बेलायतमा कोरोनाको भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि थप प्रतिबन्धको घोषणा

Symbolic photo
Symbolic photo

हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ। 

प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो। त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी गरिएको छ।

बेलायत आउने हरेक यात्रुले दुई दिन मात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पिसिआर टेष्ट गरिने छ।

यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस पोजेटिभ देखिएमा आफै आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछि मात्र बाहिर निस्किन पाउने बताइएको छ।

हालै अफ्रिकामा देखिएकोे भनिएको नयाँ भाइरस बेलायतमा देखिएको कुरा यहाँका स्वास्थ्य मन्त्री सजिद जाभिदले शनिबार जानकारी दिएका छन्।

यो भाइरसको सङ्क्रमण देखिएका दुई जनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताएका छन्। 

बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिएका हुन्।

उनले हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिएका हुन्।

साथै बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ।

 

प्रकाशित मिति: : 2021-11-28 13:05:00

प्रतिकृया दिनुहोस्