भीम रावलमै अड्कियो एमालेमा सर्वसम्मतिको प्रयास

सेतोपाटी

काठमाडाैं

नेकपा एमालेको दसौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने विषय पेचिलो बन्दै गएको छ।

अध्यक्ष केपी शर्मा ओलीले आफूसहित सबै पदाधिकारी सर्वसम्मत बनाउन चाहे पनि आफ्नै समूह र प्रतिष्पर्धी अर्को समूहका नेताहरूलाई मिलाउन नसक्दा सर्वसम्मतिको प्रयाससँगै एमाले महाधिवेशनको अवधि लम्बिने देखिएको छ।

अध्यक्ष ओलीनिकट नेताहरूका अनुसार सर्वसम्मतिको प्रयास अहिले अध्यक्षमा दाबेदारी गरेका भीम रावलमा अड्किएको छ।

उपाध्यक्ष रावलको उम्मेदवारीले ओलीले अरूलाई सर्वसम्मत बनाउने भन्दा पनि आफू सर्वसम्मत बन्न चुनौती थपिएको छ।

अध्यक्ष ओली नै सर्वसम्मत हुने/नहुने टुंगो नभएकाले उनको समूहका पदाधिकारी आंकाक्षी नेताहरूले आफ्नो दाबी छोडेका छैनन्।

अध्यक्षमा दाबी गरेका रावललाई मिलाउन अध्यक्ष ओलीले छलफल गर्न खोजे पनि उनीहरूबीच चितवनमा कुराकानी हुन सकेको छैन।

यसअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले रावलको उम्मेदवारी आफूलाई चुनौती नभई सम्मान भएको टिप्पणी गरेका थिए।

शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकमा सहमतिका लागि सजिलो होस् भनेर पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप्ने प्रस्ताव गरेका ओलीले शनिबार बिहान पनि सर्वसम्मतिका लागि नेताहरूलाई भेटेका थिए।

प्रकाशित मिति: : 2021-11-27 21:11:00

प्रतिकृया दिनुहोस्