काठमाडौंको खाल्डोभित्र ओर्लिएपछि बिदेशी पर्यटकले एकपटक अनिवार्य टहलीन जाने ठाउँ। स्वदेशीका लागि थर्मसमा बोकेको मिठो चिया खानलाई मात्र भएपनि एकछिन जमघट हुने ठाउँ। अर्थात्, बसन्तपुर दरवार क्षेत्र।
दिनमा सयौँ मान्छे पुग्छन् यहाँ। तपाईं पनि पुग्नु भएको छ भने नेपाली पोसाक लगाएको र हातमा अग्लो नेपालको झण्डा बोकेर फहराइरहेको मान्छे देख्नु भएको छ होला नी है?
उनी हुन्, तपाईं हाम्रो जङ्गी निसान हातमा लिएर फहराइरहेका ६५ वर्षीय लक्ष्मीनारायण सिल्पकार। हातमा नेपालको राष्ट्रिय झण्डा, शरिरमा राष्ट्रिय पोषाक दौरा-सुरुवाल, सिरमा नेपाली ढाका टोपी र बाहिर कालो स्टकोट। झल्किएन त नेपाली पन?
स्वदेश र बिदेशबाट एकफेर बसन्तपुर घुम्न जानेहरुका लागि आकर्णका केन्द्र पनि हुन्, लक्ष्मीनारायण। दिनमा सयौँ आगन्तुकले उनीसँग नेपाली राष्ट्रिय झण्डा हातमा बोकेर उनीसँग सेल्फी खिचिरहेका हुन्छन।
राष्ट्रिय झण्डा हातमा फहराउँदै र उनीसँगको सेल्फी फोटो खिचिसकेपछि अधिकांसले उनिसँग एउटै प्रश्न गर्छन। 'घर कहाँ हो बाजे तपाइको?'
लक्ष्मीनारायण सिल्पकार को हुन्? उनैबाट सुनौ है त।
'मेरो जन्म भक्तपुरमा भएको हो। बसाइँ कालीमाटीमा छ। काम नेपाली राष्ट्रिय झण्डा बोकेर बस्छु।' नेपालमा लक्ष्मीनारायण सिल्पकार मात्रै एउटै ब्यक्ति हुन्, जसले गएको १५ वर्षदेखि नेपाली राष्ट्रिय झण्डाको प्रचार र प्रवर्दन गर्दै आइरहेका छन। 'म झण्डा बोकेरै नेपालका ७५ जिल्ला पुगेको छु।' त्यसैले होला लक्ष्मीनारायण सिल्पकारलाई 'राष्ट्रिय झण्डा बा' भनेर पनि अधिकांसले चिन्ने गर्छन।
तपाईंंहरु कसैलाई २०६२/६३ सालको जनआन्दोलानको याद छ? त्यो वेला अधिकांस आन्दोलनमा अग्लो नेपालको राष्ट्रिय झण्डा बोकेर हिँड्ने आन्दोलनकर्ता पनि लक्ष्मीनारायण सिल्पकार नै हुन्। काठमाडौँमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कुनै पनि कार्यक्रम भयो भने उनी अग्लो राष्ट्रिय झण्डा बाेकेर हिँडिहाल्छन। 'यसले मेरो घर चल्छ नै, नेपालको राष्ट्रिय झण्डाको प्रचारप्रसार हुन्छ। बडो खुसी लाग्छन।'
कसरी यो राष्ट्रिय झण्डा फहराउने काममा आइपुग्नु भयो?
उनी सम्झिन्छन '१६ वर्षअघि मोओवादी राष्ट्रिय राजनीतिमा आउनेवेला बहस सुरु भयो। नेपालको राष्ट्रिय झण्डा पनि परिवर्तन गर्ने।' उनलाईंं यो कुरा चित्त बुझेन। हामीले भनेर सुन्ने त कसैले थिएनन। हाम्रो गौरव,राष्ट्रियता र शानको प्रतिक झण्डा परिवर्तन गर्ने कुराले पोल्न थाल्यो।
'त्यो बेला त राष्ट्रिय झण्डको प्रवर्दन, प्रचार र सुरक्षाको लागि भनेर ठूलो झण्डा बोकर हिँडन थालेँ। पछि पर्यटकहरु आएर फोटो खिचाउँदै पैसा दिएर जान थाले। बिस्तारै आयस्रोत नी बन्न थाल्यो।'
उमेरले ६५ वर्ष काटे पनि जाँगरिला र फुर्तिला देखिने सिल्पाकारले झण्डा अभियानका क्रममा सयौँ तिता र मिठा अनुभव संगालेका छन। झण्डा बोकेर डोल्पा जाँदा झण्डै भेरीमा खसेका थिए। 'साँधु तर्ने बेला हावा लाग्यो। ठूलो झण्डा नियनत्रण गर्न गार्हो भयो। धन्न बाँचेर आएँ। अहिले सम्झिदा जिउ सिरंग हुन्छ।' उनले त्याे घर लाग्दाे पल सुनाए।
पश्चिमको बाजुराबाट जाँदाका दुखद अनुभवहरु नि छन्, उनीसँग। 'बिकट गाउँमा राष्ट्रिय झण्डा बोकेर हिँडेको म बुढोलाई कतिले गिज्याए।' उनी अगाडि भन्छन,'राष्ट्रिय पोसाक र महत्व नबुझेकाहरुले गिज्याए दुख लाग्दैन तर जब पढेलेखेकाहरुले गिज्याँउछन तब दुख लाग्छ।'
राष्ट्रिय झण्डाको मान मर्दन गर्न पर्ने ब्यक्तिहरुले नै गिज्याएपछि भने कति ठाउँमा मन पोलेको छ उनकाे। तत्कालिन ओखलढुंगाका प्रखुख जिल्ला अधिकारले 'पार्टीको झण्डा बोकेर हिँड्नुस यो झण्डा बोकेर काम छैन' सम्म भने। त्याेबेला जवाफ फर्काउन नसकिएपछि यी यस्ता घटनाहरुले उनलाई अहिले पनि घोचीरहन्छन।
हिमाल, पहाड तराइलाई जोडने यो राष्ट्रिय झण्डा हाम्रो गौरव हो भन्दै हिँड्दा कति ठाउँमा राष्ट्रिय झण्डा जलाउन खोज्ने समूहहरुसँग छल्दै हिँडन पर्यो। 'झण्डा बोकेर हिँडछस, राजावादी होस्, तलाई ठिक पार्छु' भन्नेसम्मका धम्कीहरु भेटेका छन उनले। 'हाम्रो राष्ट्रिय झण्डा र राष्ट्रिय पोसाकप्रति पनि आस्था नराख्ने नेपाल नेपाली नै होइनन् भन्छु म।'
बिचार फरक–फरक भएपनि राष्ट्र र राष्ट्रियताका बिषयमा कम्तिमा सबैको एउटै बिचार हुनुपर्ने बताउने लक्ष्मीनारायण भन्छन,'सरकारले राष्ट्रिय झण्डा दिवस मनाउन थालेकोमा भने मलाई बडो गर्व लागेको छ। सरकारलाई धन्यवाद सुनाइदिनु है।'
आर्काइभ