‘काठमाडौंका सडक फोहोररहित।’
यो समाचारको हेडलाइन होइन। न कुनै नेताले दिएको भाषण।
यो त ओखलढुंगा, चिशंखुगढीका लालबहादुर श्रेष्ठको प्रयास हो। २० वर्षदेखिको अभ्यास हो। कर्म हो, धर्म हो।
आमा-बाका कान्छा छोरा हुन् लालबहादुर। २०५६ सालमा माइलो दाजुले घर छडेर हिँडे। जेठो दाजु खेती-किसानीमा नै व्यस्त।
माइला दाजुले गाउँमा नै केही गर्ने सोचले किराना पसलको होलसेल गर्ने निर्णय गरे। सोही अनुसार घरबारी र खेत गाउँका धनीमानीको सिरानीमुनि तमसुक बनेर पस्यो।
व्यापार सोचे जस्तो भएन। साहुले दिनदिनै दैलो ताक्न थाले। माइला दाजुको घर छोडेर हिँड्नुको कारण यही थियो।
पसलमा भएको सामान रित्याउँदा पनि चार लाख ऋण बाँकी बस्यो। साहुको तारन्तारको घरबारी खाइदिने धम्कीले लालबहादुरले पनि घर छाड्ने निर्णय गरे। उनले घर छाड्दा भने परिवारको साथ थियो।