'जब मैले शेरबहादुरजीलाई चिन्ताको कारण सोधेँ'

Breaknlinks
Breaknlinks

पूर्वमन्त्री तथा पुराना राजनीतिज्ञ बालाराम घर्तीमगरको नजरमा शेरबहादुर देउवा


शेरबहादुर देउवा दाेस्राेपटक कांग्रेसको सभापतिमा निवार्चित भएकाे खबर सुनेर खुसी लाग्याे। उहाँलाई सबैभन्दा पहिले त धेरै–धेरै बधाई छ। देउवासँग मेरो पहिलो भेटघाट र कुराकानी २०५१ सालतिर भएको थियो। अझ खुलेर भन्ने हो भने सहयात्रा गर्ने मौका भने धेरै पछाडि मिल्यो।

उहाँ वि.सं. २०५२ साल भदौ २७ गते प्रधानमन्त्री हुँदा म आवास तथा भौतिक योजनामन्त्री थिएँ। वि.सं. २०५३ साल फाल्गुन २० गते अविश्वासको प्रस्तावबाट यो मन्त्रीमण्डल हटाइएको थियो। मेरो लागि सौभाग्यको कुरा के भने, कुनै पनि प्रधानमन्त्रीहरूसँग मतभेद भएन। आफ्नो अनुभव, योग्यता र विवेकले सकेसम्म राम्रा कार गर्ने, नजानेका एवं शङ्कास्पद कार्यहरू के गरौं भनी सोध्ने सानैदेखिको बानी थियो।

सबैलाई सबै विषयको ज्ञान हुँदैन, नबुझीकन कुनै काममा हात हाल्न हुँदैन भन्ने विषयमा म ढुक्क छु। पछिल्लो पटक मन्त्री हुँदा भूमिगत पार्टीका कारण विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन सकिएको थिएन। एक मानाको सरकारमा त भनेअनुसार गर्न समस्या हुन्छ भने संयुक्त रूपमा जाँदा कठिनाइ हुनु स्वाभाविकै हो।

समयले कोल्टे फेरि सकेको थियो। एकपछि आक्रमण, विष्फोटन, चन्दा आतङ्क बढ्दै गएपछि वि.सं. २०५८ साल मंसीर ११ गते संकटकाल घोषणा गर्नुपरेको थियो। देउवाजीले आन्तरिक र बाह्य दुवैतर्फ संयमित र विवेकशील बनेर कार्य गर्नुपर्ने अवस्था थियो। पार्टीभित्रको विमेल चुलिँदै गएर वि.सं. २०५९ असार ५ गते नेपाली कांग्रेस विभाजनमा पुग्यो।

शेरबहादुरजी नेपाली काँग्रेस प्रजातान्त्रिकका सभापति बन्नुभयो। यस समयमा उहाँ प्रधानमन्त्री पनि हुनुहुन्थ्यो। देउवाजीले चुनावको घोषणा गरे पनि शान्ति, सुरक्षाको नाजुक अवस्था थियो। उमेद्वार र मतदाता दुवैले सुरक्षित महसुस गर्ने अवस्था थिएन। वि.सं. २०५९ कार्तिक २० गते निर्वाचन गराउने अवस्था सृजना नभएपछि मिति सार्न खोज्दा उहाँ पदबाट हटाइनुभयो।

जनयुद्धदेखि देशका आन्तरिक मामिलाहरू निकै परिवर्तन र रूपान्तरण भइसकेका थिए। त्यतिबेला गरेका धेरै कार्यमध्ये हाउजिङ ऐन ल्याउने काम अहिलेसम्म असाध्यै उपयोगी भएको जस्तो मलाई लाग्दछ। जनकपुर वृहत्तर विकास ऐन यही समयमा आएको थियो। यसले जनकपुरको समग्र विकासमा ठूलै योगदान दिएको जस्तो लाग्छ। एकदिन विशेष कामले प्रधानमन्त्रीको कार्यालयमा शेरबहादुरजीलाई भेट्नका लागि गएँ।

प्रधानमन्त्रीलाई भेट्न सामान्यतः मन्त्रीहरूले अनुमति वा समय लिइरहनुपर्दैनथ्यो। उहाँ कुहिनो अडाएर, गालामा हात लगाएर केही सोच्दै एवं चिन्तन गर्दै गरेकोजस्तो देखिनुहुन्थ्यो। उहाँको अनुहारले बताइरहेको थियो कि उहाँ कुनै समस्याको समाधान वा केही विषयको चिन्तन गर्दै हुनुहुन्छ। मैले उहाँलाई चिन्ताको कारण सोधेँ–

