गुटका मान्छेलाई टीका लगाउने प्रयास भइरहेको छ, मलाई मान्य छैन: भीम रावल

सेतोपाटी

काठमाडाैँ

एमालेमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले गुटका मान्छेलाई टीका लगाउने प्रयास भइरहेको बताएका छन्।

आइतबार साँझ सेतोपाटीसँग कुरा गर्दै रावलले सहमतिका नाममा अध्यक्ष ओलीले आफ्ना गुटका मानिसलाई टीका लगाउन खोजेको र त्यो आफूलाई मान्य नहुने बताएका हुन्। 

‘हिजो पनि बिहान ८ बजे सुरू हुने भनिएको बन्दसत्र दिउँसो सुरू भयो। आज १० बजे हुने भनिएको बन्दसत्र अहिलुसम्म भएको छैन,’ रावलले भने,‘महाधिवेशन प्रतिनिधिलाई कुनै जिम्मेवारी दिइएको छैन।’

उनले सहमतिको प्रयासबारे आफू र अध्यक्ष ओलीबीच कुनै कुराकानी नभएको बताए। 

केहीबेरअघि सामाजिक सञ्जालमा पनि रावलले आफ्नो भनाइ सार्वजनिक गरेका छन्। उनले लेखेका छन्-  एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णयविपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक  र पार्टी हितको विरूद्धमा छ।  

उनले दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्यमात्र होइन धाँधलीको संकेत पनि भएको बताएका छन्। 

प्रकाशित मिति: : 2021-11-28 20:28:00

प्रतिकृया दिनुहोस्