अमेरिकामा फर्कियो काेराेना कहर: दिनहुँ चारसयभन्दा बढी मानिसको मृत्यु

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका
Breaknlinks
AFP VIA GETTY IMAGES

अमेरिकामा शनिबार मात्र कोभिड-१९ बाट मर्नेको संख्या ४८७ पुगेको छ।

यो पछिल्लो संख्यासँगै २०२० को फेब्रुअरी २८ मा कोभिड-१९ बाट मृत्यु भएको पहिलो घटना दर्ता भएयता अमेरिकाले आठ लाख २७ हजार २०६ जनालाई औपचारिक रूपमै ‘अलविदा’ भनिसकेको छ।

एकसमय यो महामारीबाट लगभग मानिस मर्न छोडेको अमेरिकामा पछिल्लो समय आएका नयाँ नयाँ भेरियन्टका कारण मानिसको मृत्युग्राफ बढेको हो। पहिलो चरणमा मृत्यु हुनेमा आप्रवासी र अन्य वर्णका मानिसको संख्या ठूलो देखिए पनि दोस्रो चरणमा श्वेत वर्णका मानिसको संख्या उल्लेख्य पाइएको छ।

सबै किसिमका खोपहरू नि:शुल्क उपलव्ध गराउँदा पनि खोप नलगाउने मानिसको संख्या ठूलो मात्रामा छ। अझै पनि एकखाले दक्षिणपन्थी अमेरिकीहरू प्रभुको कृपाले कोभिड १९ ले आफ्नो केही नबिगार्ने ठान्छन् र खोप लगाउनु प्रभुको इच्छा विपरित भएको मान्यतामा अडिग छन्।

सामान्यत: आफू पनि खोप नलगाउने र अरूलाई पनि खोप लगाउन दुरूत्साहन गर्ने यही मान्यताका मानिसहरू पछिल्लो चरणमा ज्यान गुमाइरहेका छन्। जाडो बढेसँगै अमेरिकामा एक किसिमको फ्लु (रूघाखोकी) पनि ह्वात्तै बढेको छ। यही कारण मानिसमा कोभिड १९को संशय बढ्दा अस्पतालको आकस्मिक कक्षमा ठूलो मात्रामा अमेरिकीहरू पुगेका छन्।

कतिपय अस्पतालमा घण्टौ लाइन लाग्नुपरेको र कतिपय अस्पतालले सेवा दिन असमर्थ रहेको बताएपछि केही राज्यमा सेनालाई पनि उपचारमा उतारिएको छ।

दोस्रो चरणको कोभिड १९ को लहरसँगै खोप लगाउने र त्यसमा पनि बुस्टर लगाउनेको संख्या ह्वात्तै बढेको तथ्यांक बाहिर आएको छ। यसली संघीय सरकारले पनि सकारात्मक रूपमा लिएको बताइन्छ।

विश्वको एक मात्र महाशक्ति भनेर दाबी गर्ने अमेरिका कोभिड १९ बाट मानिस गुमाउने देशमा पनि नम्बर १ रहेको छ। पहिलो चरणमा केही नेपालीको निधन भए पनि दोस्रो चरणमा कस}को पनि मृत्यु भएको समाचार बाहिर आएको छैन। यद्यपि, ठूलो नेपाली डायस्पोरा रहेका अमेरिकी सहरमा कोभिड-१९का फाट्टफुट्ट विरामी देखिएका छन्।

प्रकाशित मिति: : 2021-12-20 04:27:00

प्रतिकृया दिनुहोस्