गगन थापालाई प्रश्न– अब तपाईंको लक्ष्य प्रधानमन्त्री कि पार्टी सभापति ? [अन्तर्वार्ता]

लोकान्तर

सुशील पन्त

कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाको निवास रातोपुलमा शुक्रवार बिहान देशका विभिन्न जिल्लाबाट आएका कांग्रेस नेता/कार्यकर्ताको भीड थियो 

डेमोक्रेटिक चिकित्सक संघलगायत संगठित तप्का पनि गगनलाई बधाई दिन आइपुगेको थियो । त्यही बेला पार्टी सभापति शेरबहादुर देउवाबाट गगनलाई छलफलका लागि बोलावट भयो । 

महाधिवेशनपछिको व्यस्तताबीच लोकान्तरसँग छोटो कुराकानी गर्न गगन राजी भए ।

कांग्रेस महाधिवेशनको समीक्षा र महामन्त्रीका रूपमा भावी योजनाबारे लोकान्तरका लागि सुशील पन्तले गगन थापासँग कुराकानी गरेका छन् । 

प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन कांग्रेसवृत्तमा मात्र नभई राजनीतिमा ज्यादा चासो नराख्ने सर्वसाधारणमाझ पनि चर्चा र रुचिको विषय बन्यो । कांग्रेस महाधिवेशनले कांग्रेस बाहिरको तप्कालाई पनि किन आकर्षण गर्‍यो जस्तो लाग्छ ?

नेपाली कांग्रेस सँगसँगै अन्य दल (खासगरी एमाले)को महाधिवेशन भयो । त्यो महाधिवेशनभित्र नेतृत्वले एकदमै सीमित प्रतिस्पर्धा गराएको थियो । त्यो पार्टीभित्र संस्थापन पक्षसँग भिन्न मत राख्ने नेतृत्वमा आउनै नसकेको परिवेश बनेको थियो । कांग्रेसको महाधिवेशनमा पार्टीभित्र निर्वाचनको माध्यमबाट नेतृत्व चयन भयो । त्यसले अरू पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा नभएपनि कांग्रेसमा भयो भनेर सुखद् अनुभूति भयो । 

कुनै पनि दलमा आवद्ध नभएको मानिसलाई कांग्रेसको अधिवेशनले आकर्षित गर्न सक्यो । कता–कता मलाई पनि पार्टीको महामन्त्रीमा पुग्दै गर्दा शुभेच्छा प्रकट गर्ने, बधाई दिने पंक्ति हेर्दै गर्दा देख्छु, ऊ पार्टीको कार्यकर्ता होइन । मलाई प्राप्त भएका एक दुईवटा बधाई सन्देशमा बल्ल हाम्रो पुस्ताले हाम्रो भनेर आइडेन्टीफाइ गर्न सक्ने पुस्तालाई पार्टी पंक्तिमा देख्यौं, भनेर लेख्नुभएको छ । 

प्रकाशित मिति: : 2021-12-24 20:01:00

प्रतिकृया दिनुहोस्