‘उत्साह, एकता, रुपान्तरण’– नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको मूल नारा हो यो। चौधौँ महाधिवेशनपछिको कांग्रेसको ‘स्केच’ दिने उक्त नारा प्रवेशद्वारको सजावटमै सीमित रहिरहने छ– शेरबहादुर देउवा नै पुनः सभापतिमा निर्वाचित भएपछि।
सिद्धान्ततः कांग्रेस ‘समाजवादी’ पार्टी हो। ‘रूख’ उसको चुनाव चिन्ह हो तर कांग्रेसको अहिलेका केन्द्रीय नेतालाई समेत थाहा छैन– त्यो केको रुख भनेर। एक प्रसंगमा उक्त प्रश्नको जवाफमा एक जनाले भनेका थिए, ‘आँपको रूख’ भनेर। कांग्रेसको रूख ‘पीपल’ हो भनेर थाहा छैन कांग्रेस जनालाई। सिद्धान्त कत्तिको सिकाएको छ भन्ने कुराको प्रमाण यत्ति काफी छ।
कांग्रेसले महाधिवेशनको मूल नारामा राखेको छ–‘एकता’, ‘रूपान्तरण’। सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित भएका छन् तर चौधौँ महाधिवेशनमा उनको कुनै ‘सैद्धान्तिक दस्तावेज’ नै सार्वजनिक भएको छैन। उनले महाधिवेशन प्रतिनिधिसमक्ष कुनै पनि ‘अवधारणा–पत्र’ वा राजनीतिक दस्तावेज प्रस्तुत नै नगरी चुनाव जितेका छन्।
यसबाट देउवामाथि त प्रश्न उठ्छ नै, उनलाई मत दिने महाधिवेशन प्रतिनिधिको योग्यतामाथि पनि स्वाभाविक रुपमा प्रश्न खडा भएको छ। सभापतिमा निर्वाचित देउवाले समाजको रुपान्तरण कसरी गर्छन् ? पार्टीभित्र वा सिंगो देश कसको एकताको कुरा गरेका हुन् ? त्यो एकता कसरी कायम गर्छन् ? उत्साह भर्ने देशमै हो कि कार्यकर्तामा ? त्यो कसरी ? भन्ने प्रश्नको जवाफ उनले प्रस्तुत गरेका छैनन्।
‘राजनीति चुनावदेखि चुनावसम्म’ सीमित छ– कांग्रेस राजनीति। बाहिरबाट हेर्ने सबैको आमधारणा छ– देउवाले पुनः सभापति जित्नु भनेको रुपान्तरणको अभियानमा कम्तिमा पाँच वर्षका लागि पूर्णविराम लाग्नु हो। यसलाई देउवाले गलत सावित गर्न सक्नुपर्छ। अनि मात्र कांग्रेसले युगको नेतृत्व गर्नसक्छन्।
देउवाको एउटा खुबी छ– त्यो भनेको नेपालका नेताको मानसिकता बुझ्नसक्ने। त्यही क्षमताका कारण उनी ०५३ सालमा पहिलोपटक प्रधानमन्त्री भएका उनी ०७८ सालमा आइपुग्दा पाँचौँ पटक प्रधानमन्त्री हुन सफल भएका छन्।
अन्य दलका ‘खेलाडी’लाई प्रभावित गर्न सिपालु उनले पछिल्लोपल्ट कांग्रेस महाधिवेशनमा त्यो क्षमता देखाए। ‘संस्थापनइतर समूह’ लाई सुरुमै फुटाउन सफल भए– रामचन्द्र पौडेलको ‘लोभी मन’को उपचार गरेर। सभापतिको चुनावअघि पौडेल भेट्न उनको निवासमा पुगेका देउवाले आश्वासन दिए, ‘स्वास्थ्य ठीक राख्नुस्, नेपालको राजनीतिलाई तपाईंको महत्वपूर्ण भूमिकाको खाँचो छ।’
