‘जनयुद्ध’ लडेका चारभाइ छोरा परदेश लागे, ७२ वर्षे बा चाहिँ विप्लवको आन्दोलनमा

Breaknlinks
Breaknlinks

‘कुनै बेला यो संसारमा दलित भन्ने शब्द थिएन। शासकले श्रम गर्ने मान्छेलाई बन्दूक, तरबार र धर्म बलको दमन गरेर जात प्रथा कायम गरेका हुन्।’

गत कात्तिक २७ गते धनगढीस्थित खुल्लामञ्चमा आयोजित आफ्नो पार्टीको दलित मुक्तिमोर्चाको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले उक्त कुरा भनिरहँदा मञ्चको अगाडि भुइँमा बसेर घोडाघोडी नगरपालिका–४ का ७२ वर्षीय देवसिंह नेपाली जोडतोडका साथ ताली पिट्दै हुटिङ गरिरहेका थिए– समर्थनमा।

उमेरले पाको भए पनि विप्लवको चर्को भाषणले उनको शरीरका सबै रौँ ठाडा भएका थिए। उनलाई लागिरहेको थियो– विप्लवले आफ्नै कथा भनिरहेछन्। उनमा जोश भरिएको थियो। पाको शरीरभित्र पनि विद्रोहको ज्वाला दन्किरहेको सहजै अनुभूत गर्न सकिन्थ्यो। युवावयका अन्य सहभागीजत्तिकै सक्रिय र उत्साहित देखिन्थे उनी।

विप्लवले अगाडि थपे, ‘हामी मुक्ति चाहन्छौँ। यो एक्काइसौं शताब्दीमा नेपालका शासकले सुन्नुपर्छ– हामी मान्छे हौँ, मान्छेको ब्यवहार चाहन्छौँ। फेरि पनि हामीमाथि जातप्रथा लाद्न चाहन्छन् भने बन्दूकको सामना बन्दूकबाट गर्न तयार हुनुपर्छ।’

विप्लवको ढाडसले देवसिंहको चेहरामा उत्साह थपिएको सहजै देखिन्थ्यो। अकारण जीवनभरि समाजको हेयदृष्टि र व्यवहारबाट पिल्सिएका उनी विभेदविरुद्ध लड्न तयार भएजस्तै लाग्थे– ७२ वर्षको उमेरमा पनि।

देवसिंह दलित परिवारमा जन्मिए। समाजले उनलाई अछुत भनेर हेपिरह्यो। उनको श्रम चल्थ्यो तर पानी चल्दैनथ्यो। उनलाई छोइँदा पनि अपवित्र भएको भन्दै छोइछिटो गथ्र्यो, आफ्नै समाजले।

सात दशकभन्दा लामो जीवनभरि चरम विभेद भोगिसकेका र जीवनको उत्तराद्र्धमा पनि समानताको महसुस गर्न नपाएका उनी जातीय विभेदबाट मुक्तिको खोजीमा रहेको हाउभाउबाटै प्रष्ट हुन्थ्यो।

विप्लवले भनेजस्तै देवसिंह दलित भएको दोस्रो पुस्ता मात्र हो। उनका बाजे दलित थिएनन, विष्ट थरका थिए। बाजेको जीवनमा घटेको एउटा घटनाले उनका वंशजलाई समाजले अछुतमा झारेको थियो।

देवसिंहका बाजे रघु बिष्ट अछामका बासिन्दा थिए। परिवारमा उनको जिम्मेवारी खच्चड चराउने थियो। उनी देख्दा खाइलाग्दा र जोशिला थिए तर उनको श्रवणशक्ति कम थियो। दिनभरि पाटनमा खच्चड चराएरै उनको दिन बित्थ्यो। 

एकदिन उनले हेर्न लगेको एउटा खच्चड भीरबाट लडेर मर्‍यो। त्यसपछि उनका पिताले उनलाई नसोचेको सजाय दिएछन्। धम्की दिएछन्, ‘जहाँबाट त्यो खच्चड लडेर मर्‍यो, त्यहीबाट खसालेर तँलाई मार्छु।’

सोझा उनी बाले मार्छन् कि भन्ने डरले घरबाट भागेर दाङ पुगेछन्। सात दिन हिँडेर त्यहाँ पुगेका उनी गाँसबासको खोजीमा भौँतारिए। जातीयताबारे त्यति बेलाको नेपाली समाज निक्कै कट्टर थियो।

