पत्रकार बन्ने र राजनीतिमा पनि जम्ने दोहोरो चरित्रका कारण सूचनाको शुद्धता कायम हुन नसक्दा समाजले क्षति व्यहोर्दै आएको छ, जुन विषयमा हाम्रो ध्यान पुग्न सकेको छैन।
पत्रकारबीच हाँसोठट्टा गर्दा यदाकदा सुनिने कथन हो, ‘पत्रकारले अरूको मात्र कमजोरी देख्छ, आफ्नै चाहिं देख्दैन।’ तर, यो टिप्पणीले वास्तविकता पनि बोकेको छ। हामीकहाँ धेरैजसो पत्रकार र सञ्चारगृहले अरूका थुप्रै कमजोरी औंल्याउँछन्, तर आफू र आफ्ना भ्रातृ समुदायको कमजोरीबारे प्रायजसो आँखा चिम्लिन्छन्। एकाध अपवाद बेग्लै कुरा हो।
पत्रकार भएको नाममा कतिपयले नैतिक रूपमा उपभोग गर्न नमिल्ने स्वतन्त्रता पनि खुलेआम उपयोग गरिरहेका छन्। यस्तो लाग्छ, पत्रकार भनेका समाजका अन्य वर्गभन्दा विशिष्ट हुन् र उनीहरूले सबै कुरामा उन्मुक्ति पाउनुपर्छ।
खासमा पत्रकार सूचना व्यवसायी (इन्फरमेशन प्रोफेसनल्स्) हो। सूचनाको शुद्धता नै पत्रकारको पेशागत आधार हो। उसको पेशागत आदर्श र जिम्मेवारी पनि सूचनाको शुद्धतामै अडेको छ। पत्रकारको मनमा जन्मिने आर्थिक तथा राजनीतिक स्वार्थले नागरिक समक्ष शुद्ध रूपमा प्रवाह हुनुपर्ने सूचनालाई बिटुलो बनाइदिन्छ। बिटुलो सूचनाले दुष्प्रचारको रूप धारण गर्छ, जसले समाजलाई धेरै अर्थमा क्षति गर्छ।
सूचनाको शुद्धता कायम गर्न नसक्दा हुने बहुआयामिक क्षतिलाई ध्यानमा राखेर पत्रकार कुनै पनि राजनीतिक दलमा आबद्ध हुन हुँदैन भन्ने मान्यता विश्वभर स्थापित छ। यही मान्यतालाई मूल सन्देश बनाएर नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घले गत ५ मंसीरमा विज्ञप्ति जारी गर्यो।