कहिल्यै बूढो हुँदैन, मन !

Breaknlinks
Breaknlinks

जीवन सुन्दर प्राकृतिक अवसर हो। चाहेर मात्रै जन्म हुँदैन। जन्म सबैभन्दा ठूलो संयोग हो। आविष्कार हो। सुन्दर र अनुपम सिर्जना हो। उपहार हो। जन्मपछि जीवनको सुरूवात हुन्छ। जीवनको खोजी गर्नु एक प्रकारकाे कला हो। यसको अर्थ जिउनु अर्थात् भोग्नुमै हुन्छ।

भोगाईको कुनै परिभाषा हुँदैन्। समय बित्दै जाँदा यसले आफ्नाे प्रतिफल देखाउँदै जान्छ्। जे छ वा हुन्छ अथवा हुनेछ त्यो नै जीवनको सार्थकता हो।

जीवनका आयामहरूलाई केलाउदै भोग्दै रमाउदै आनन्दित हुँदै अगाडि जानुपर्छ। जीवन– कुनै गन्तव्य होइन। यो एउटा सुन्दर बाटो हो। जीवनको खोज र अनुसन्धानले हामीलाई बाध्यता वा रोजाइँसम्म पुर्‍याउँछ।

मानवीय, पारिवारिक र सामाजिक पाटाहरू हुन्छन्, जीवनमा। बौद्धिक, संवेदनशील र जिम्मेवार छ्न्। पढ्नुपर्ने, जागिर गर्नुपर्ने, विवाह गर्नुपर्ने, छोराछोरी जन्माउनुपर्ने, पालनपोषण गर्नुपर्ने, पढाउनुपर्ने अभिभाराहरू छ्न्। उत्तरदायित्वहरू पनि छ्न्।

अलिकति परिवारले, अलिकति समाजले र धेरैजसो आफैंले निर्धारण गर्ने कुरा हुन्। जीवनलाई स्वभाविक वा अस्वभाविक, बोझ वा रोज मान्ने, भोग गर्ने वा प्रयोग गर्ने कि मोज गर्ने यी कुराहरू मानिसमाथि निर्भर गर्दछ।

मानिसले पारिवारिक र सामाजिक जीवनमा नै आफ्नो जीवनको 'सार्थकता देख्ने' वा 'बोझ देख्ने' त्यो जिम्मा स्वयंको हुन्छ। उत्तरदायित्व वहन गर्ने कुरालाई कसैले बाध्यता मान्दछन् त कसैले रोजाइँ! जीवनको दार्शनिक खोज–भोग, दर्शन र दृष्टिकोणले यसको छिनोफानो गर्छ। जीवन प्रतिको दृष्टिकोण, आदर्श, करुणा र मूल्यले हामीलाई खेदो गरेको हुन्छ।

विचारबाट निर्देशित हुने हामीहरू– जे चाहन्छौं त्यो पाउँछौं। विचारको बिज जस्ताे रोप्छौं, त्यस्तै योजना रुपि रुख र लक्ष्य रुपि फल लाग्छ। अमृतवृक्ष रोपे अमृत र विषवृक्ष रोपे विष फल्छ।

जीवनमा दु:ख छ। असफलता छ। अज्ञानता छ। गरिबी छ। बाध्यता छ। यी सबै सापेक्षित कुरा हुन्। समयसँगै परिवर्तन हुन्छ्न्ः दु:ख- सुखमा, असफलता-सफलतामा, ज्ञानमा, गरिबी, सम्पन्नतामा, बाध्यता–रहरमा बद्लिन सक्छ। नबद्लिन पनि सक्छ। पुनः बद्लिन्छ पनि। खाली प्रक्रियामा समय लाग्छ।

यो सबैको लागि बोध र धैर्यताको आवश्यकता पर्छ। सत्य लागेको असत्य र असत्य लागेको सत्य पनि हुन सक्छ। खासमा जीवन भनेकै धैर्यता र बोधको लामो यात्रा हो। अझ खासभन्दा एक सत्य जस्तै लाग्ने भ्रम हो। एक भ्रमबाट अर्को भ्रम सम्मको यात्रा हो। र हामी  यात्री।

हामीले जीवनलाई भारी, बोझ र बाध्यताको रुपमा हेर्नु हुँदैन। चाँहे अरुले जस्तोसुकै देखोस् या वास्तविकता नै किन नहोस तथापि त्यो पनि परिवर्तन हुने कुरा हो भन्दै सुन्दर जीउने अवसरको रुपमा लिँदै उच्चतम विवेकको प्रयोग गर्दै बाँच्नुपर्छ। हाँसो–ठट्टालाई पनि हिस्सा बनाउनुपर्छ। स्टिफन हकिङ्ग भन्छ्न्, 'जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो–ठट्टा गरेनौं भने यो सत्य कुरा हो।'

यदि हामीले बाध्यताको जीवन बाँच्छौं भने हाम्रो शारीरिक, मानसिक, बौद्धिक र आत्मिक क्षमतालाई सीमित गर्छौं। स्वतन्त्रता नष्ट गर्छौं। जीवनको सही अर्थ निर्माण गर्न सक्दैनौं। कुनै पनि बिषय र क्षेत्रमा गहिरिन सक्दैनौं।

भनिन्छ– शरीर बूढो हुँदै जान्छ। मन अझ् परिपक्व हुँदै जान्छ। कहिल्यै बूढो हुँदैन- मन। असीमित शक्ति  मनसँग हुन्छ। जति भोग्दै गयो त्यति बुझ्दै गयो। जीवन झन्–झन् अर्थपूर्ण र मूल्यवान हुँदै जान्छ। मर्ने बेलामा त जीवनको मूल्य चुलिएर सगरमाथामा बन्छ। थोरै वातावरणले र बाँकी सबै मन र मस्तिष्कले जीवनलाई कसरी लिने र चलाउने भन्ने निर्धारण गर्छ।

मानिसका आ–आफ्ना बुझाई र भोगाई हुन्छन्। यस्तो फरकपन हुनु नै मान्छे हुनु हो। यात्रा आफैं गर्नुपर्छ। यात्री त कतिबेला बाटो बन्नुपर्छ। त्यसमा पनि बाटोहरु अलग–अलग हुनसक्छन् तर गन्तव्य एउटै छ। आखिर सबैको जीवनको यात्रा असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, असफलताबाट सफलता तर्फ, अंशबाट पूर्णतातर्फ र मृत्युबाट अमरतातर्फको नै हो र हुनुपर्छ। हामीलाई जीवनको बाध्यताले होइन् रोजाइँले नै यी प्रक्रियाहरु तर्फ धकेल्छ।

पेटभरि खान, आङभरि लगाउन र बस्नको लागि छानो, मानिसको जीवनको वास्तविक रोजाइ होइन्। तर, यो नहुँदा रोजाइँ पूरा गर्न सकिदैन्। यी कुराको जोहो गर्न कति समय लाग्छ थाहा छैन्, त्यसैमा हराइन्छ कि रोजाइँसम्म पुगिन्छ। समयले नै बताउँछ तर कोही महमा डुबेको झिंगो बन्छ्न् डुबिरहन चाहान्छ्न् कोही केहिबेर रस चुसेर फेरि खोजको उडान भर्न चाहन्छ्न्। आफैमा भरपर्ने कुरा भयो। मानिसले चाह्यो भने सक्छ।

प्रकाशित मिति: : 2022-07-09 08:29:00

प्रतिकृया दिनुहोस्