कांग्रेसमा टुटेको ‘चिरञ्जीवी’ यात्रा-गिरिजालाई चुनौती, राजाले लगाएको त्यो मुद्दा र अब इतिहासका किताब

आयोमेल

काठमाडौँ

करिब ६ दशक समय बिताएको नेपाली कांग्रेस चौधौं महाधिवेशनमा होमिइरहेका बेला उनी भने आफ्नै लयमा थिए। मंगलबार दिउँसोतिर चाबहिल बुलबुलेस्थित घरमा पुग्दा एकताका गिरिजाप्रसाद कोइरालालाई चुनौती दिने व्यक्तित्वको छवि बनाएका चिरञ्जीवी वाग्ले पुस्तक, पत्रपत्रिका र लामा–लामा रजिस्टरका थुप्रोबीच केही लेख्दै थिए।

‘अहिले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासबारेमा लेख्दैछु, यो पौने ६ सय पेजजति भइसकेको छ, प्रिन्ट गर्दा ५ सय जति होला। केही थप्न बाँकी छ। यसलाई प्रकाशित गर्छु र अर्को लेखिरहेको पूरा गर्छु,’ उनले नजिकैका रजिस्टरका चाङ देखाउँदै भने।

पहिले राजनीतिमा भ्याईनभ्याई उनी आजकाल पूर्णकालीन लेखक बनेका छन्। उनको यो लेखकीय यात्रा २०६७ को जेलयात्रापछि निरन्तर छ। उनले लेखेका अधिकांश पुस्तक इतिहासका बारेमा छन्।

प्रजातान्त्रिक आन्दोलनबारेको पुस्तकसँगै उनले उनले २००७ सालका क्रान्तिपूर्व र पछिको कालखण्डको पुस्तक पनि लेखिरहेका छन्। जुन सक्न एकाध महिना लाग्ने उनले बताए।

यसका साथै बहादुर शाह तथा भीमसेन थापालाई नायक बनाएर लेखिएका, अनि भीमसेन थापा मारिएपछिको कालखण्डका बारेमा ऐतिहासिक उपन्यास लेखिसकेका छन्। बहादुर शाहका बारेमा लेखिएको उपन्यास प्रेसमा गइसके पनि कोरोनाका कारण प्रकाशित हुन सकेको छैन।

प्रकाशित मिति: : 2021-12-08 13:19:00

प्रतिकृया दिनुहोस्