देउवाले यसको व्याख्या त गरेनन् तर ‘संस्थापनइतर समूह’ का सर्वोच्च नेता पौडेलले आफूलाई लोभबाट मुक्त राख्न सकेनन्। देउवा रिझाउन उनले मतदानमा सहभागी नहुने र कुनै पनि समूहमा नलाग्ने घोषणा गरे। सभापतिमा परिणाम नआउने प्रष्ट हुनेबित्तिकै दोस्रो चरणको चुनावअघि ‘देउवाकै रुचिमा’ पौडेलले लैनचौरमा चियापान आयोजना गरे– महाधिवेशन प्रतिनिधिका लागि। उनले प्रतिनिधिहरुलाई ‘विवेक प्रयोग गर्न’ आग्रह गरे जसको कोइराला समर्थकहरुले त्यहीँ विरोध जनाएका थिए।
देउवाको प्रलोभनमा परी समूहबाट अलग भएका पौडेलले सुरुमा आफूलाई गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्तै ‘प्रतिस्पर्धाभन्दा माथि’ रहेको भनी प्रचार पनि गराए तर ‘राजनीतिबाट अलग हुन्न’ भन्ने अभिव्यक्ति दिँदै ‘देउवाले देशलाई तपाईंको खाँचो छ’ भनेको बताएलगत्तै सबैले अनुमान लगाएका छन्– पौडेलले राष्ट्रपतिको आश्वासन पाए छन्।
पहिलो चरणमा ८२ मत अपुग भएपछि देउवाले ‘वीर गणेशमान सिंह’ को विरासत दावी गरेका प्रकाशमान सिंहलाई पनि आफ्नो खेमामा ताने– त्यस्तै प्रलोभन दिएर। देउवा असान्दर्भिक भइसकेको भनेर पटक–पटक अभिव्यक्ति दिएका सिंह र महेन्द्र नारायण निधीको विरासत दाबी गर्ने विमलेन्द्र निधीलाई देउवाले आफ्नो खेमामा ताने। पहिलो चरणको सभापति निर्वाचनमा ३७१ मत पाएका सिंह, २४९ मत ल्याएका निधी दुवै देउवाको ‘लालच’ मा परे।
देउवाले सिंहलाई चुनावपछि प्रधानमन्त्री बनाउने आश्वासन दिएको प्रचार एकातिर गरिएको छ भने यही चुनावी सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री दिने अर्को आश्वासनको चर्चा पनि छ। प्रकाशमान सिंहको उम्मेद्वार हुनुअघिदेखिको उठेरै छाड्ने अडान हेर्दा उनी सुरुदेखि नै देउवाको हितमा प्रयोग भएको आरोप लगाउनेहरुको पनि कमी छैन।
सभापति देउवाले यस्तो खेल खेले कि उनको लामो समयदेखि आलोचना गर्ने र आफूलाई आदर्श देखाउन प्रयास गर्नेहरु धेरैजसोलाई ‘ढोँगी’ सावित गरिदिए। युवामा प्रदीप पौडेलदेखि पाकोमा प्रकाशमान सिंह, विमलेन्द्र निधी, सुजाता कोइराला सबैलाई आफ्नो क्याम्पमा ल्याए। वरिष्ठ नेता पौडेल मात्र होइन, स्वयम् शेखरका नातामा भाइ पर्ने बहालवाला महामन्त्री सशांक कोइरालालाई ‘न्युट्रल’ बनाए। आफ्नो पक्षमा प्रयोग गरे।
