कोभिड महामारीका कारण महिला विरुद्धको हिंसा बढ्यो: राष्ट्रसंघीय प्रतिवेदन

बिएल संवाददाता

संयुक्त राष्ट्रसंघ
File Photo
File Photo

संयुक्त राष्ट्रसंघले हालै गरेको एक अध्ययनमा कोभिड-१९ को महामारीका कारण महिला हिंसामा वृद्धि भएको पाइएको छ। विश्वका विभिन्न १३ ओटा देशमा गरेको अध्ययनमा यस महामारीका कारण महिला हिंसाका घटनामा पनि वृद्धि भएको पाइएको हो।

विश्वका अरु देशमा पनि यो महामारीका कारण आफ्ना घरमै र बाहिर अर्थात् सार्वजनिक स्थलमा पनि यस्ता घटनामा वृद्धि भएको पाइएको सो उक्त अध्ययनमा देखिएको बताइएको छ।

ती १३ देशमा गरेको सर्वेक्षणबाट महिलाहरुले महामारीका कारण घरमै बस्नुपर्दा तथा सार्वजनिक स्थानमा समेत आफूहरुमाथि हिंसा बढेको पाइएको उनीहरुले बताएका थिए। घरेलु हिंसा घरभित्र हुने गरेको र कोरोनाबाट बच्न घरभित्र बस्नु सबैभन्दा ठूलो बचाउ ठानिएको भएपनि वास्तविकता त्यस्तो नरहेको ती महिलाले जनाएका छन्।

यो महामारीका कारण विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको थियो र बासिन्दाहरुलाई घरभित्रै बस्न भनिएको थियो। तर पनि घरमा बस्नुपर्दाको अवस्थामा पनि महिलामाथिको हिंसा झनै बढ्ने गरेको सो अनुसन्धानबाट पाइएको हो। सो सर्वेक्षणमा समेटिएका महिलाहरुमध्ये करिब आधाजतिले सार्वजनिक स्थान र घरमा पनि कुनै न कुनै प्रकारको हिंसाको महसुस गरेको बताएका थिए।

त्यसैगरी एक चौथाई महिलाले त आफूहरु घरमै असुरक्षित रहेको बताएका थिए। उनीहरुले महामारी सुरु भएयतादेखि आफूहरुलाई घरमै हिंसा बढेको अनुभव सो अनुसन्धानका क्रममा सुनाएका थिए। उक्त अनुसन्धानले यो महामारीका समयमा भएका घरेलु हिंसाको यथोचित मात्रामा वास्तविकता बाहिर आउन नसकेको पनि देखाएको छ।

यसै पनि घरेलु हिंसाका घटना अत्यन्त कममात्रै जानकारीमा आउने गरेको र अहिले झन् यो महामारीपछि त्यसमाथि सबैलाई घरभित्रै बस्नु भनेको समयमा यसको रिपोर्टिङ पनि अत्यन्त न्यून हुने गरेको उक्त अनुसन्धान रिपोर्टमा जनाइएको छ।

प्रकाशित मिति: : 2021-11-25 12:53:00

प्रतिकृया दिनुहोस्