‘राज्य निर्माण’ (स्टेट-बिल्डिङ) र ‘राष्ट्र निर्माण’ (नेशन-बिल्डिङ) झट्ट सुन्दा उस्तै लाग्ने तर अन्तर्यमा पर्याप्त भिन्नता भएका अवधारणा हुन्। राज्य निर्माण-राज्य संरचना, विधि, पद्धति र प्रणालीसँग सम्बन्धी अवधारणा हो भने राष्ट्र-निर्माण अझ दीर्घकालीन महत्वको रणनीतिक सोच हो। राष्ट्र-निर्माणको अवधारणाले पृथ्वीको कुनै खास भूखण्ड, क्षेत्र वा राज्यका जनताको भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक र आध्यात्मिक जीवन पद्धति कस्तो बनाउँदै लैजाने भन्ने एक बृहत् उद्देश्य वा परिकल्पनालाई व्यक्त गर्दछ।
राज्यका संरचना, सोच, नीति, प्रणाली र पद्धतिले मानवीय मनोविज्ञानलाई फेर्न वा नयाँ ढंगले आकारित गर्न ठूलो भूमिका खेल्दछन्। तर, राज्यले चाहँदैमा मानवीय विविधता, ऐतिहासिकता, सम्पदा र संस्कृतिका विरासत सजिलै अन्त्य हुँदैनन्। जस्तो- काठमाडौं केन्दि्रत शाहवंशीय एकात्मक राज्यले नेपाललाई करीब २४० वर्षदेखि ‘एक भाषा, एक भेष’ भएको देश बनाउन त खोज्यो तर, सकेन। न भाषा एक भयो न भेष एक भयो। राज्यको ‘एक भाषा, एक भेष’ नीतिको बावजूद भाषिक/सांस्कृतिक विविधता कायमै रहे। समाजको बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक चरित्र जीवितै रहृयो। राज्यले चाहँदैमा राष्ट्रका विशेषता सजिलै फेरिंदैनन् भन्ने प्रमाण हो यो।