भिरालो गोरखा सदरमुकाको सिरानतिर ‘गोरखा दरबार संग्रहालय’को बोर्ड झुन्डिएको छ। करिब ६० रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालय नेपाल एकीकरणको ज्युँदो इतिहास भन्छ, कथा सुनाउँछ अनि शाहकालीन सामरिक र आर्थिक समृद्धिको बखान गर्छ।
दरबारको गेटमै तोप ठड्याइएको छ। हेर्दा लाग्छ,‘गोरखाली सेना अहिले पनि त्यो तोपको पछाडि वीरता प्रदर्शन गर्न तम्तयार छन्।’ तल पृथ्वीनारायण शाहको सालिक छ। पृथ्वीनारायण उसैगरी औँला ठड्याइरहेका छन्। परिसरका ठूल्ठूला पिपलका रूखहरू, जो वर्षौं पुराना छन् र फेद मक्किने अवस्थामा पुगेका छन्। तर, पनि रुँगिरहेका छन्, दरबारलाई, हेरिरहेका छन्, त्यहाँको गतिविधि र भनिरहेछन्, ज्युँदो इतिहासका ती कथाहरू।
हो, गोरखा। जहाँबाट एकीकरण सुरु भयो थियाे। तत्कालीन राजा पृथ्वीनारायण शाहले यही ठाउँबाट नेपाल एकीकरण सुरु गरेका थिए। बाइसे, चौबिसे राज्यमा विभाजित नेपाललाई एउटै मालामा उन्ने काम गरेका थिए। गोरखा दरबार संग्रहालयदेखि करिब १०, १२ किलोमिटर माथितिर गोरखा दरबार छ। २०७२ को प्रलयकारी भूकम्पले केही भाग भत्कायो। भूकम्पले तहसनहस पारेको यो दरबार अझैसम्म निर्माण हुन सकेको छैन। दरबारको पहिलो तला हाल्ने काम मात्रै सकिएको छ। तत्कालीन राजाराम शाहले वि.सं. १६६८ मा बनाएका रहेछन् यो दरबार। भूकम्पले भत्काएको यो दरबारमा पुग्दा भने भग्नावशेष बाहेक अरु केही देख्न सकिन्न। पुन निर्माणको लागि ०७४ मा ठेक्का सम्झौता भएको दरबारको निर्माण सकिने अन्तिम म्याद ०७६ मंसिर मसान्तलाई तोकिएको रहेछ। तर, पूरा काम भने हुन सकेको छैन।
यसरी, एकिकरणको केन्द्रबिन्दु ओझेलमा पर्दै गयो
टुक्रा टुक्रामा विभाजित नेपाल एकिकरणको थालनीकर्ता पृथ्वीनारायण शाहले गरे। उनको यो अभियानमा उनी पछिको पुस्ताले पूरा गर्यो। अनि, बाइसे, चौबिसे राज्यमा विभाजित नेपाल एउटै भयो।
गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकिकरण थाल्नुअघि पनि नेपाल एउटै थियो। बाइसे, चौबिसे राज्यमा विभाजित थिएन। पृथ्वीनारायण शाहले त राज्यको पुन एकिकण मात्र गरेका हुन्।
‘लिच्छिविकालमा पनि यत्रै–यत्रै थियो रे ! हाम्रो नेपाल भन्ने भनाई छ,’ नेपाल एकिकरणबारे उनले पौराणीक कथन सुनाए,‘मध्यकालमा १६औं, १७औं शताब्दीतिर टुक्रिएर गण्डकीतिर २४ र कर्णालीतिर बाइसे राज्य थियो भन्ने भनाई छ।’
नेपालमा शाह वंशीय पहिला राजा द्रव्य शाह मानिन्छन्। द्रब्य शाहले लिगलिग कोटको दौड जितेपछि राजा भएका हुन्, भनिन्छ। वि.सं. १६१६ मा द्रव्य शाहले स्वतन्त्र राज्य स्थापना गरिसकेपछि उनका अरु राजाहरुले पनि त्यो राज्यलाई ठूलो बनाउने प्रयासहरु गरेका थिए। त्यसलाई मूर्त रुप चाहिँ पृथ्वीनारायण शाहले दिएका हुन्।
शाह राजाहरुको उद्गम थलो गोरखा हो। शाह राजाहरुको पुख्र्यौली थलो गोरखा भएकै कारण एकिकरणको बिजारोपण भएको, कुटनीतिक किस्साहरु दरबारसँगै आएर जोडिन्छन्। पुख्र्यौली थलो गोरखा भएपछि सबै कुरा त्यसैमा आएर जोडिनेमा त कुनै दुई मत नै रहेन्।
दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालका अनुसार माथिल्लो दरबार गोरखाको मुल दरबार हो भने दरबारसँग सम्बन्धित ऐतिहासिक महत्वका बस्तुहरु तल्लो दरबारमा राखिएको छ। जसलाई गोरखा दरबार संग्रहालय भनिन्छ। शाह राजाहरुले माथिल्लो दरबारबाटै आफ्ना कामकारबाही गर्ने हुनाले पनि माथिको दरबार मुल दरबार हो। तत्कालीन राजा पृथ्वीनारायण शाह पनि माथिल्लो दरबारमा जन्मिएका थिए।
विकिपिडियामा भनिएको छ,'पृथ्वीनारायण शाहका बावु नरभुपाल शाहले नुवाकोटमाथि आक्रमण गर्दा हार व्यहोरेका कारण उनको पहिलो ध्यान नुवाकोटमाथि थियो। गोेरखाली राजाहरुले तेस्रो प्रयासमा नुवाकोट आफ्नो पक्षमा लिन सफल भएका थिए।'
नुवाकोट जित्नुअघि १६१६ पछि १८०१ सम्म पनि राजधानी भने गोरखा नै थियो। नुवाकोटमाथि विजय प्राप्त गरिसकेपछि दरबार पनि क्रमश नुवाकोट तिरै सर्यो। नुवाकोटपछि हनुमान ढोकातिर आयो। एकिकरणसँगै राजधानी पनि क्रमश सर्दै आएपछि गोरखा दरबार अरु भाइ भारदार मात्रै बस्ने ठाउँ भएको दरबार हेरचाह अड्डाका प्रमुख भुसालले जानकारी दिए।
‘केन्द्र बिन्दुको रुपमा रहेको ठाउँ बिस्तारै सर्दै आयो। क्रमश ओझेलमा पर्दै आएको कारण त्यो हो,’ उनले भने।
यो ऐतिहासिक महत्वको दरबारको संरक्षणको लागि सरकारी निकायले के गरिरहेकोे छ ? हामीले सोध्यौं। सरकारी तबरबाट ऐतिहासिक महत्व रहेको दरबारको जर्गेना गर्न प्रबद्र्धन गर्नको लागि हेरचाह किल्ला छुट्याएर स्मारक संरक्षण ऐन अन्तर्गत समावेश गरी त्यहाँका मनुमेन्टहरु कन्जर्भेसन गर्ने कामहरु भएको उनले सुनाए।
‘मनुमेन्टहरु संरक्षण गर्ने गरेर त्यहाँ एउटा कार्यालय स्थापना भएको छ,’ उनले भने। भूकम्पले क्षति पुर्याएका संरचनाको पुन निर्माणको काम पनि अहिले चलिरहेको छ। शाह राजाहरुले कालिका र गोरखनाथमा गर्ने पूजा–आजा, सांस्कृतिक गतिविधिहरु अहिले पनि चलिरहेका छन्।