यदि कसैले वर्ण–व्यवस्थासम्बन्धी कानून उल्लंघन गर्‍यो भने सरकारबाट कडा सजाय भोग्नै पथ्र्याे। सजाय पनि सामान्य हुँदैनथ्यो। त्यति बेलाको सामाजिक संरचनाअनुसार ‘तल्लो जात’को मान्छेले ‘उपल्लो जात’को मान्छेलाई छुनु वा उनीहरुको घरभित्र छिर्न पाउनू त परको कुरा भयो, ‘माथिल्लो जात’को मानिस ‘तल्लो जात’को घरभित्र पस्नु वा खानु पनि ठूलो अपराध मानिन्थ्यो।

त्यतिका दिन हिँडेर दाङ पुगेका उनी दलित भएको आशंकामा कैयौँ मानिसले पानी समेत दिएनन्। अन्ततः उनी एउटा दमाईं (परियार)को घरमा पुगे। त्यहाँ पनि उनले सहजै बास पाएनन्।

सुरुमा ती दमाईंले उनलाई बास दिन अस्वीकार गरे किनभने उनी क्षेत्री थिए। यदि कसैले त्यो थाहा पायो भने बास दिएबापत पनि उनलाई राज्यबाट दण्डित हुनु पथ्र्याे।

‘दमाईंको घरमा बिष्ट बसेको भनेपछि पाल्पाका राजाले मलाई मार्छन् त्यसैले मलाई बचाउँनुहोस्। म दमाईं हो भन्दिनुहोस्’ भनेर उनी त्यहाँ बसे।

आफ्नो ज्यान जोगाउनको लागि अछुत बन्न तयार भए– हजुरबा रघु बिष्ट। अनि रघु विष्टको चिनारी फेरियो– रघु दमाईको रुपमा। समाजमा उनी दमाईं भनेरै परिचित भए। चरम विभेद भोग्न बाध्य भए, जीवनभरि।

दाङका ती दमाईंबाट उनले कपडा सिलाउन र बाज बजाउन पनि सिके। त्यसको केही वर्षपछि उनी त्यहाँबाट काठमाडौँ हुँदै सिंजा राज्य (जुम्ला) पुगे। त्यहाँ पुगेर उनले आफू विष्ट थरको भएको र त्यही जातमा रहन चाहेको बताए तर सिंजाका राजाले त्यो मान्न तयार भएनन्।

बरु सिंजा राज्यले उनलाई ढोल र टेम्को भिराएर अछाम फर्कायो। अछाम फर्किएर उनको परिवारले कपडा सिलाएर जीविकोपार्जन गरेको देवसिंह नेपालीले बिएल नेपाली सेवालाई सुनाए।

बाजे अछाम फर्किएपछि देवसिंहका बुवाको जन्म भयो। देवसिंह पनि वि.सं. ००६ साल असार ६ गते अछाममै जन्मिए। उनका बाजेले पाएको सजाय देवसिंह हुँदै उनका सन्तानले समेत भोगिरहेका छन्। त्यसैले यसरी विकसित भएको नेपाली सामाजिक संरचनाप्रति उनको गुनासो र आक्रोश छ।

नेपाली समाजमा विद्यमान जातीय विभेदको अन्त्यका लागि उनी ७२ वर्षदेखि संघर्ष गरिरहेका छन्। त्यसो त देवसिंह आफू बिष्ट भएको प्रमाण जुटाउने प्रयत्न नगरेका होइनन्।

‘म बिष्ट हुँ तर अहिले मलाई अछुत बनाइएको छ। ०६७ पुस २७ गते गृह मन्त्रालयबाट आफ्नो जात सुधार्न सक्नुहुन्छ भनी अधिकार आएको हो तर हाम्रो थर नागरिकतामा राखिदिनुहोस् भन्दा यहाँका ठूला बडा भनौँदाले आफ्नो जात राख्न दिएनन,’ उनले भने। 

अहिले आफू ‘उपल्लो जात’ हुँदैमा नेपालको विकास नहुने र समाजमा एकता कायम गर्नको लागि नेपालबाट जातिभेदको अन्त्य हुनुपर्ने पक्षमा उनी छन्।

‘नेपाल विकास हुनका लागि पहिला यहाँबाट जातीय विभेदको पूर्ण रुपमा अन्त्य हुनुपर्छ, नेपाली–नेपालीबीच विभाजनको भावना आउनुहुँदैन’, उनले भने, ‘कोही माथिल्लो जातको हुँ भनेर घमण्ड गर्नुभन्दा पनि सबै समान बन्नुपर्छ।’

