पाँच–सातजना ग्राहक मिरर–मेज (ऐना भुलभुलैया) भित्र यताउता गरिरहेका थिए। कुन सिसा हो र कता खाली हो भनी ठम्याउन नसक्दा हातले अगाडि छाम्दै उल्झनमा परिरहेका थिए। एकअर्कासँग ठोक्किन पुगेर हाँसिरहेका पनि थिए। एक युवक त मलाई प्रतिविम्ब ठानेर मतिर हात बढाउँदै आए। मैले हाँस्दै ‘म रियल हो है’ भनेपछि उनले पनि हाँस्दै ‘सरी’ भने।
सोमबार दिउँसो काठमाडौंको चावहिलस्थित मिरर मेज नेपाल भ्रमण गर्दाको दृश्य र अनुभव हो यो।
एउटा बन्द कोठा, जहाँ नीलो बत्ती बलिरहेको छ। वरिपरि ऐना नै ऐना, जसमा देखिने प्रतिविम्बका कारण बाहिर निस्कन खोज्दा बाटो नभेटिएर झुक्किन पुगिने, अगाडि आफूसँगै गएको साथीलाई छुन खोज्दा समेत ऐनालाई छुन पुगिने– एक प्रकारको गज्जबको छाया–भ्रम।
यस्ता भुलभुलैया हलिउड वा बलिउड फिल्ममा खुबै देख्न पाइन्छ। भारतीय चलचित्र ‘प्रेम रतन धन पायो’, ‘फिर हेरा फेरी’, हलिउड फिल्म ‘आइटी च्याप्टर २’, ‘चार्ली च्याप्लिन’ लगायत धेरै फिल्ममा यस्ता दृश्य राखिएका छन्। अब फिल्ममा मात्रै होइन, ललितपुरको कुमारीपाटी, काठमाडौंको चावहिल पुगेपछि मिरर–मेजको आनन्द लिन सकिन्छ।