति: : 2021-12-27 08:40:00

प्रतिकृया दिनुहोस्