३२ वर्षदेखि विश्वविद्यालयमा सेवा: सम्मान पाइन् तर सुख पाइनन्

Breaknlinks
Breaknlinks

आशी थरुनी। जसले कुचिकारको रुपमा नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी दाङमा काम गर्छिन। काम गर्न थालको कति वर्ष भयो उनी अनभिज्ञता प्रकट गर्छिन।

काम गरेको समय मात्र होइन आफ्नो उम्मेर पनि कति वर्ष भयो, उनी त्यसमा पनि लेखाजोखा राख्दैनिन्। ‘अस्ति नागरिकता त हेरेको हो। कति वर्ष भएँ थाहा छैन,’ बिएल नेपाली सेवासँग कुरा गर्दै आशीले भनिन्।

उनलाई न उम्मेरको मतलव छ न काम गरेको समयको नै। बस् आफ्नो जिम्मेवारी पूरा गर्न भने उनी तल्लीन छिन्। उनी कार्यालय समयमा अरु भन्दा छिट्टै आउँछिन। सरसफाइको जिम्मेवारी उनको हो। कार्यालयको सरसफाई कसरी र कहिले गर्ने भन्नेमा भने उनी जानकार राख्छिन।

यही काम गदागर्दै विश्वविद्यालयमा २५ वर्ष नाघिसकेको उनलाई थाहा नै भएन। जब आशीलाई संस्कृत विश्वविद्यालयले २५ वर्ष सेवा गरेको भनेर दीर्घसेवा पदकबाट सम्मान गर्ने निर्णय गर्‍यो अनि २५ वर्ष पूरा भएको भन्नेमा जानकार भएको उनी बताउँछिन्।

उनको २५ वर्ष सेवा अवधि वि.स. ०७१ सालमा पुगेको थियो। ०४६ सालमा आशीको नियुक्ति भएको विश्वविद्यालयले जनाएको छ। आशीले स्थायी हुनु पूर्व २ वर्षसम्म अस्थायी काम गरेको बताउँछिन्। यसरी हेर्ने हो भने उनको सेवा अवधि ३२ वर्ष पुगेको छ।

सेवा गरेको ३२ वर्षपछि उनी दीर्घसेवा पदकबाट सम्मानित भएकी छिन्। ३२ वर्षसेवा गरेपनि उनको अझै काम गर्ने आँटमा भने कमी आएको छैन। केही वर्ष काम गर्ने योजनामा रहेको आशी बताउँछिन।

‘काम गरेको २५ वर्ष भयो भनेर यो दिइएको छ,’ प्रमाण पत्रलाई देखाउँदै उनले भनिन्, ‘अझै काम गर्छु।’ उनले सुरुका दिनहरुमा काम गर्दा धेरै दुःख हुने गरेको सुनाउँदै अब भने त्यस्तो दुःख नभएको बताइन।

७ महिनाको छोरीलाई छाडेर काम

काम सुरु गर्दा काखमा ७ महिनाको छोरी भएको उनले बताइन। ‘यहाँ काम गर्न आउने समयमा ७ महिनाको छोरी थियो,’ उनले भनिन्, ‘के गर्ने काम गर्नै पर्‍यो। अनि विहान उठेर छोरीलाई दूध खुवाएर आयो १२ बजे फेरि दूध खुवाउन गयो। फेरि आयो। त्यसपछि साँझ जाने।’

आशीले अगाडी भनिन्, ‘यता कामको दुःख उस्तै हुने। घरमा छोरीको चिन्ता उस्तै।’ सुरुमा कति रुपैयाँमा काम गरेँ भन्ने पनि उनलाई थाहा छैन। तर, त्यही ६ सय जति मासिक तलव भएको उनीसँग नजिक रहेकाले बताए।

आशीले बालविवाह गरेको पनि बताइन। ‘सानै उम्मेरमा विवाह भएको हो मेरो, त्यस्तै १४/१५ वर्ष थिए होला’ उनले भनिन्। आशीको घरमा २४ जनाको परिवार थियो। जसले गर्दा उनको जागिर भए पनि पैसाको अभावमा नयाँ लुगा भन्ने त लगाउन मुस्किल हुने गरेको बताइन।

अहिले आशीले नातिनातिना समेत देखिसकेकी छिन। एक छोरासँग ६ जना छोराछोरीको आमा उनीले अब छोरा र २ छोरीको मात्र विवाह गर्न बाँकी रहेको छ। आशीको घर दाङको तुलसीपुर उपमहानगरपालिका वडा–१७ वनकट्टीमा पर्छ। 

उनका अनुसार आशीले काम गर्ने कार्यालय र घरको दुरी पैदल हिँड्ने हो भने आधा घण्टा बढी लाग्छ। पहिले सासु आमाले काम गरेको ठाउँमा नै उनी जागिर गर्न आएकी थिइन। सानै उम्मेरमा विहानदेखि साँझसम्मको कामले कहिले त जागिर छोड्नेसम्म मन लागने गरेको उनले बताइन। तर, धैर्य गरेर काम गरेकाले आज पुरस्कृत हुन पाएकोमा भने उनले खुशी व्यक्त गरिन।

‘पुरस्कृत हुन्छु भनेर त कहिल्यै सोचेको पनि थिएन। म त नपढेको मान्छे। नाम लेख्न आउँदैन,’ उनले भनिन्, ‘जसोतसो काम गरेँ। अहिले पुरस्कार पाएको छु। खुशी छु।’ अब भने काम गर्न सक्ने समय सम्म कुचिकारकै रुपमा काम गर्ने आशीले बताइन्।

प्रकाशित मिति: : 2021-12-14 19:32:00

प्रतिकृया दिनुहोस्