काठमाडौं, नक्सालस्थित सगरमाथा कम्प्लेक्सको गेटमा एक लक्का जवान भेटिन्छन्, कसैलाई स्यालुट गर्छन् त कसैलाई दुई हात जोडेर नमस्कार। उनको ज्याकेटमा ग्लोबल सेक्युरिटी कम्पनीको लोगो छ। सेक्युरिटी गार्डको पोशाकमा ठाँटिएका २७ वर्षे युवाको ड्यूटी हो, कम्प्लेक्सभित्र आउनेहरुलाई हँसिलो अनुहारले स्वागत गर्नु।
तपाईंको नाम ?
उनकाे गालामा डिम्पल पर्ने गरी मुस्काउँछन् र भन्छन्, ‘पुरन साउद।’
छोटो कुराकानीका क्रममा श्रीमती पढाउन सेक्युरिटी गार्ड काम गर्दै गरेको थाहा पाएपछि उनीसँग लामै कुराकानी गर्ने समय तय हुन्छ। विदा मिलाएर उनले रातोपाटी प्रतिनिधिसँग आफ्नो मनको कुरा साट्छन्।