दोस्रो चरणको सभापति निर्वाचनसम्म पुग्दा शेखर कोइराला एक्लाजस्तै भए। न शेखरको पक्षमा पूर्व पदाधिकारी कोही रहे, न कोही वर्तमान पदाधिकारीले नै साथ दिए तर पनि कांग्रेसमा कहिल्यै पदाधिकारीसमेत नभएका केन्द्रीय सदस्य शेखरले देउवालाई एक्लै चुनौती दिए। उनको पक्षमा महामन्त्रीका उम्मेद्वार युवानेता गगन थापाले मतदातासमक्ष अपील जारी गरे, जुन निकै साहसिक र प्रभावकारी कार्य थियो। उनको प्यानलका पदाधिकारीका उम्मेद्वारहरू मिनेन्द्र रिजाल, धनराज गुरुङसहितका केन्द्रीय सदस्यहरु भने निरन्तर टिकिरहे, जो पार्टीभित्र वास्तविक रुपमान्तरणका अभियन्ता हुनसक्छन्।
०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री प्रस्ताव गर्दा गणेशमान सिंहले अस्वीकार गरेका थिए। आफ्नो साटो कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए। त्यस्ता त्यागीको विरासत दावी गर्ने प्रकाशमान सिंहको व्यवहारले उनलाई राजनीतिक रुपमा समाप्त पारेको छ। पदका लागि खेमा फेरे विश्वप्रकाश शर्माले। यो देउवाको योजनामुताविक भएको अनुमान पनि गरिँदैछ। महामन्त्रीका उम्मेद्वार प्रदीप पौडेललाई पनि देउवाबारे सञ्चारमाध्यमहरुमा उनले विगतमा दिएका अभिव्यक्तिहरूले उनलाई लखेटिरहेका छन्।
कांग्रेस सभापतिमा शेखर कोइरालाले चुनाव त हारेका छन् तर कांग्रेसको राजनीतिमा उनको उदय भएको छ। संस्थापनइतरका सबै ठूला नेताहरु र पूर्वपदाधिकारीले छाडे पनि शेखर कोइरालाले देउवालाई राम्ररी नै चुनौती दिएका छन्। कोइरालाको चुनौती यसअघिको महाधिवेशनमा रामचन्द्र पौडेलले दिएको भन्दा निकै सशक्त र अर्थपूर्ण छ। उनी यसअघि रामचन्द्र पौडेलले पाएको ‘वरिष्ठ नेता’ को भूमिकामा पुगेका छन्।
शेखर उमेरले ७० नाघे पनि कांग्रेसभित्र नयाँपुस्ताका नेता हुन्। कांग्रेसको तन्नेरी पुस्ताका करिब चार लाख सक्रिय सदस्यका नेता हुन् जो रुपान्तरण पक्षधर छन्। कांग्रेसलाई ‘कञ्जर्वेटिभ’ हरुको दबदबाबाट मुक्त गरी समाजवादी र ‘लेफ्ट पार्टी’ मै फर्काउन चाहनेहरुका नेता पनि शेखर कोइराला हुन्। अब यो समूहको शीर्ष स्थानमा शेखर पुगेका छन्। महामन्त्री जिते पनि वा कथम्कदाचित जितेनन् भने पनि भावी नेताका रुपमा गगनले आफ्नो उचाइ बढाएका छन्।
लोकतान्त्रिक दल कांग्रेसभित्रको प्रतिपक्ष छरितो र प्रभावशाली हुनेछ, यदि यसअघि रामचन्द्र पौडेल र सशांक कोइरालाले जस्तो पदमा भाग खोजेनन् भने। देउवालाई नीति, विधि, पद्धति र प्रक्रियाका हिसाबले निगरानी गर्नु चाहिँ शेखर कोइराला र गगन थापा नेतृत्वको प्रतिपक्षी खेमाको हुने छ।
महामन्त्रीलगायत अन्य पदाधिकारीको परिणाम नआउँदै यति चाहिँ आजै भन्न सकिन्छ– भावी दिनमा कांग्रेसलाई जोगाउन केवल त्यहाँभित्रको प्रतिपक्षी खेमाले मात्र सक्ने छ, जुन पन्ध्रौँ महाधिवेशनको संस्थापन हुने ल्याकत राख्दछ। ‘उत्साह, एकता, रुपान्तरण’ को नारा पनि त्यसपछि मात्र सान्दर्भिक हुनेछ।