उहाँले भन्नुभयाे, 'विष्णुविक्रम थापाजीलाई मन्त्री बनाउनुपर्ने भयो। सहायक मन्त्री नभएका साथीहरूलाई अनुरोध गरेँ, कसैले पनि मान्नुभएन। के गरौं ? पशुपति शम्शेर, बुद्धिमान तामाङ, प्रकाशचन्द्र लोहनीजीहरूले नै स्वीकार नगरेपछि अब के उपाय छ त भनेर सोच्दैछु।'

मैले भनेँ, 'तपाईले त्यसलाई सोच्नै पर्दैन। मेरो मन्त्रालयमा पठाइदिनुहोस् ?'

शेरबहादुरजीले हाँस्दै भन्नुभयो, 'तपाईको त शान्ति शम्शेरजी राज्यसहायक मन्त्री भइहाल्नुभएको छ नि ? अरु कुनै साथीहरूको नाम भन्नुहोस् न, जसबाट यो समस्या हल हुन्छ।'

मैले सम्झाएपछि 'उहाँले हुन्छ त लौ' भनेर विष्णुविक्रम थापाजीलाई सहायक मन्त्री बनाएर मेरो मन्त्रालयमा पठाइदिनुभयो। यसपछि उहाँको समस्या समाधान भएको थियो। क्याविनेट जाने र नीतिगत विषयबाहेक सबै अधिकार राज्यसहायक मन्त्री शान्ति शम्शेरजीलाई दिएँ।

शान्ति शम्शेरजीलाई दिइराखेको अधिकार सहायकमन्त्री बन्नुभएका विष्णुविक्रमजी सुम्पिदिएँ। यसले गर्दा मलाई काम गर्न निकै सजिलो भयो। मलाई दुई मन्त्रीबीच समायोजन गर्न अति नै सजिलो भयो। यहाँ। समस्या भनेको 'म मात्रै जान्ने, मैले मात्र गर्नुपर्छ, मेरै नेतृत्वमा हुनुपर्छ भन्ने गलत सोच र चिन्तनको उपज हो।'

शेरबहादुरजीसँग मैले दुई कार्यकालमा २३ महिना काम गरें। हामीबीचमा आन्तरिक र बाह्य कुनै खट्पट भएन। श्री ५ ज्ञानेन्द्र सरकारले शासनको बागडोर आफ्नो हातमा लिने दिन हामीलाई आफ्नो निवासमा बिहानै बोलाउनुभयो। उहाँले भनेकै समयमा हामी सबै मन्त्रीहरू पुगेर बोलाउनको कारण सोध्यौँ। उहाँले 'एक छिन पर्खेर टेलिभिजन हेर्नुहोस्' भन्नुभयो। एकछिन पछि समाचार आयो, राजाले राष्ट्रको नाममा सम्बोधन गर्नुभएको थियो। हामीले ध्यान दिएर हेर्दै र सुन्दै गयौं।

अन्तमा प्रधानमन्त्रीलाई हटाएको सुनेपछि हामी पदबाट मुक्त भएको जानकारी पायौँ। शेरबहादुरजीलाई यसको बारेमा पहिले नै थाहा रहेछ। उहाँ प्रधानमन्त्री हुँदा साथीहरूबीचमा कुनै समस्या आएन।

देउवाजीले सबैको समस्यालाई आफ्नै सम्झने एवं पार्टीगत दृष्टिभन्दा पनि सबैलाई उत्तिकै स्नेह गर्ने आदत देखेँ। पछिल्लो पटक चाहिँ उहाँले संसद विघटन गरेर चुनाव गर्न सक्नुभएन। यो घटना उहाँको राजनीतिक जीवनमा अविस्मरणीय क्षण रह्यो। चुनाव गरिदिएको भए अरुले चलखेल गर्ने मौका नै पाउने थिएनन्। उहाँबारे भन्नु पर्दा यस्तै–यस्तै कुराहरू हुन्। शेरबहादुरजीलाई फेरि पनि धेरै–धेरै बधाई छ।

प्रकाशित मिति: : 2021-12-15 18:00:00

प्रतिकृया दिनुहोस्