सात दशक लामो गौरवमय इतिहास बोकेको नेपाली कांग्रेस पार्टी यतिबेला चौधौं महाधिवेशनको सम्मुखमा छ। लोकतन्त्र, शक्तिपृथकीकरण, विधिको शासन, मानवअधिकार, वैयक्तिक स्वतन्त्रता, सामाजिक न्याय, समानताका खातिर अनेक हण्डर खेप्दै जेलनेल भोगेका लाखौं कार्यकर्ताको पंक्तिले भरिएको पार्टी हो कांग्रेस। महाधिवेशनमार्फत यस्तो स्वर्णिम इतिहास रहेको कांग्रेस पार्टीको नेतृत्व कस्तो हुनुपर्छ या कस्तो आउला भन्नेमा भित्रबाहिर जिज्ञासा उठ्नु स्वाभाविकै हो। शनिबार सम्पन्न उम्मेदवारी मनोनयनको मुखैमा कांग्रेसका अग्रज सादगी वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस विज्ञप्ति नै निकालेर सभापतिको प्रतिस्पर्धामै नरहेको उद्घोष गरिसकेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाका समकालीन अग्रज नेताको भावुक अभिव्यक्तिसहितको विज्ञप्तिपछि नेपाली कांग्रेसको राजनीतिले एकाएक नयाँ मोड लिएको छ। प्रतिस्पर्धामा नेता पौडेलको अनुपस्थितिबाट एकसरो ढंगले अड्कलबाजी पनि हुन थालेको छ। ६ दशक बढी समय कांग्रेस राजनीतिमा घामपानी खेपेका अग्रज गुरुलाई टिमभित्रैबाट किन यति सारो अवमूल्यन र अर्घेल्याइँ गरियो भन्ने पाटो कांग्रेस राजनीतिमा भोलि छुट्टै समीक्षाको विषय बन्ला नै, सर्पको खुट्टा सर्पले नै देख्छ भनेझैं आखिर कांग्रेस सभापति देउवाले नै बोहोराटार पुगेर आफ्ना समकक्षीलाई सद्भाव र सहानुभूति दर्साएको दृश्यले कांग्रेसको भावना जोडेको छ।भावनात्मक सम्बन्धको हस्तमिलनले आम कांग्रेसका आँखा फेरि एकपल्ट रसाएका छन् । यो विषय एक बसाइमा समग्र पाटोमा बहसपैरवी गर्न सम्भव छैन।