जातीय विभेद अन्त्यका लागि लामो समयदेखि विभिन्न राजनीतिक दलमा आवद्ध भएर संघर्ष गरिरहेका छन्। ‘राजालाई फालेर प्रजातन्त्र ल्याउनुपर्‍यो भन्यो नेपाली काँग्रेसले। हामी ०४७ सालको आन्दोलनमा लाग्यौँ तर नेपाली काँग्रेसले राम्रो गरेन’, उनले भने, ‘फेरि हामी एमालेमा लाग्यौँ, एमालेले पनि काँग्रेसभन्दा फरक लागेन। अब एमाले पनि हुँदैन भनेर माओवादीमा लाग्यौँ।’

उनी माओवादीबाट पनि सन्तुष्ट भएनन्। ‘माओवादीले पनि अलि–अलि बाटो त देखायो तर अध्यक्ष प्रचण्डले जस्तो प्रशिक्षण दिएका थिए, त्यो हुन सकेन’, देवसिंहले, ‘त्यसपछि ‘विप्लव’सँगै माओवादी छोडेँ।’ उनी अहिले विप्लव नेतृत्वको नेकपानिकट दलित मुक्तिमोर्चा नेपालको सदस्य हुन्। 

देवसिंह १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा सहभागी भए। सशस्त्र द्वन्द्वबाट समाजमा परिवर्तन आउला, देश समृद्ध होला भन्ने लागेर पाँचभाइ छोरासहित जनआन्दोलनमा होमिएका थिए। पाँचै छोराले कैलालीमा वाईसिएलको नेतृत्व समेत गरेको उनले बताए। 

परिवारै लिएर माओवादी युद्धमा लागेका देवसिंह माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराउँदा आफूहरुले अधिकार पाउन नसकेको गुनासो गरे। ‘प्रचण्डजीको नेतृत्वमा युद्धमा जाँदा घाम पनि पश्चिमबाट उदाउँछ भनिएको थियो। उहाँले तीन वर्षमा नेपाल समद्ध बनाउँछौँ भन्नु्भएको थियो’, उनले भने, ‘भारतलाई विस्तारवाद मुर्दावाद, अमेरिकालाई साम्राज्यवाद मुर्दावाद भन्न लगाउने प्रचण्डले तालमेल बिगार्नुभयो। अहिले तिनैको भजन गाउन उहाँ लाग्नुभयो र हामीलाई बिर्सिनुभो।’  

‘समृद्ध नेपाल’ को सुनौलो सपना सुझाएर ‘माओवादी जनयुद्ध’ लडेका उनीका छोराहरू अहिले भारतमा मजदुरी गर्छन्। उनका जेठा छोरा दीपक अहिले काठमाडौँमा छन् भने अन्य चारभाइ भारतमा छन्।

देवसिंह अझै थाकेका छैनन्। उनमा जोश र जाँगर उत्तिकै छ। उनमा अझै पनि आशा बाँकी छ– विप्लवप्रति। बुढेशकालमा पनि सम्मेलनमा सहभागी उनले नेतृत्वलाई खबरदारीसमेत गर्न भ्याए। 

‘०५२ सालमा विप्लव युवा थिए उनी अहिले ५० काटिसके भने अब उहाँको सिद्धान्त बुझ्न र विप्लवसँग हात मिलाउन र केही माग राख्न म यहाँ आएको हुँ’, उनले भने, ‘मैले विप्लवसँग केही माग राखेँ र उनलाई आर्शीवाद पनि दिएँ। विप्लवसँग हात मिलाउन पाउँदा साह्रै खुशी लाग्यो।’

आफू क्रान्तिमा लागेको र सरकारले आफ्ना माग सम्बोधन नगरे आफू बन्दुक उठाउन पनि तयार रहेको बताउने उनले भने, ‘अरे सर, अहिलेका युवा अधिकारको लागि लड्नुपर्छ, दम लागेको ७२ वर्षको बड्डा पनि लड्न तयार छ।’

नेपालमा जातीय विभेद व्यवहारमै अन्त्य भएर सबै नेपाली समान भएको देख्ने चाहना देवसिंहको छ। 

प्रकाशित मिति: : 2021-12-13 20:17:00

प्रतिकृया दिनुहोस्