केही महिनाअघि एक दम्पती एक सपिङ मलको बरन्डामा थिए, दुई सन्तानका साथ। करिब तीन वर्षको देखिने उनीहरूको छोराले खेलौना बन्दुक चलाइरहेका थिए, करिब ८ वर्षकी देखिने छोरीको काखमा भने गुडिया थियो। त्यो दृश्यमा हाम्रो पुरुषवादी सत्ता र मानसिकता लुकेको देखिन्थ्यो। जस्तो कि पुरुषले गोली चलाउँछ, लड्छ, महिलाले घरभित्रका काम गर्छन्, केटाकेटी हुर्काउँछन्। घर–परिवार र समाजले नै सानैदेखि पुरुषमा विषाक्त पुरुषत्व (टक्सिक मस्कुलिनिटी) भरिदिएको हुन्छ।
‘रक्षाबन्धनमा भाइ उभिन्छ, मभन्दा ठूलो भएर। चाहे मैले उसलाई पढ्न सिकाइरहुँ, तर रक्षाबन्धनमा उसले भन्छ कि म तिम्रो रक्षा गर्छु, सुरक्षा गर्छु। ए मेरो भाइ, तिम्रो रक्षा मैले विगत १५ वर्षदेखि गरिरहेकी छु। तिम्रो नाकमा सिगान बगेको दिनदेखि मैले तिमीलाई स्याहार गरेकी छु। तर, रक्षाबन्धनमा मलाई त्यही धरातलमा उभ्याइन्छ कि तिमी तल छु, तिम्रो रक्षा यसले गर्छ।’
लेखक तथा अधिकारकर्मी कमला भासिनले भारतीय टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’मा बोलेको अंश हो यो। यसले समाजमा पुरुषवाद वा पुरुषसत्ता कसरी टिकिरहन्छ र महिलालाई मानसिक रूपमै कमजोर बनाउन के कस्ता संस्कृति, मान्यताको सहारा लिइन्छ भन्ने प्रस्ट्याउँछ। अझ पुरुषको पुरुषत्वलाई विषाक्त बनाउन केले भूमिका खेलेको हुन्छ भनेर पनि देखाउँछ।